विद्यालयमै योग शिक्षा पढाउन आवश्यक : प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन्।

आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उनले मानिसलाई मानसिक रूपले पनि तन्दुरूस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन्। उनले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताए।
‘पूर्वीय सभ्यताको आधारशीला योग र ध्यान, आध्यात्मिक चिन्तनलाई मानिन्छ। अहिले पूरै संसार नै योग र ध्यानतिर आकर्षित र केन्द्रित छ। पूर्वीय सभ्यताको पनि नेपालका त्यसको धरोहर हो भन्न पाउँदा हामी सबै नेपालीलाई गर्वको महशुस हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘हाम्रो इतिहास, संस्कृति, परम्परामा योग र ध्यान सँगै नै अन्तर्निहीत रहेका छन्। हाम्रो सांस्कृतिक धरोहरहरू हेर्‍यो भने मठ, मन्दिर, गुम्बा सबैमा पनि योग आधारित भएर बनेका थिए। त्यसकारण नेपालमा योग, ध्यान र आध्यात्मिक चिन्तनको परम्परा धेरै पुरानो परम्परा हो। हाम्रो संस्कृति, सम्पदा र पहिचानको आधार हो। संयुक्त राष्ट्रसंघले योग दिवस मनाउने भनेपछि संसारभर नै जिज्ञासा र अभिरुची बढेको छ।’

मानिसहरूको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताए। अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको उनको भनाइ छ।