धादिङ । गृहमन्त्री रवी लामिछानेको सर्कुलरपछि देशभरका अवैध क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । उनले निर्देशन दिएको एक सातामै देशभर ६ सय ८८ क्रसर उद्योग बन्द भएका छन् । सयौँ बालुवा प्रशोन उद्योग पनि बन्द भएका छन् । तर, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका र निलकण्ठ नगरपालिकाको साँध भएर बहने आँखु खोलामा भने अवैध क्रसरको रजाइँ छ ।
जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको समेत मिलेमतोमा जिल्लाकै केही कांग्रेस नेताले गृहमन्त्रालयलाई नै ठाडो चुनौती दिँदै क्रसर संचालन भइरहेको हो । दियोपोस्टलाई प्राप्त भएको भिडियोमा त्रिपुरा सुन्दरी गाउँपालिका अन्तर्गत सल्यान्टार जोड्ने टारीवेशी पुल नजिकै आँखु खोलामा अवैध क्रसर संचालन भइरहेको छ ।
कांग्रेसका नेता, केही गुण्डा र जनप्रतिनिधिको समेत लगानीमा सञ्चालन रहेको उक्त क्रसरलाई जिल्ला स्थित प्रशासनले समेत खुलमखुल्ला छुट दिएको छ । धादिङवेशी टारीवेशी सडक खण्डको कालोपत्रेका लागि लामा कन्स्ट्रक्सनले उक्त खानी संचालनमा ल्याएको थियो । सडक कालोपत्रे सकिएपछि लामा कन्स्ट्रक्सनले स्थानिय राजु उप्रेती लगायत व्यापारी समुहलाई विक्री गरेको स्रोतले बतायो । राजु यतिबेला त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष छन् ।
नदिजन्य पदार्थ संकलन लागि निर्धारित दूरी सम्बन्धी मापदण्डमा नदि खोलाबाट तराईमा ५ सय मिटर र पहाडमा ३ सय मिटरको दूरीमा हुुनुपर्ने उल्लेख छ । तर, उनीहरुले टारीवेशी पुलकै मुखमा नदिजन्य पदार्थ थुपारेर राखेका छन् । भने पुलकै आडमा क्रसर संचालन गरिरहेका छन् । नदिबाट ३ सय मिटर होइन नदिकै किनारमा उनीहरुले क्रसर संचालन गरेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन गाउँपालिका अध्यक्ष राजु उप्रेतिलाई सम्पर्क गर्दा उक्त क्रसर दर्ता समेत नभएको बताए । यसअघि लामा कन्स्ट्रक्सनले कालोपत्रेका लागि चलाएको र सोही क्रसरलाई यसअघिको गाउँपालिका अध्यक्ष शम्भू थापाले संचालनका लागि अनुमति दिएको उप्रेतिले आरोप लगाए । उक्त क्रसरमा तपाईंको पनि लगानी हो भन्ने दियोपोस्टको जिज्ञासामा उनले हल्ला मात्रै भएको बताए ।