sangrila Bank

युद्ध संवाद–म लड्न भनेर सेनामा भर्ती भएको होइन,मलाई लड्नु नै थिएन !

साहित्यकार एलबी क्षेत्रीसँग नयाँ पत्रिकाले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

तपाईं पूर्वभारतीय सैनिक, कसरी साहित्यमा लाग्नुभयो ?
पहिला त म कसरी पूर्वभारतीय सैनिक भएँ भन्ने प्रश्न नै महत्वपूर्ण हो जस्तो लाग्छ । म साहित्यको विद्यार्थी, त्रिभुवन विश्वविद्यालयअन्तर्गत वीरेन्द्र बहुमुखी क्याम्पसको प्रमुख पनि भएँ । यी सबैको लामो कथा छ । हामी भारतमा नै जन्मिएर हुर्किएका हौँ । लामो भारत बसाइपछि स्थायी वास नेपाल नै बनाउन मेरा बुवाआमा ०२२ सालमा चितवन आउनुभयो । म एसएलसी पास गरेपछि आइएस्सी पढ्न थालेँ । तर, निरन्तरता दिन सकिनँ । ०२३ सालमा चितवन फर्किएँ । पटिहानीको प्राथमिक विद्यालयमा पढाउन थालेँ । एक–डेढ वर्ष पढाएपछि आफैँसँग असन्तुष्ट भएँ । नयाँ भविष्यको खोजीमा फेरि भारततिर लागेँ । त्यहाँ उच्च शिक्षा हासिल गर्ने उद्देश्य थियो । तर, पैसा थिएन । एक दिन गोरखपुरको पुनाघाट गएको वेला संयोगले भारतीय सेनामा भर्ती भएँ ।

 

सैनिक भएपछि कसरी पढाइ अघि बढ्यो ?
सैनिक जीवन सुरु गरेको केही समयपछि प्राइभेट स्टुडेन्ट भएर भर्ना भएँ । त्यहाँबाट स्नातक उत्तीर्ण भएँ । स्नातक गर्दासम्म झन्डै १६ वर्ष सैनिक भएर काम गरिसकेको थिएँ । अरू एक–डेढ वर्ष काम गर्दा पेन्सन हुनेवाला थियो । छाड्न मन भएन । पेन्सन पकाएपछि पनि थप काम गर्न पाइन्छ । तर, मैले राजीनामा दिएँ । त्यहाँबाट सीधै पटना विश्वविद्यालय गएर एमए भर्ना भएँ । अंग्रेजी साहित्यमा एमए गरेपछि चितवन फर्किएँ । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्न थालेँ ।

एमए गरेर चितवन आएपछि मात्र साहित्यमा लाग्नुभएको हो ?
नेपाली साहित्यमा चाहिँ चितवन फर्किएपछि मात्र रुचि बढेको हो । नत्र त म अंग्रेजी र हिन्दी साहित्यको विद्यार्थी हुँ । साहित्यप्रति बाल्यकालदेखि नै रुचि थियो । ३–४ कक्षामा पढ्दै साहित्यमा रमाउन थालेको थिएँ । श्यामनारायण पाण्डेका कविता पढ्थ्यौँ । सुभद्राकुमारी चौहानलगायतका कथा–कविताहरू पढ्थ्यौँ । साहित्यप्रति लगाव भए पनि यही साहित्य हो भन्ने थाहा थिएन । जब आइएको विद्यार्थी भएँ, तब साहित्य चिन्न र बुझ्न थालेँ । अनि चितवन आएपछि नेपाली साहित्यमा लागेँ ।

तपाईं कथाकार भनेर चिनिनुहुन्छ । लेखनको सुरुवात केबाट भयो ?
कविताबाट भयो । मेरो ‘भीडमा हराएको मान्छे’ कविता संग्रह पनि प्रकाशित छ । कविता कोरिरहन्छु । तर, म कविचाहिँ होइन । कहिल्यै कवि बन्न पनि सकिनँ । कविता कोर्ने मान्छेचाहिँ भएँ । ती मैले कोरेका कवितालाई कसै–कसैले राम्रो भयो भनिदिन्छन् । त्यतिवेला खुसी हुन्छु ।

भारतीय सैनिक सेवामा १७ वर्ष बिताउनुभयो । सैनिक कठोर हुन्छन् भन्छन् । साहित्यकारचाहिँ नरम । साहित्य लेख्दा कहिलेकाहीँ सैनिक भावना आउँदैन ?
आउँदैन । यसको कारण म लाहुरे बन्नैका लागि भारत गएको होइन । जो मान्छे यहीँबाट लाहुरे बन्न गएको हुन्छ उसमा बन्दुके भावना हुन्छ । म त यहाँबाट पढ्न गएको थिएँ । कहीँ ठाउँ नपाएपछि त्यहाँ पसेको थिएँ । मेरो उद्देश्य बन्दुक बोक्ने होइन कि पढ्ने थियो । संयोगले सेनामा पनि बन्दुक बोक्नेभन्दा बढी म क्लर्क थिएँ । अर्थात्, खरदार, प्रशासनमा काम गर्ने सैनिक । त्यसो त म युद्धमा पनि गएँ । बंगलादेशमा युद्ध थियो । युद्धको समयभरि मैले चप्पल लगाएँ । त्यहाँ मान्छे मरेको सुनेपछि म त रुन थाल्थेँ । कसरी युद्ध लडेँ होला ? हामी त्यहाँ १७ दिनजति बस्यौँ । त्यहाँ हामी फ्रन्टबाट लड्ने सैनिक थिएनौँ । रेयर (पछाडिबाट लड्ने)मा बस्थ्यौँ । त्यतिवेला भगवान्सँग एउटै कामना गर्थेँ कि मलाई गोली नलागोस् । किनकि, मलाई लड्नु नै थिएन । म लड्न भनेर सेनामा भर्ती भएको होइन । जागिर खान र त्यही पैसाले पढ्न गएको थिएँ ।

त्यो लडाइँ केको थियो ?
त्यो लडाइँ वास्तवमा भारत र पाकिस्तानको थियो । बंगलादेश पाकिस्तानबाट स्वतन्त्र हुन चाहन्थ्यो । इन्दिरा गान्धीले बंगलादेशलाई स्वतन्त्र हुन सघाउन सैनिक पठाएकी हुन् । अहिले सम्झन्छु, धन्न उनले बंगलादेशलाई आफूसँगै मिसाइनछिन् । त्यसको केही वर्षपछि त हो, सिक्किमलाई भारतमा मिलाएको ।

कथा या कविता लेख्दा तपाईंले खेलाएको बन्दुक बिम्ब बनेर आउँदैन ?
‘युद्ध अनुभव’ भनेर मैले भाग लिएको १६–१७ दिनको युद्धको अनुभव लेखेको छु । तर, युद्धलाई विषय बनाएर कविता या कथाचाहिँ लेखेको छैन । बिम्बात्मक रूपमा कतै प्रयोग भने गरेको छु । जस्तोः मच्छडलाई मारेको बिम्ब छ । तर, मान्छे मारेको कुरा छैन । दुईवटा कथा संग्रह कुनैमा पनि युद्धको त्यस्तो भयानक कुरा छैन । यसको अर्थ म त्यतिका वर्ष आर्मीमा बसे पनि आर्मी मभित्र प्रवेश हुन सकेन । म आर्मीमा बसेँ, तर आर्मी मभित्र बसेन ।

वीरेन्द्र बहुमुखी क्याम्पसको प्रमुख हुँदा तपाईंलाई साहित्यकारभन्दा पनि सैनिकजस्तो हुनुहुन्छ भन्ने आरोप लाग्थ्यो । सैनिक स्टाइलमा आदेश मात्र दिनुहुन्थ्यो रे । त्यस्तो हो ?
नेपालको प्रशासनिक क्षमता अत्यन्त कमजोर छ । यहाँ कोही अलि चर्को बोल्यो भने आर्मीजस्तो बोलेको भन्छन् । कमजोर मानसिकता हो यो । त्यसो हो भने केपी ओलीलाई पनि कर्णेल साहेब, ब्रिगेडियर साहेब भने भयो नि । गिरिजाप्रसाद कोइरालालाई हवल्दार नै भन्थे । हामी कमजोर मनस्थितिका भएकाले यस्तो कुरा आएको हो । म अनुशासन चाहने मान्छे, प्रशासनमा कडाइ गर्थेँ । मलाई कर्मचारी ठीक समयमा आउनुपथ्र्यो । तपाईंलाई सोध्छु म, ‘कर्मचारी ठीक समयमा आइपुग्नुपर्ने’ भनेको के आर्मी मात्र आउने भनेको हो र ? अनुशासनमा बस्नुपर्छ भन्ने कुरा आर्मीको गुण होइन, यो त मेरो जिनबाट आएको हो । हुन सक्छ, अनुशासनका कुरा आर्मीबाट पनि सिकेँ होला ।

तपाईं खुब रमाइलो गर्नुपर्ने मान्छे हुनुहुन्छ रे, घरमा प्रत्येक हप्ता साहित्यानुरागी बोलाएर रमाइलो गर्नुहुन्छ रे । साहित्यकार त भावुक पो हुन्छन् होइन ?
जुन साहित्यकार भावुक हुँदैन उसले रमाइलो गर्नै सक्दैन । रमाइलो गर्नकै लागि पनि भावुक हुनुपर्छ । अर्को कुरा, स्थिर भएर साहित्यको विकास हुँदैन । गतिशील हुनुपर्छ । मैले घरैमा बोलाएर जति पनि कार्यक्रम गर्छु, त्यो साहित्यको विकासका लागि हो । त्यही निहुँमा विभिन्न ठाउँका साहित्यकार जम्मा हुन्छन् र रचना, विचार आदानप्रदान हुन्छ । कुटाकुट पनि गर्छौँ, तर मुखले । हाम्रोमा आएर कवि श्यामलले बोल्नुभएको छ । कवि नवराज लम्साल, प्राज्ञ अमर गिरीजस्ता व्यक्तित्व आउनुभएको छ । बैरागी काइँलाले त हामीलाई कक्षा नै लिनुभएको छ । सरुभक्तको टिम पोखराबाट आएर छलफल चलाउनुहुन्छ । यो साहित्यको विकासका लागि हो ।

साथीभाइसँगको बसिबियाँलोमा के–के खानुहुन्छ ? कस्ता परिकार हुन्छन् ?
म ६८ वर्षको भएँ । म ३५ वर्षको हुँदासम्म रक्सी खाइनँ । एमएको पढाइ सकिएपछि नेपाल फर्किएँ । सहायक प्राध्यापक भएँ । अनि साथीभाइको संगतमा रक्सी खान थालेँ । मासुका परिकार खान थालेँ । खुब खाइयो । ०४० देखि ०५४ सालतिरसम्म खुब खाएँ । त्यसपछि खान छाडेको चटक्कै छाडेँ । कोही साथीले साह्रै कर गरे खाएजस्तो मात्र गर्छु । जस्तो कि एक गिलास बियर खान्छु, यत्ति । अन्य परिकारमा मलाई खसीको मासु मन पर्छ । त्यसमा पनि भुँडीको झोलसँग भात गज्जब लाग्छ । अब अहिले त सुगरको डर भयो भात कम गरियो, युरिक एसिड भयो मासु कम गरियो । कहिलेकाहीँ माछा खान्छु । तर, मलाई भोजन प्रिय छ । जस्तोसुकै खाना पनि खान सक्छु ।

बसिबियाँलोमा आउने को–को हुन् ?
धेरै आउनुहुन्छ । चितवनबाहिरबाट आउने धेरै हुनुहुन्छ । श्रीओम रोदन, श्यामलजी, विप्लव ढकाल, श्रवण मुकारुङलगायतको फोन आइरहन्छ । भीष्म उप्रेती, महेश पौडेल पनि आउँछन् । अस्ति काव्यको कार्यक्रममा शारदा शर्मा, प्राज्ञ डा. अमर गिरीजस्ता दिग्गजहरू आउनुभयो । कुलपति गंगाप्रसाद उप्रेती त प्रमुख अतिथि हुनुभयो । अहिलेसम्म कोही आइपुग्नुभएको छैन भने म उहाँहरूलाई स्वागत गर्न आतुर छु ।

यस्तो जमघटमा कति खर्च हुन्छ ?
कार्यक्रममा खर्च भए पनि खर्च भएजस्तै लाग्दैन । साहित्यमा गरेको योगदान हो यो ।

आम्दानीको स्रोत के हो त ?
स्रोतै त किन सोध्नुहुन्छ ? त्यही पनि म भनिदिऊँ, अघि भारतीय सैनिक भन्नुभयो, त्यहाँबाट पेन्सन आउँछ । त्रिभुवन विश्वविद्यालयबाट पेन्सन आउँछ । आजभोलि त जग्गाको भाउ बढेको छ । एक कट्ठा बेचिदिने हो भने पैसैपैसा हुन्छ । दुई भाइ छोरा विदेशमा छन् । तर, पैसा छ वा छैन भन्दा पनि मन ठूलो कुरा हो । मन भए खर्च जुट्छ । म अतिथि देवो भवः भन्ने मान्छे हुँ । छोराहरूले १० लाख रुपैयाँको कोष बनाइदिएका छन् । त्यसबाट आउने खर्च साहित्यमा नै खर्च गर्छौँ ।

तपाईंको घर भएको ठाउँलाई कविडाँडा भन्छन् । कसले राखिदियो यस्तो नाम ?
कैलाशनगरवरिपरिका रामबाफ, नारायणपुर, कैलाशनगरलाई कविडाँडा भनेका हौँ । यसको मुख्य कार्यालय ह्वाइट कर्नर एलबी क्षेत्रीको घर । कविडाँडा नाम राख्नमा कवि खुमनारायण पौडेल, सुरेन्द्र अस्तफल, युवराज भुसाल, उदय अधिकारीको हात छ । उहाँहरूले पहिलेदेखि नै यो ठाउँमा केही न केही साहित्यिक कार्यक्रम चलाइराख्ने । उहाँहरूले कार्यक्रम गर्ने ठाउँलाई कविकुनो, कविकटेरोलगायत भनिन्थ्यो । कविसँग जोडिएका यस्ता धेरै ठाउँ भएपछि समग्रलाई कविडाँडा भन्न थालियो । १५ वर्षअघि कविडाँडा साहित्य समाज स्थापना गरेर साथीहरूकै आग्रहमा म अध्यक्ष भएँ ।

घरलाई पनि कुनै नाम दिनुभएको छ ?

छैन । त्यो कविडाँडाको कार्यालय हो ।

पत्रिका पनि निकाल्नुहुन्छ । कतिको गाह्रो छ ?
चरैवती भन्ने पत्रिका प्रकाशन गर्छौँँ । पहिला त्रैमासिक निकाल्ने भनियो । तर, सकिएन । ६ महिनामा पनि सकिएन । अहिले वर्षको एउटा निकाल्छौँ । भर्खरै काव्य विमर्श गरेर प्रज्ञा प्रतिष्ठानसँग मिलेर अंक १० निकालेका छौँ । साँच्चै भन्दा पत्रिका बिक्री हुँदैन, बाँड्ने हो, खर्च जति लाग्छ आफैँ व्यहोर्ने हो । यसपटकको अंक प्रकाशन गर्दा मेरो ५० हजार खर्च भयो । सत्य कुरा । तर, म खुसी छु ।

तपाईंलाई मन पर्ने लेखक को हो ?
विधाअनुसार हुन्छ । अंग्रेजी साहित्य पढ्दा धेरै प्रभावित भएको शेक्सपियरबाटै हो । उनका नाटक मन पर्छ । कवितामा डब्लुबि इट्स, टिएस इलियट मलाई अति मन पर्छन् । समालोचकमा टिएस इलियट । कविमा जोहन डन, पिबी सेली पनि धेरै राम्रा । हिन्दी साहित्यमा जयशंकरप्रसाद, निराला, पन्त, सुभद्राकुमारी चौहान, प्रेम चन्दलगायतसँग धेरै प्रभावित थिएँ । नेपालीमा लक्ष्मीप्रसाद देवकोटा, बिपी कोइराला, दौलतविक्रम विष्ट, ध्रुवचन्द्र गौतमलगायत लेखक महान् छन् । बिपीबाबुकै कथा पढेर मैले कथा लेखेको हुँ । नयाँ लेखकमा कविताको क्षेत्रमा श्यामल, अमर गिरी, मनु मञ्जिल, सरुभक्त, तीर्थ श्रेष्ठ राम्रा कविमा पर्छन् । सरिता तिवारी, भूपिन, सरस्वती प्रतीक्षा पनि सुन्दर लेखिरहेका छन् । आख्यानमा नयनराज पाण्डे, अमर न्यौपाने, उमा सुवेदी सम्माननीय छन् । अरू पनि धेरै हुनुहुन्छ । विप्लव ढकाल, श्रवण मुकारुङ, आहुतिलगायत कविबाट पनि प्रभावित छु । पछिल्लो पुस्ताका संगीत श्रोता निकै राम्रो लेखिरहेका छन् ।

कृतिको चर्चाको हिसाबले तपाईं कति सफल साहित्यकार ?
तपाईंलाई प्रस्ट भन्छु, म साहित्यकार होइन । साहित्यको विद्यार्थी हुँ, साहित्य अध्ययन गर्छु । साहित्यकार बन्नका लागि ठूलो साहित्यिक योग गर्नुपर्छ । योगदान गर्नुपर्छ । साधना चाहिन्छ । साहित्यको इतिहास लेखेको हुनुपर्छ । त्यसै जसले पनि साहित्यकारको बिल्ला भिर्न कहाँ पाइन्छ ? कथा त म लेख्छु । सबै कथालाई लघुकथा भन्छु म, लामो–छोटो जान्दिनँ । कविता लेख्छु । तर, साहित्यकार हुन अझै योग्य छु जस्तो लाग्दैन ।

तर, तपाईंलाई त साहित्यकार नै भनेर चिन्छन् नि ?
सबै कखरा पढाउने पनि मास्टर, विश्वविद्यालय पढाउने पनि मास्टर भनेजस्तै हो । कसैले साहित्यकार भन्छ भने धन्यवाद, म पनि साहित्यकार भएँ । मेरो आफ्नो मूल्यांकन भने फरक रहन्छ । भोलि सिद्धान्त लेखेँ, आठ–दशवटा कथा, कविता, निबन्धका कृति निकाल्न सकेँ भने साहित्यकार मानुँला ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘बस स्टप’ नाटक प्रदर्शन

Monday, 10 September 2018

भद्रपुर, २५ भदौ (रासस) : परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ । काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत ...

प्रज्ञा–प्रतिष्ठानद्वारा कति कृति प्रकाशन भए ?

Tuesday, 4 September 2018

काठमाडौँ, १९ भदौ (रासस) : नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको ...

गायक तथा नाट्यकर्मी रिमालको निधन

Friday, 31 August 2018

काठमाडौं, भदौ १५ । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । विसं १९८२ साल असोज ...

पहलमान सिंह स्वाँर साहित्य पुरस्कारबाट स्रष्टाहरु पुरस्कृत

Saturday, 28 July 2018

काठमाडौँ । पहलमान सिंह स्वाँरको १३८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कार’ मनु ब्राजाकीलाई मरणोप्रान्त प्रदान ...

पोखरामा एकताको सन्देश दिँदै ‘अटलबहादुरको आतंक’

Thursday, 26 July 2018

–वासुदेव पौडेल  पोखरा– एउटा मिलेर बसेको समाज जहाँ सामाजिक रीतिस्थितिअनुसार मुखिया प्रथा विद्यमान छ । गाउँका मुखियाले समाजको रीतिस्थिति एवं ...

“केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो”

Saturday, 21 July 2018

मीना घोरसाइने काठमाडौँ “केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो” प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा ...

शताब्दी पुरुष जोशीलाई सम्मान

Tuesday, 17 July 2018

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार–२०७४ बाट सम्मान गरेका छन् । सो ...

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रम

Saturday, 24 June 2017

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल ...

धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान

Sunday, 2 April 2017

बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top