स्याङ्जाको खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित

दियो पोस्ट  

काठमाडौं । स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गर्ने निर्णय गरेको छ।

माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

डंगोल उक्त घटनामा स्थानीयको कुटाइबाट घाइते भएका थिए र आजैमात्र पाइलट डंगोलमाथि कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

माघ ५ गते दिउँसो साढे २ बजेतिर प्रभुको हेलिकप्टरमा पाइलट डंगोल तीन जना यात्रु लिएर पोखराबाट वालिङका लागि उडेका थिए। सोही क्रममा हेलिकप्टर वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा अवतरण गरेको थियो।

पछि अनुसन्धानको क्रममा हेलिकप्टर कुनै अनुमतिबिना अवतरण गरिएको पाइएपछि प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको थियो।