काठमाडाैँ । सरकारले विद्यालयमा वितरण हुने दिवा खाजामा जंक फुड बन्देज गरेको छ। तर धादिङको ज्वालामुखी गाउँपालिका-३ स्थित शमिभञ्ज्याङ माध्यमिक विद्यालयले भने विद्यार्थीलाई जंक फुड दिएको पाइएको छ।
शुक्रबार (पुस १९ गते) शमिभञ्ज्याङ माविले बालबालिकाहरुलाई दिवा खाजा वापत बिस्कुट दिइएको पाइएको छ।
पहिले बुढिगण्डकी क्याम्पस भएको भवनमा अहिले कक्षा शिशुदेखि ती कक्षासम्मका विद्यार्थी राखिएको छ। त्यहाँ अध्ययनरत बालबालिकाहरूलाई शुक्रबार हातहातमा बिस्कुट लिएर खाँदै घर गएका थिए।
जंक फूडले बालबालिकाको स्वास्थ्यमा अझै गम्भीर समस्या निम्त्याउँछ। त्यसकारण यो कार्यक्रमबाट जंक फूडको प्रयोगसमेत कम गर्ने लक्ष्य पनि सरकारले राखेको थियो।
चाउचाउ, बिस्कुट लगायत अन्य जंक फूडको सट्टा स्थानीय क्षेत्रमै पाइने अन्न, फलफूल, तरकारीहरू प्रयोग गर्न पनि जोड दिइएको छ। उमेरसमूह अनुसारका खनिजपदार्थ तोकिएको पनि छ। ती सबै सम्भव नभए कम्तिमा जंक फूड प्रयोग नगर्ने भनिएको थियो।
तर गाउँपालिकाभित्रकै पुरानोमध्येको शमिभञ्ज्याङ माविले बालबालिकाहरूको स्वास्थ्यको बेवास्ता र सरकारको नीतिविपरीत बिस्कुट बाँढेको हो।
हामीले यसबारेमा प्रधानाध्यापक बसन्त कुमार श्रेष्ठलाई सोध्यौं । प्रधानाध्यापक श्रेष्ठले विद्यालयलको दुई वटा ब्लक भएको र आफू ४-१२ को भवनतर्फ धेरै समय हुने भएकाले अर्को ब्लकको बारेमा कम थाहा हुने बताए।
त्यसकारण जंक फूड बाँढिएको भन्नेबारे आफूलाई थाहा नभएको उनले बताए। उनले एक वर्षअघि त्यस्तै गरेको थाहा पाएर कारबाही गरेपछि जंक फूड दिएको भन्ने विषय त्यसपछि नआएको बताउँदै त्यसबारेमा बुझ्ने जानकारी दिए।
‘जंक फूड नदिने भन्नेबारे विद्यालय सचेत छ। त्यस्तो भएको रहेछ भने बुझौंला,’ उनले भने।
उनले ३ कक्षासम्म सञ्चालन हुने ब्लकको जिम्मा महिला शिक्षिकालाई दिइएको जानकारी दिइन्।
त्यहाँको इन्चार्ज सुनिता मगरले शुक्रबार बालबालिकाहरूलाई बिस्कुट बाँढिएको स्वीकार गरिन्।
उनका अनुसार विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत खाजा बनाउने जिम्मा विद्यालय नजिकको एउटा होटललाई दिइएको छ।
‘त्यसदिन (शुक्रबार) फलफूल दिने पालो थियो। शुक्रबार सँधै फलफूल दिन्छौं। तर त्यसदिन त्यहाँ फलफूल सकिएछ। त्यसकारण होटल सञ्चालकले विद्यार्थीहरूलाई बिस्कुट थमाइदिनुभएछ,’ इन्चार्ज मगरले भनिन्।
त्यो बाहेक कुनै दिन पनि जंक फूड नदिइएको बताइन्। उनका अनुसार त्यहाँ ७० जनाभन्दा बढी विद्यार्थी दिवा खाजा कार्यक्रममा समेटिएका छन्। उनीहरूलाई जाउलो, चिउरा तरकारी, पूरी तरकारी दिइन्छ।
यसअघि शुक्रबार अन्डा दिइने व्यवस्था गरिएको थियो। तर महँगो पर्ने भएकाले त्यसलाई हटाएर शुक्रबार फलफूल दिन थालिएको उनले बताइन्।
विद्यालयमा कर्मचारीको संख्या कम भएका कारण बालबालिकालाई खाजा खुवाउने जिम्मा नजिकैको होटललाई दिइएको उनले बताइन्।
‘पढाउन पनि पर्ने भएकाले खाजा बनाउन भ्याएनौ। विद्यालय र अभिभावकहरूसँग छलफल गरेर नजिकैको होटललाई जिम्मा दिएका हौं,’ उनले भनिन्।
अनुगमन नै गर्दैन गाउँपालिका
सरकाले विद्यालय भर्ना दर बढाउन दिवा खाजा सञ्चालन गरेको हो। देशभरका सामुदायिक विद्यालयमा वाल कक्षादेखि कक्षा-५ सम्म यो कार्यक्रम सञ्चालन भएका छन्। यसपालि सरकाले विद्यालय दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ८५ करोड विनियोजन गरेको छ। यस कार्यक्रम अन्तर्गत एक जना विद्यार्थीलाई दैनिक १५ रूपैयाँ पैसा सरकारले खर्च गरेको छ।
सरकारले अर्बौं रूपैयाँ लगानी गरेको कार्यक्रमलाई प्रभावकारी तुल्याउन भने स्थानीय तह उदासिन देखिएको छ। ज्वालामुखी गाउँपालिकाले पनि दिवा खाजा कार्यक्रमको प्रभावकारि कार्यान्वयन र सञ्चालनबारे अनुगमन नै नगरेको पाइएको छ।
गाउँपालिकाकी शिक्षा शाखा प्रमुख देवकी सिंखडाले विद्यालय दिवा खाजाकै कार्यक्रमको प्रभावकारिताको विषयमा भने अनुगमनमा नगएको जानकारी दिइन्।
‘हामी अन्य विषयको अनुगमन गर्न जाँदा विद्यालयको पनि अनुगमन गर्छौं। दिवा खाजा कार्यक्रमकै लागि भने अनुगमनमा गएका छैनौं,’ उनले भनिन्।
तर जंक फूड प्रयोग गर्न नहुने र यसले पार्ने नकारात्मक प्रभावबारे शिक्षक,विद्यार्थीका अभिभावक र जनप्रतिनिधिलाई राखेर ओरियन्टेशन कार्यक्रम गरिएको प्रमुख सिंखडाले बताइन्।
गाउँपालिकाकाभरिका विद्यालयहरूमा जंक फुड दिइएको भन्नेबारेमा गुनासो तथा सूचना नआएको बताउँदै यसबारेमा बुझ्ने बताएकी छन्।