काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।
प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकुल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताएका हुन् ।
‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्र्याउन सकेका छैनौं । लिगल च्यानलबाट देशभित्र भित्र्याउनका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न सरकार तयार छ,’ मन्त्री पौडेलले भने । रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँनयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने भन्दै उनले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरुलाई परिमार्जन र सुधार गर्दै जाने बताए ।