काठमाडौं । नेपालमा एमजी गाडी विक्री गर्दै आएको प्यारामाउन्ट मोटर्स प्रा.लीमा एउटा घोटाला काण्डले तरंग ल्याएको छ । कम्पनीका उच्च अधिकारीहरुको मिलेमतोमा एक पूर्व कर्मचारीलाई प्रहरीको हिरासतसम्म पुर्याएको खबर दियोपोस्टलाई प्राप्त भएको छ ।
कम्पनीले आफ्नै पूर्व कर्मचारी सिन्धुपाल्चोकको हेलम्बु घर भएका कृष्ण बहादुर दाहाललाई बैंकिङ्ग कसुर मुद्दामा फसाएको आरोप छ । हाल कार्यरत कर्मचारी आशिष महर्जनलाई जाहेरकर्ता बनाएर बैंकिङ्ग कसुर अभियोगको मुद्दा दाहाल विरुद्ध प्रहरी, सरकारी वकिल हुँदै अहिले जिल्ला अदालतसम्म पुगेको छ । नेपालमा अर्बौंको व्यापार गर्दै आएको एमजी मोटर्सले दहालले ६ लाख १० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ । कम्पनिले दबावमा पारेर दाहालसँग उक्त रकम बराबरको चेक समेत लिएको र सोही चेक बाउन्स भएपछि उनलाई प्रहरीमा जाहेरी दिएर पक्राउ गरिएको थियो ।
प्रहरीमा पक्राउ परेका दाहालले दिएको बयान अनुसार उनी एक वर्षअघि सम्म उक्त कम्पनिको स्पेयर्स पार्टसको अफिसर थिए । उनले रकम उठाएर एकाउन्टेन्टलाई दिएको रकम समेत कम्पनिले नपाएको भन्दै आफू विरुद्ध जाहेरी दिएको उनको आरोप छ ।
‘मैले उक्त कम्पनिमा काम गर्दा गरेको कारोबार नमिलेको र मैले उठाई एकाउन्टेन्टलाई दिएको रकम समेत एकाउन्टेन्टले प्राप्त नगरेको र मैले दिएको रकम कम्प्युटरमा ईन्ट्रि गरि सकेको भनेकोमा उक्त कारोबारबाट घट्दै जाने रु ६ लाख १० हजार को हिसाब मिलेको रहेनछ,’ उनले बयानमा भनेका छन्,‘पछि हिसाब मिलाउने र उक्त रकमबाट घट्दै जाने भनिी मलाई कम्पनिले हिसाब मिलाउनुपर्छ ग्यारेन्टीको लागि हाललाई चेक काटिदिनु भनेकोमा मैले मेरो खाता रहेको लक्ष्मी बैंक लिमिटेडको नयाँ बानेश्वरको खाता नम्बर ०१२………….९० को चेक नम्बर ००६…….८६५ मा २०७९ माघ २५ गतेको मितिमा ६ लाख १० हजारको चेक थान एक प्यारामाउन्ट मोटर्स प्रा.लीको नाममा दिएको हुँ ।’
चेक काटिदिएपछि उनले १ लाख ५ हजार रुपैयाँ कम्पनिको खातामा समेत जम्मा गरेको उनले स्विकार गरेका छन् । कम्पनीले सोही कम्जोरीमा टेकेर चेक बैंकमा बाउन्स गरि जाहेरी दिएको उनको आरोप छ । दहालले कम्पनीले आफूलाई फसाएको आरोप लगाएका छन् ।