त्रिशुली नदीमा फेरी मौलायो तस्करी : प्रहरी प्रशासनकै सेटिङमा दिनदहाडै नदिमा तस्करको रजाइँ !

दियो पोस्ट  

काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ६ परेवाटारस्थित त्रिशुली नदिमा फेरी बालुवा तस्करहरु गैरकानुनी रुपमा अवैध उत्खनन् शुरु गरेका छन् । केहीदिन अघि प्रहरी आफै उपस्थित भएर त्रिशुली नदिको बालुवा उत्खनन् गर्न प्रतिबन्ध लगाएपनि आज मंगलबार दिउँसोदेखि पुन शुरु भएको हो ।

स्रोतका अनुसार प्रहरीका माथिल्लो तहका हाकिमको मिलेमतोमा बालुवा तस्करी मौलाएको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल समेतलाई हातमा लिएर तस्करहरुले खुलमखुल्ला मापदण्डलाई समेत मिचेर त्रिशुली नदिमा उत्खनन् गरिरहेका छन् ।

खासगरी धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलिया र नेपाली कांग्रेसका नेता प्रभातकिरण सुवेदी ‘शिव’ले सेटिङमै बालुवा उत्खनन् गरिरहेका छन् । गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले बालुवा उत्खनन् रोक्न सिडिओ कार्यालय लगायत प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दिएपछि केहीदिनका लागि सिडिओ कार्यालयले उत्खनन् गर्न प्रतिबन्ध लगाएको थियो ।

तर, प्रमुख जिल्ला अधिकारीलाई नै सेटिङ मिलाएर तस्करहरुले फेरी बालुवा तस्करी सुचारु गरेपछि दियोपोस्ट डटकममा केहीदिन अघि दोस्रो समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशनपछि प्रहरीले फेरी बालुवा तस्करी रोकेको थियो । तर, हिजो सोमबार एक दिन बन्द भएपनि आज फेरी तस्करी भइरहेको स्थानियबासीले बताए ।

यस विषयमा प्रतिक्रिया लिन बालुवा तस्करीमा समलग्न धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाको मोबाइलमा सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।