काठमाडौं । क्रसरको विरोध गरेपछि हत्या गरिएका जनपुरका दीलिप महतोको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ।
धनुषा जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंको इजलासमा भएको सुनुवाइमा केही सरकारी साक्षीहरुको वकपत्र भएको नपाइएपछि उनीहरुलाई वकपत्र गराउने आदेश गरेको थियो।
स्थानीय औरही खोला उत्खनन् रोक्न गएका दीलिपको २०७६ पुस २२ गते हत्या गरिएको थियो। क्रसर व्यवसायीले फलामको सुइरो रोपी, कुटपिट गरी बेहोस बनाएपछि टिपरले टाउको कुल्चाएर बीभत्स ढंगले हत्या गरिएको जाहेरीमा उल्लेख छ।
दीलिपका बुवा रामजनम महतोले सात जनाविरुद्ध जाहेरी दिएका थिए। जाहेरीमा क्रसर उद्योगी विपिनकुमार महतो र विनोद महतो, टिपर चालक मुनीन्द्र महतो, टिपरका सहचालक जितेन्द्र महतो (सत्यनारायण), लोडर चालक जितेन्द्रकुमार महतो, क्रसरका हेड मिस्त्री शत्रुघन महतो र खोलामा सँगै गएका दीलिपका साथी रोशनकुमार यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम आजीवन कैद सजायको माग गरिएको थियो। ६ जना तत्कालै पक्राउ परेका थिए।
थुनछेकको बहसका लागि भएको सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र जितेन्द्रकुमारलाई मात्रै मुद्दाको फैसला नहुन्जेल थुनामा राख्न तथा रोशन, सत्यनारायण र शत्रुघनलाई धरौटीमा छाड्न आदेश दिएको थियो। एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका विनोदलाई २०७७ असोज २६ मा साधारण तारेखमा छाडिएको थियो।
जिल्ला अदालत धनुषामा विचाराधीन रहेको उक्त मुद्दा यसअघि पटक–पटक स्थगित हुँदै आएको छ। यसअघि मंसिर २९ गते अन्तिम सुनुवाइ सुरु भएको हो।