काठमाडौं । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै सर्वोच्च अदालत भवन परिसर अगाडि प्रदर्शन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी परेको छ । कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलबार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेकी छन् । प्रदर्शनमा सहभागी बिनु यादवका अनुसार धेरै पटक न्यायपरिषद्मा कारबाही प्रक्रियाका लागि धाउँदा पनि आफूहरूको कुनै कुरा सुनुवाइ नभएको बताइन् । उनले आफ्ना माग आलटाल गरेका कारण प्रदर्शनमा उत्रनुपरेको जिकिर गरिन् ।