कृषि मन्त्री भुसाल भन्छन्,‘डिडिसीबारे मैले बोल्दै नबोलेको विषय मिडियामा आयो, छक्क परेको छु’

दियो पोस्ट  

काठमाडौं । कृषि तथा पशुपंक्षि मन्त्री बेदुराम भुसालले आफूले बोल्दै नबोलेको विषय सञ्चार माध्यममा आएको भन्दै आपत्ति जनाएका छन् । दियोपोस्टसँग संक्षिप्त कुराकानी गर्दै भुसालले आज एक संचार माध्यममा आएको समाचारको खण्डन गरेका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा दुग्ध बेचेको १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको अभिव्यक्ति दिएको भन्दै एक संचार माध्यमले समाचार बनाएको थियो ।

‘आज यो विषयमा कुरा भएको छैन । डिडिसीका आम किसानका कुरा भएका थिए । तर, १७ करोडको कुरा पनि गरेको छैन,’ भूसालले दियोपोस्टसँग भने,‘बोल्दै नबोलेको विषय मिडियामा कसरी आयो म छक्क परेको छु ।’

यसअघि अर्को एक संचार माध्यमले समेत डिडिसीको १७ करोड रुपैयाँ झाले अनियमितता गरेको आरोप लगाएको थियो । तर, मन्त्री भुसालले नै उक्त विषयमा आफू नबोलेको बताउन थालेपछि यो विषय अनावश्यक हल्ला मात्रै हुन सक्ने आशंका बढेर गएको छ ।