काठमाडौं । साँझ विहान मात्रै होइन हर समय भिडभाड हुने स्थान हो काठमाडौंको ईन्द्रचोक । गत मंसिर १८ गते विहान ११ बजे ईन्द्रचोकमा एउटा अनौठो घटना घट्यो । एक्कासी मानिसको भिडभाड लाग्यो । पसल कुरिरहेका रज्जा उद्दिन एकाएक त्यो बाक्लो भिड छिचोल्न पुगे । त्यहाँ उनले एक चिनियाँ नागरीककले अर्को २ जना चिनियाँ नागरीकलाई चक्कु प्रहार गरेको देखे ।
उद्दिनले आफुँनजिकै रहेका एक जनालाई प्रहरीसमक्ष खबर गर्न भने । खबर गरेको केही समयमा नै प्रहरी आईपुग्यो र स्थानीयको सहयोगमा प्रहरीले चक्कु प्रहारबाट छटपटाईरहेका दुई चिनियाँ नागरिकलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लिएर गयो । अस्पतालमा उपचारका लागि पुर्याइएका दुई चिनियाँ नागरिक मध्य एक जनाको मृत्यु भयो । मृतकको नाम थियो – गान साउजिओङ । र अर्का व्यक्ति लि च्वाँन भने बाँच्न सफल भए । चक्कु प्रहार गर्ने जेङयुङ फिङलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गर्यो । पक्राउ परेका उनी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले केहीदिन अघि मात्रै जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र बुझाएको छ ।
मृतक साउजिओङ चिनको हुनान राज्यका हुन् । उनी ‘फ्याटि फुडी’ नामले ‘फुड ब्लगर’का रुपमा परिचित थिए । उनी नेपालसँगै अन्य विभिन्न मुलुकहरुमा समेत पुगेर ‘स्ट्रट फुड’को बारेमा जानकारी गराउने र त्यसकैलागि उनी टिकटकमा नियमित रुपमा लाईभ आउने गर्थे । उनी ‘फुड ब्लग’ बनाउने सिलसिलामा फरक फरक मुलुक चहार्ने गर्थे । उनी गत मंसिर १७ गते मात्रै नेपाल आएका थिए । पछिल्लो पटक उनी दक्षिण अफ्रिकाको जाम्बियामा बस्दै आएका थिए ।
पैसाको बदला मृत्यु
उनले जाम्बिया बस्दा अनलाईन मार्फत ग्याजेट व्यापारको काम समेत गर्थे । अनलाईन लाइभसँगै व्यापार समेत गर्ने सिलसिलामा साउजिओङको भेट जेङयुङ फिनसँग भएको थियो । जेङयुङ साउजिओङको प्रसंशक पनि थिए । साउजिओङको लाइभबाट जेङयुङ प्रभावित थिए र उनीपनि केही सिक्न चाहन्थे । साउजिओङले जेङयुङलाई लाईभ बस्नेबारे सिकाएका समेत थिए । छोटो समयमा नै प्रभाव जमाउन सक्ने साउजिओङसँग जेङयुङले ‘आइफोन १२’ मोबाईल अर्डर गरे ।
अर्डरपछि साउजिओङले आफ्नो खातामा पैसा पठाउन उर्दी दिए । उर्दिपछि जेङयुङले उनको खातामा ९ हजार ९९ चिनियाँ युआन पठाए । तर, पैसा पठाएको लामो समयसम्म उनले मोबाइल भने पाएनन् । जेङयुङले उनलाई पटक पटक सम्पर्क गर्ने कोसिस गरे तर मोबाइल दिनुको साटो उल्टै गुण्डा लगाएर कुट्न लगाए । त्यसपछि समेत उनले पटक पटक मोबाइल मागे, मोबाइल दिन नसके पैसा फिर्ता दिन भने तर साउजिओङले न त पैसा र्फिता दिए न त मोबाइल नै । उल्टै जेङयोङमाथि गण्डा लगाएर कुट्न थाले । आफुमाथि निर्घात कुटपिट हुन थालेपछि जेङयोङले आफु बाच्नको लागि भएपनि साउजिओङलाई मार्नै पर्ने योजना बनाउन सुरु गरेको प्रहरी समक्ष दिएको बयानमा उल्लेख छ ।
साउजिओङलाई मार्ने योजनासहित जेङयुङ जाम्बियाबाट पाकिस्तानहुँदै सेप्टेम्बर २१ मा नेपाल आईपुगे । उनी नेपालमा बसेर उनले अनलाईन व्यवसाय सँगै घर बनाउने मजदुरी समेत गरे । लामो समयसम्म एक्लै बस्दा समेत साउजिओङलाई मार्ने ख्याल उनको दिमागबाट जान सकेन । उनले कात्तिक ३० मा अनलाइनमा देखे, साउजिओङ नेपाल आउँदै छन् । नेपाल आउने थाहा पाएपछि उनले साउजिओङलाई मार्ने योजना बुन्न थाले ।
सामाजिक सञ्जालमा नेपाल आउने सुचना दिएको एक महिना नपुग्दै मंसिर १७ मा साउजिओङ नेपाल आईपपुगे । साउजिओङ नेपाल अवतरण भएको थाहा पाएपछि इन्द्रचोकको एउटा पसलबाट उनलाई मार्नकै लागि चक्कु किनेर राखे र आफैँसँग बोकेर हिँडे, उनको योजना थियो, जहाँ भेट्यो त्यहीँ चक्कु प्रहार गर्ने । साउजिओङ नेपाल आएपनि कहाँ बस्छ भन्ने जेङयुङलाई थाहाँ थिएन । उनले साउजिओङको लाईभलाई पच्छ्याउँदै उनी बस्ने ठाउँ पत्ता लगाए । लाईभ फलो गर्दा गर्दै इन्द्रचोकमा जेङयुङले साउजिओङमाथि चक्कु प्रहार गरे ।
जेङयुङले साउजिओङमाथि अन्धाधुन्द तिन पटक चक्कु प्रहार गरे । र साउजिओङसँगै रहेका लि च्वाँनले प्रतिकार गर्न खोजेपछि उनलाई समेत जेङयुङले चक्कु प्रहार गरे । च्वाँन घाइते भए भने साउजिओङको उपचारको क्रममा मृत्यु भयो । पोस्टमार्टमको रिपोर्टमा साउजिओङको अन्द्रा छेडिएको, फोक्सो छेडिएको र टाउकोमा समेत चक्कु प्रहार भएको पाईएको छ ।
मृतक साउजिओङका दाई गान होनजिमीको जाहेरीको आधारमा नेपाल प्रहरीले जेङयोङ विरुद्ध अभियोग पत्र दर्ता गरेको हो । मृतकका दाई होनजिमीले कर्तव्य ज्यान मुद्धा लगाउन र कडा भन्दा कडा सजायको मागसँगै उपचार खर्च क्षेतिपुर्ती र दाहसंस्कार खर्च समेत माग गरेका छन् ।
कर्तवय ज्यान मुद्धामा के हुन्छ सजाय ?
मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ मा ज्यान मार्ने नियतले कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरि नियतपूर्वक गम्भिर शारिरिक चोट वा क्षति पुर्याएकोमा तत्काल ज्यान नमरी सोही चोट पिडाको परिणाम स्वरुप पछि ज्यान मरेमा पनि सोही ब्यक्तिले ज्यान मारेको मानिने उल्लेख छ । यदि त्यसो गरेको पाईमएमा उपदफ ९२० अनुसार जन्मकैदको सजाय हुने उल्लेख गरिएको छ । साथै दफा १८६ अनुसार दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हनेछ ।