छलफलमा नेकपा एस, के सरकारलाई समर्थन गर्ला ?

दियो पोस्ट  

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा सरकारमा सहभागी हुने, समर्थन गर्ने वा नगर्ने विषयमा छलफल भएको छ। बैठकमा पार्टी पुनर्गठनका सन्दर्भमा ५ वटा बुँदामा छलफल भएको तुलाधरले जानकारी दिए।

वर्तमान राजनीति, वर्तमान सत्ता गठबन्धनप्रतिको धारणा, सरकारमा जाने कि नजानेर ?, पार्टी एकीकरणबारे चलेको हल्लाबारे धारणा लगायतका विषयमा केन्द्रित भएर स्थायी कमिटी सदस्यहरु बोलिरहेका छन्।

अधिकांश स्थायी कमिटी सदस्यहरूले अहिले राष्ट्रिय संकटको स्थिति उत्पन्न भएको र जनसरोकारका मुद्दाहरु ओझेलमा परेको धारणा राखे।

वर्तमान सत्ता गठबन्धन नाटकीय शैलीबाट गठन भएको आरोप लगाउँदै तुलाधरले प्रचण्डले पटक–पटक भेटेर सरकारमा सामेल हुन आग्रह गरिरहेको बताए।

माओवादी केन्द्र र एमालेले नेतृत्व गरेको जस्तो देखिए पनि अहिलेको सरकार खिचडी सरकार बनेको नेकपा एसको ठम्याइ रहेको उनले बताए।

‘हिजोको गठबन्धनमा सामेल भएका, सँगसँगै हिँडिरहेका जुनसुकै कारणले भए पनि एउटा गठबन्धन तोडेर अर्को गठबन्धन बनाउन पुगेका प्रचण्डजी नै प्रधानमन्त्री भएका कारण हामीले समर्थन गर्नु उपयुक्त हुन्छ कि भन्ने विषयमा धेरै साथीहरुले बोल्नु भएको छ’, उनले भने, ‘सरकारलाई समर्थन गर्ने/नगर्नेबारे निर्णय भइसकेको छैन।’