महेन्द्र थापाको गोरखधन्दा : ३ रोपनी जग्गा किनेर ३६ रोपनी वन र बगर कब्जा गरेर सुकुटे विच

- निरोज चौलागाइँ  

 

सुनकोशी नदि किनारमा अवैध संरचना बनाई बन क्षेत्र हडपेर रिसोर्ट चलाइरहेका महेन्द्र सिंह थापाको नाममा ३ रोपनी ६ आना मात्रै जग्गा रहेको पाइएको छ । उनले वन क्षेत्र र नदि किनारमा ३६ रोपनी सरकारी जग्गा कब्जा गरेर सुकुटे बिच नामक रिसोर्ट चलाइरहेको विषयमा दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेको थियो । प्रकाशित समाचारलाई प्राप्त कागजातले समेत पुष्टि गरेको छ ।

सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ९ कदमबासमा संचालित सुकुटे विच रिसोर्टले ३६ रोपनी सरकारी जग्गा अतिक्रमण गर्दा समेत सरकारी निकाय र स्थानिय सरकार मौन छन् ।

विगत २५ वर्षदेखि संचालनमा रहेको सुकुटे ‘विच’ रिसोर्टको नाममा जम्मा ३ रोपनी ६ आना मात्रै रहेको लालपुर्जा दियोपोस्टले फेला पारेको छ ।
प्राप्त लालपुर्जा अनुसार सोलुखुम्बु घर भएका थापाले २०७५ भदौ २७ गते मात्रै उक्त जग्गा आफ्नो नाममा ल्याएको देखिन्छ । चार वर्ष अघि जग्गा पास भएपनि रिसोर्ट भने २५ वर्षदेखि संचालनमा छ ।
तर, रिसोर्ट भने ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ । उसले अहिले पनि जग्गा भोगचलन गरेवापत भाडा दिएको छैन । रिसोर्ट संचालित भएको क्षेत्र वन क्षेत्र भित्र पर्छ । वन क्षेत्र भित्र बनेको अवैध संरचना हटाउने काम जिल्ला स्थित डिभिजन बन प्रमुखको हो । तर, जिल्ला स्थित डिभिजन वन प्रमुख भने बेखबर जस्तै बनेर रिसोर्ट संचालकहरुलाई रजाइँ गर्न दिइरहेका छन् तर दुबै निकाय मुकदर्शक बनेका छन ।
जिल्ला वन कार्यालय सिन्धुपाल्चोकका प्रमुख डिएफओ पदमराज नेपालले अनुसन्धान गरिरहेको टालटुले जवाफ दिए । अनुसन्धानमा के—के भेटियो भन्ने दियोपोस्टको प्रश्नमा उनले चित्त बुझ्दो जवाफ दिन सकेनन् । यद्धपी मन्त्रिपरिषदको निर्णय बिना वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाइने उनले बताए । उनले विगत लामो समयदेखि उक्त जग्गा अतिक्रमण भएकाले अहिले नै आफूले केही भन्न नसकिने बताए । ‘कहाँ कहाँ कर तिरेको छ के के कागजात छ भन्ने विषयमा म अनुसन्धान गर्दैछु । कागजात खोज्ने काम भइरहेको छ,’ उनले भने,‘अहिले मैले सबै कुरा भन्न सक्दिनँ ।’
यता वन अतिक्रमण गर्ने महेन्द्र थापालाई भेट्न जिल्ला स्थित समन्वय समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठ केहीदिन अघि सुटुक्क सुकुटे विचमा पुगेका थिए । शनिबार सरकारी गाडी लिएर उनी सुकुटे विचमा गएको देखिएपछि विभिन्न आशंका गरिएको छ ।