काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भएको बताएका छन् । सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग नेता महराले यस्तो प्रतिक्रिया दिएका हुन् । पत्रकारहरूसँगको कुराकानीमा उपाध्यक्ष महराले प्रधानमन्त्री दाहालले यसबारे निर्णय गर्ने भएकाले उक्त विषयलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकीरसमेत गरे ।
‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन । स्थायी कमिटीमा त्यो विषयमा पर्सि छलफल होला ।’
गत शुक्रबार सर्वोच्च अदालतको आदेशसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएका छन् । तर पछिल्लो समय गृह मन्त्रालय प्रधानमन्त्री दाहालकै मातहतमा राखिएको छ ।