काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोकावट नगर्ने भएको छ । आइसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।
जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान लामिछानेलाई गत हप्ता पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेको थियो । जेलमुक्त भए पनि उनलाई विदेश भ्रमणमा अदालतले रोक लगाएको छ । प्रहरीले पक्राउ गरेपछि सन्दीपलाई क्यानले अनिश्चितकालीन निलम्बन गरेको थियो । सन्दीप रिहा भए पनि क्यानले निलम्बन फुकुवा गर्न बाँकी छ ।