काठमाडौं । राजधानीको ठमेलस्थित प्लान बी क्लबमा आएका एक सेवाग्राहीमाथि बाउन्सरले निर्घात कुटपीट गरेको खुलाशा भएको छ ।
सुरक्षाका लागि भनेर क्लव, डिस्को, दोहोरी, डान्स रेष्टुरेन्टमा बाउन्सर राखिने गरेको छ । तर, ती बाउन्सरले दादागिरी देखाउँदै एक सर्वसाधरणमाथि निर्घात कुटपीट गरेको खुलेको हो ।
अंग्रेजी नयाँ वर्षका दिन एकाविहानै (२ बजे) ठमेलको प्लान बी क्लवमा बाउन्सरको समुहले रमाइलो गर्न गएका युवकमाथि धमाधम कुटपीट गरेका हुन् ।
‘न्यू इयर इभ’ मनाउन गएका युवामाथि ठमेलको मण्डला स्ट्रीटस्थित ’प्लान बी’ क्लवका बाउन्सरले मरणाशन्न हुने गरी कुटपिट गरेपछि घाइते यतिबेला अस्पताल पुगेका छन् । सञ्चालकको समेत सक्रियतामा उक्त घटना गुपचुप पार्न खोजीएको छ । महानगरीय प्रहरी बृत्त लैनचौरका डिएसपी गणेश बहादुर बमले डान्सबार सञ्चालकबाट मासिक असुली गर्दै आएको र सोही कारण उनलाई पक्राउ समेत नगरी उन्मुक्ति दिएको स्रोतले बताएको छ ।
बाउन्सरको निर्मम हातपातबाट सदन थापा, तेन्जीड्ग निमा, अविर थापालगायतका युवा गम्भीर घाइते छन् । ग्याङ वार जस्तै लाग्ने गरी क्लवको सुरक्षार्थ तैनाथ बाउन्सरले आफूआफूबीच सामान्य भनाभन भइरहेको अवस्थामा रमाइलो गर्न पुगेका युवामाथि रोजीरोजी आक्रमण गरेका थिए । उक्त दृश्य रेकर्ड गरिएको भिडियोमा समेत देख्न सकिन्छ । आफूहरु विवाद बढ्दै गएर हात हालाहाल होला जस्तो अवस्था निम्तिएपछि भाग्न खोज्दै गर्दा क्लवका बाउन्सर समुहले समातेर अपहरणशैलीमा लगेर एक्लाएक्लै कुटपिट गरेको पिडीतले गुनासो गरेका छन् । बाउन्सरको आक्रमणमा परि घाइते पिडीतले क्लव उपर कारवाहीको माग गर्दै प्रहरीमा गएका छन् । यद्यपि, प्रहरीबाट भने सुनवाई भइनसकेको उनीहरुको गुनासो छ ।
रामसाड्ग शेर्पा, तेन्जीड्ग घोम्पो, अनमोल थापा लगायत सञ्चालक रहेको प्लान बी क्लवमा यस्ता घट्ना दिनहुँ घट्ने गरेको बताइन्छ । तर, प्रहरीले अभियुक्तलाई नै सहयोग गरिरहेको पीडितको गुनासो छ ।
यहीबीच, उक्त घट्ना र बाउन्सरको कर्तब्य बारे जिज्ञांसा राख्न क्लव सञ्चालक रामसाड्ग शेर्पाको मोवाइलमा सम्पर्क गर्दा उनले आफू सञ्चालक नरहेको दावी गर्दै पटक पटक आफ्नो फोन नम्बर कसले दिएको भन्दै प्रश्न गरिरहे अनी फोन लाइन नै काटिदिए ।
उता, प्रहरी वृत्त लैनचौरका एक प्रहरी अधिकारीले आफ्नो नाम प्रकाशन नगर्ने शर्तमा दिएको जानकारी रोचक लाग्दो छ । उनका अनुसार जुन जुन रात्री क्लव, डान्स, दोहोरी रेष्टुरेन्टले मासिक बुझाउने गर्छ, त्यतातर्फ प्रहरीको ध्यानै जान्न । उल्टो त्यहाँ पुग्ने ग्राहकलाई नै दोषी बनाएर चौकी ल्याइन्छ । मिलेसम्म उसैबाट उल्टो क्षतीपूर्ति भराइन्छ । त्यो सबै काम सिभिल प्रहरी (घुमुवा)बाट हुन्छ । डीएसपीसँग उनीहरु नै नजिक हुन्छन्, अनुचित लाभको बाटो उनीहरुले नै खोलीदिन्छन् ।