गृहमन्त्री ज्यू, फेक रेस्क्यु धन्दा गर्ने डाक्टर गिर्वाण तिमिल्सिनामाथि कहिले छानबीन हुन्छ ?

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको सपथ लिएको १३ दिन पुरा भएको छ । टेलिभिजन प्रस्तोताबाट प्राप्त जनमतलाई राजनीतिमा बदलेका लामिछाने गृहप्रशासनमा आएपछि केही सुधारको संकेत देखिएका छन् । परिवर्तनको शुरुवात उनले आफैबाट गरेका छन् । आफ्नो सुरक्षामा रहेको ईन्सपेक्टरको जम्बो टोलीलाई परिमार्जन गरेर सई नेतृत्वमा खटाएका छन् । आफ्नो अगुवा पछुवा गाडी हटाएर रवाफ देखाउने परम्परामाथि धावा बालेका छन् ।

देशभर दर्ता तथा नविकरण विना चलेका क्रसर उद्योगलाई बन्द गर्न सर्कुलर गरेका छन् । यही रफ्तारमा लामिछानेले मन्त्रालय र आफूलाई सक्रिय बनाएर सुरक्षा निकाय र प्रशासनले समेत उनको स्पिडलाई बुझ्न सके पक्कैपनि केही सुधार पक्कै हुनेछ ।

गृहमन्त्री लामिछानेले एउटा गलत धन्दामाथि नजर लगाए भने नेपालको पर्यटन क्षेत्रले दिर्घकालिन गति लिनसक्ने उनका शुभचिन्तक पर्यटन व्यावसायीहरु बताउँछन् ।
पछिल्लो समय नेपालमा पदयात्री पर्यटकलाई उद्दारको नाममा विदेशी विमा कम्पनिमाथि चरम ठगी हुने गरेको छ । हाल काठमाडौं जिल्लाको सिडिओ रहेका तत्कालिन पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा गठित उच्चस्तरिय समितिले कुन कुन कम्पनि तथा अस्पतालहरुले नेपालको पर्यटन क्षेत्र नै बद्नाम हुने गरि फेक रेस्क्युको धन्दा गरिरहेका छन् भनेर निक्र्यौल गरिएको थियो । तर, उक्त समितिको प्रतिवेदन फासफूस पार्ने काम भयो । त्यति मात्रै होइन अहिले नयाँ तरिकाबाट फेक रेस्क्युको धन्दा हुने गरेको छ । तर, प्रशासनले कुनै चासो दिएको छैन ।

लाजिम्पाटस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुनै समय भाडामा बसेको अजय सुमार्गीको भवनमा यतिबेला श्रीद्धि अन्तर्राष्ट्रिय अस्पताल संचालनमा छ ।

डाक्टर गिर्वाणराज तिमिल्सिना र गैरआवाशिय नेपाली संघका कोषाध्यक्ष लोकप्रसाद दाहालसहितको समुहले संचालन गरेको उक्त अस्पतालमा नक्कली कागजात बनाएर विमा दाबी गरिएको घटना यसअघि नै दियोपोस्ट डटककमले प्रकाशन गरेको थियो ।
कागजात सहित समाचार प्रकाशन हुँदा पनि प्रशासनले हालसम्म कुनै छानबिन गरेको छैन । प्रहरीका उच्चतहका हाकिमलाई समेत यस विषयमा जानकारी हुँदा समेत कारबाही गर्नुको सट्टा आर्थिक प्रभावमा परेर उन्मुक्ती दिएको स्रोत बताउँछ ।

‘पर्यटन क्षेत्रका विकृतिमा पनि गृहमन्त्रालयले ध्यान दिनेछ भन्ने अपेक्षा छ । अहिले नक्कली कागजात नै बनाएर विरामीको नाममा विदेशी विमा कम्पनिलाई ठगी गर्ने र नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा बद्नामी गर्ने काम भइरहेको छ,’ एक पर्यटन व्यावसायी भन्छन्,‘गृहमन्त्री ज्युले यसमा चासो लिनु भयो भने नेपालको पर्यटन बजारले फेरी फड्को मार्नेछ ।’

दियोपोस्टले प्राप्त गरेको कागजात अनुसार गिर्वाणले एक गैरआवाशीय नेपालीलाई अल्टिच्युड एयर नामक हेलिकोप्टर कम्पनि मार्फत उद्दार गरेको नक्कली विवरण र उनकै स्वामित्व रहेको ग्लोबल कनेक्ट हेलि सर्भिसको नाममा नक्कली बिल भौचर बनाएर विमा दाबी गरेको फेला परेको छ ।

तिमिल्सिनाले सन् २०२२ जुन २१ मा नर्वेका नागरिकता लिएका गैरआवाशीय नेपाली कुविर तामाङलाई हेलिकोप्टर रेस्क्यु गरेको नक्कली बिल तयार पारेका थिए । पासपोर्ट नम्बर ३३२४१९०० उल्लेख भएको ती नागरिकलाई काठमाडौं–सुर्खेत, ताल्चा– रारा हुँदै फेरी सुर्खेत हुँदै काठमाडौं ल्याएको उल्लेख छ ।

अल्टिच्युड एयरको नाममा जारी भएको प्यासेन्जर एण्ड कार्गो मेनिफेस्टमा यही लेखिएको छ । तर, अल्टिच्युड एयरले भने यो उद्दार भएको ÷नभएको विषयमा कुनै आधिकारीक जानकारी दिएको छैन । अल्टिच्युड एयरको उच्च स्रोतका अनुसार उद्दार नभई यसरी कार्गो मेनिफेस्ट जारी भएको पाइएपछि अहिले समस्या बल्झिएको छ । बिल कसरी जारी भयो भन्दै अल्टिच्युड एयरले अन्तर्राष्ट्रिय विमा कम्पनिलाई समेत सोधेको थियो । कम्पनिले नक्कली बिल रहेको पाइएपछि बिमा दाबी भुक्तानी दिन नसक्ने जवाफ दिएको छ ।

एसओएस ईन्टरनेश्नल मेडिकल ईन्स्योरेन्स कम्पनिमा गरिएको दाबी भुक्तानीमा हेलिकोप्टर शुल्क मात्रै कुल ९ हजार ५ सय अमेरिकी डलर दाबी गरिएको छ । गिर्वानकै लगानी रहेको श्रीद्धी अस्पतालले कतिको बिल भौचर दाबी गर्यो भन्ने विवरण उल्लेख नभएपनि यो बिल भौचर भने उनले नक्कली बनाएका हुन् ।

दियोपोस्टले अल्टिच्युड एयरलाई उक्त बिल कसरी जारी भयो भन्दै विभिन्न प्रश्न गरेर सुचनाको हक २०६४ प्रयोग गर्दै विवरण माग गरेपनि हालसम्म कुनै जवाफ दिन सकेको छैन ।

अल्टिच्युड एयरका मालिक निमानुरु शेर्पाले जसले कागजात बनायो उही जिम्मेवार हुने बताउँछन् । अमेरिकामा रहेका बेला उनलाई सम्पर्क गर्दा उनले नेपाल आएर यस विषयमा बोल्ने बताएका थिए । तर, उनी नेपाल आएर पनि सम्पर्कमा आउन चाहेका छैनन् ।