दीलिप महतोको मुद्दामा सुरु भएन अन्तिम सुनुवाइ, अदालतद्वारा ‘प्रतिवेदनका व्यक्ति बुझ्ने’ आदेश

दियो पोस्ट  

काठमाडौं । क्रसरको विरोध गरेपछि हत्या गरिएका दीलिप महतोको मुद्दामा धनुषा जिल्ला अदालतले ‘प्रतिवेदनका व्यक्ति बुझ्ने’ आदेश जारी गरेको छ।

बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चित्र बहादुर गुरुङको इजलासमा पेसी तोकिएको थियो। महतोको मुद्दामा बुधबारदेखि अन्तिम सुनुवाइ सुरु हुने अपेक्षा गरिएकोमा घटनास्थल मुचुल्का नभेटिएको भन्दै सोसँग सम्बन्धित ‘प्रतिवेदनका व्यक्ति’ (प्रहरी कर्मचारी) बुझ्ने आदेश दिएको हो। दीलिपको हत्यापछि प्रहरीले घटनास्थलको मुचुल्का नै संकलन नगरी शव उठाइएको पाएको थियो।

जिल्ला अदालत धनुषामा विचाराधीन रहेको उक्त मुद्दा यसअघि पटक–पटक स्थगित हुँदै आएको छ। यसअघि मंसिर २९ गते अन्तिम सुनुवाइ सुरु भएको हो। धनुषा जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंको इजलासमा भएको सुनुवाइमा केही सरकारी साक्षीहरुको वकपत्र भएको नपाइएपछि उनीहरुलाई वकपत्र गराउने आदेश गरेको थियो।

स्थानीय औरही खोला उत्खनन् रोक्न गएका दीलिपको २०७६ पुस २२ गते हत्या गरिएको थियो। क्रसर व्यवसायीले फलामको सुइरो रोपी, कुटपिट गरी बेहोस बनाएपछि टिपरले टाउको कुल्चाएर बीभत्स ढंगले हत्या गरिएको जाहेरीमा उल्लेख छ।

दीलिप महतो हत्या प्रकरण : पटक–पटक स्थगित हुँदै आएको मुद्दामा अन्तिम सुनुवाइ हुँदै