काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको बताएका छन् ।
बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने उनको भनाइ छ ।
राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी दिँदै महानिरीक्षक कुँवरले सो कुरा बताएका हुन् ।
बालकुमारीमा गोली चलेको तर कतिबेला चलेको भन्ने एकिन नभएको उनले बताए ।
ईपीएस भाषा परीक्षार्थीहरुले गरेको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । सोही घटनामा दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । एक जनाको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।
अर्को एक जना मृतकको छातीमा बन्दुकको कुन्दाले हानेको जस्तो देखिने डाम थियो ।
घटनाबारे संसदीय समितिलाई जानकारी गराउँदै महानिरीक्षक कुँवरले भने, ‘मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन ।’ मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको उनले बताए ।
उनका अनुसार तीन हजार युवा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुसँगको झडपमा परी ८ जना प्रहरी घाइते भएको उनले बताए । रबरको गोली, हवाई फायर र अश्रुग्याँस प्रहार गरेको उनले बताए ।