काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृह मन्त्रालयको नेतृत्वबारे सत्ता गठबन्धनमा छलफल जारी छ । रास्वपालाई नै फेरि सो मन्त्रालय दिन सरकारको नेतृत्वकर्ता दल माओवादी सकारात्मक देखिएको छैन ।सत्तारुढ दलहरुमा भागबन्डा हुँदा रास्वपाले गृहसहित ३ मन्त्रालय पाएको थियो । पार्टीका सभापति लामिछाने आफैं उपप्रधान तथा गृहमन्त्री बनेका थिए । उनी पदमुक्त भएपछि रास्वपाले गृह अरुलाई नछाड्ने बताउँदै अर्को व्यक्ति पठाउने तयारी गरेको छ । तर, सत्तारुढ दलबीच सहमति जुटिसकेको छैन ।