भारतले पूर्व जानकारी बिना शारदा ब्यारेजका ढोका खोलेपछि…

महाकालीमा फसेका २० मजदुरको उद्दार

दियो पोस्ट  

काठमाडौं । भारतीय पक्षले पूर्व जानकारी बिना शारदा ब्यारेजका ढोका खोलेपछि महाकाली नदीमा फसेका मजदुर अप्रिय दुर्घटनाबाट जोगिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहकाअनुसार सोमबार बिहान ११ बजे महाकाली नदीमा एक्कासी पानीको बहाव बढेको थियो । पानीको बहाव बढेपछि महाकाली नदीमा वालुवा निकाल्न गएका आठ वटा ट्रयाक्टरसहित २० जना मजदुर फसेका थिए ।

उनीहरुलाई एक घण्टापछि डोजरको प्रयोग गरेर दिउँसो १२ बजे उद्दार गरिएको थियो । प्रहरीकाअनुसार भारतले पूर्व जानकारी बिना शारदा ब्यारेजका नेपालतर्फका ढोका खोलेपछि नदीमा एक्कासी पानीको बहाव बढेको थियो ।

मजदुर फसेको सूचना पाएपछि प्रहरी चौकी गड्डाचौकीको टोली शारदा ब्यारेजमा पुगेर ढोका बन्द गरिदिन आग्रह गरेको प्रहरी नाबय उपरीक्षक शाहले बताए । उनकाअनुसार भारतीय पक्षले शारदा ब्यारेजका ढोका एकाएक किन खोलेको हो भन्ने कुरा खुलेको छैन ।