‘म फरक मान्छे, प्लाष्टिकको खोलहरु डस्टबिनमै फाल्छु म फरक छु किनकी म प्लाष्टिकको प्रयोग कम गर्छु।’ स्कुले बालिकाले आफ्नो हातमा चोयाको डस्टबिन समात्दै बोलेका यी शब्दावली सहितको यो विज्ञापन अन्त नभइ वातावरण विभागको आधिकारिक फेसबुक पेजमा उपलब्ध सामग्री हो ।
सरकारले नेपालमा प्लाष्टिकका झोला प्रतिबन्ध गर्नेबारे पटकपटक घोषणा गरेको छ तर हालसम्म सो घोषणा प्रभावकारी बन्न सकेको छैन । पछिल्लो समय ४० माइक्रोनभन्दा मुनीको प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण र प्रयोग गर्नमा सरकारले रोक लगाएको छ । सोही अवस्थामा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले भने सबै खाले प्लाष्टिक प्रदुषण न्यूनिकरण गर्न ‘अब फरक बनौं’ नामक सन्देशमूलक अभियान सञ्चालन गरिरहेको छ ।
उक्त अभियानलाई विभिन्न चार चरणमा सञ्चालन गरिएको छ । अभियानको पहिलो चरणमा फरक बाजे, फरक महिला र फरक बच्चा गरी मुख्य तीन पात्रलाई समावेश गरिएको छ । फरक बाजेमार्फत चिया पिउँदा प्लाष्टिकको कप प्रयोग नगर्ने भन्ने सन्देश दिन खोजिएको छ भने फरक महिलामार्फत सपिङ जाँदा आफ्नै झोला लिएर जानुपर्ने सन्देश दिइएको छ ।
फरक बच्चामा भने सकेसम्म प्लाष्टिकको प्रयोग कम गरौं या यस्ता प्लाष्टिक पयोग गर्नैपरे प्रयोगपछि डस्टबिनमा फालौं भन्ने खालको सन्देश दिन खोजिएको छ ।
दोस्रो चरणमा टेलीश्रृंखला हल्का रमाइलो, सेफ नेपाल र क्रिकेट कार्यक्रमको बीचमा विज्ञापन बजाएर सचेतना जगाउन खोजिएको छ । तेस्रो चरणमा कलाकारहरुमार्फत ‘म फरक छु’ भन्ने सन्देश दिएर सो अभियान सञ्चालन गरिएको छ । जसमा अभिनेता राजेश हमाल, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, पूर्व मिस नेपाल अनुस्का श्रेष्ठ र रिया सदा लगायतबाट ‘म फरक छु’ भन्ने सन्देश देखाउन खोजिएको छ ।
यी सामग्रीहरु वतावरण विभागले प्लाष्टिक प्रदुषणविरुद्ध सचेतना जगाउने उदेश्यले आफ्नो सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, एक्स (ट्वीटर), लिंक्डइन, युट्युब, टेलिभिजन र रेडियोमार्फत प्रसारण गरिएको छ ।
चौथो चरणमा भने विभागले तथ्यमा आधारित केही भिडियो सामग्री बनाएको थियो । विश्वव्यापी तथ्यांकले के भन्छ, कस्ताखाले असर परेको छ, लगायत सामग्री बनाएका थियो । अर्को भनेको स्तम्भ बनाएर पनि विभागले अध्ययन गरिरहेको छ।
वातावरण जोगाउन प्लाष्टिक प्रदुषण न्यूनिकरणका साथै प्लाष्टिक उद्योगी र प्रयोगकर्तालाई मारमा नपार्ने सरकारको उदेश्य रहेको वातावरण विभागका महानिर्देशक शिवलाल तिवारी बताउँछन् ।
‘अभियानको मुख्य उदेश्य भनेको सचेतनामूलक कार्यक्रममार्फत सकेसम्म सबैखाले प्लाष्टिकको प्रयोग कम गरौं र व्यवहारिक रुपमा परिवर्तन ल्याउने नै हो,’ उनी भन्छन्, ‘तत्काल सबैखाले प्लाष्टिक सामग्री र प्लाष्टिक झोलामा प्रतिबन्ध लगाउन सकिन्न । किनकी प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरु पनि छन् । त्यसमै आफ्नो जीवन चलाएका उद्योगीहरु पनि छन् ।उनीहरुलाई मर्का नपारौं भन्ने हिसाबले सरकारले सबै किसिमका प्लाष्टिकमा प्रतिबन्ध नलगाइकन ४० माइक्रोनभन्दा मुनिको प्लाष्टिक प्रयोग भण्डारण, उत्पादन र प्रयोगमा रोक लगाएको हो । ४० माइक्रोन वा सोभन्दामाथिको प्लाष्टिक झोला आममानिसले पुनः प्रयोग समेत गरुन् भन्ने हो । त्यो भन्दा मुनिको प्लाष्टिक पातलो हुन्छ, च्यातिन्छ र प्रदुषण बढि हुन्छ ।’
विश्व बैंक र प्रोब्लु नामक संस्थासँगको सहयोगमा वातावरण विभागले प्लाष्टिक प्रदुषण विरुद्ध ‘अब फरक बनौं’ नामक उक्त अभियान सञ्चालन गरिरहेको हो । सचेतना जगाउने उदेश्यले विभागले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट फेसबुक, इन्स्टाग्राम, एक्स (ट्वीटर), लिंक्डइन, युट्युबसँगै नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत प्रसारण गरिएको छ ।
वातावरण विभागले पनि अलग्गै प्लाष्टिक प्रदुषणविरुद्ध जानकारीमूलक, विज्ञका धारणा आदिमा आधारित वातावरण चौतारी नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यद्यपि, यो अभियानको प्रभाव कस्तो रहला भन्ने आशयमा विभागका महानिर्देशक तिवारी भन्छन्, ‘सिधा हेर्दा यसको प्रभाव कति पर्यो परेन यत्तिकै भन्न नसकिएपनि मानिसको मानसिकतामा भने यसले प्रभाव पारिरहेको हामीले अनुभूति गरेका छौं।
‘विगतको तुलनामा प्रतिबन्धित सामान प्रयोग नगरौं वा सकेसम्म कम प्रयोग गरौ भन्नेखालको परिवर्तन भने देखा परिरहेको छ,’ उनले भने।
यसबाहेक विभाग आफैले पनि यदि कसैले ४० माइक्रोनभन्दा मुनिको प्लाष्टिक उत्पादन, वितरण र प्रयोग गरेको भेटेमा जफत गर्दै आएको छ । प्लाष्टिक उत्पादन गर्ने उद्योगीहरुले पनि ४० माइक्रोनभन्दा म’निको झोला उत्पादन गर्न नहुने उनको भनाइ छ।
नेपालमा चाउचाउ, विस्कुट, चकलेट लगायत प्याकेजिङ प्लाष्टिकमाथि प्रतिबन्ध छैन । उनकाअनुसार उद्योग मन्त्रालयले बजेटमा गुट्खा र अन्य प्याकेजिङमा प्रतिबन्ध लगाउने र त्यसको सट्टा वैकल्पिक सामग्री प्रयोग गर्ने भन्ने तयारी गरिरहेको छ।
प्लाष्टिक प्रतिबन्ध गर्न हुँदैनः विज्ञ
दैनिक रुपमा प्रयोग हुने प्लाष्टिकजन्य प्रदुषण गम्भीर किसिमको भएको विभिन्न अध्ययन अनुसन्धानले देखाइसकेको छ । सोही कारण हुनुपर्छ पछिल्लो समय प्लाष्टिक प्रदुषण विरुद्ध विभिन्न अभियान विश्वव्यापी रुपमा सञ्चालन भइरहेका छन् ।
वातावरण विभागले सञ्चालन गरेको प्लाष्टिक प्रदुषण न्यूनिकरण अभियान प्रभावकारी बन्न सक्ने प्लाष्टिक विज्ञको धारणा छ । ‘म फरक छु’ अभियानको मूल उदेश्य पर्यावरणलाई स्वच्छ राखौं, स्वस्थ राखौं र प्लाष्टिकलाई पनि ठीक तरिकाले बिसर्जन गरौं भन्ने हो । नियम कानुनलाई मानौं भन्ने हो,’ प्लाष्टिक विज्ञ प्रा.डा रामेश्वर अधिकारी भन्छन्, ‘यो विस्तारै प्रभावकारी पनि बन्ला ।’
यद्यपि, प्लाष्टिक प्रदुषण नियन्त्रण गर्नुपर्छ भन्नेमा कुनै शंका नभएपनि प्लाष्टिकमाथि पूर्ण प्रतिबन्ध गर्न नहुनेसमेत उनको भनाइ छ ।
‘प्लाष्टिक प्रदुषण नियन्त्रण गर्नुपर्छ भन्नेमा कुनै शंका नै छैन । सबै किसिमको प्लाष्टिक प्रदुषणविरुद्ध एक किसिमको जागरण ल्याउनुपर्छ,’ पोलिमर विज्ञानमा विज्ञता हासिल गरेका प्लाष्टिक विज्ञ प्रा.डा अधिकारी भन्छन्, ‘तर प्लाष्टिक हटाउने या प्रतिबन्ध लगाउने हो भने झनै दुर्दशा झन बढ्छ । प्लाष्टिक झोला प्रतिबन्ध गर्ने सरकारको विपक्षमा प्लाष्टिक उद्योगीहरु उभिइरहनुभएको छ । किनकी सयौं प्लाष्टिक उद्योग छन् भने हजारौं मानिसले त्यहाँ रोजगारी पाएका छन् लाखौ लगानी हुन्छ । त्यसैले यो पक्षलाई पनि मार नपर्ने हिसाबले नीति निर्माण र कार्यान्वयनतर्फ जानुपर्छ।’
उनकाअनुसार प्लाष्टिक दैनिक जीवनमा काम लाग्ने अत्यावश्यक वस्तु हो तर यसको असरहरु गम्भीर छ, यसलाई हामीले सावधानीपूर्वक प्रयोग गर्नुपर्छ भन्ने किसिमको जागरण विद्यालय तहदेखि नै हुनुपर्छ। सरकारी तवरबाट पनि प्रदुषण नियन्त्रणसँगै प्लाष्टिकजन्य प्रदुषणलाई कसरी व्यवस्थापन गर्ने भन्नेखालको नीति ल्याउन सकियो, उचित ढंगले व्यवस्थापन गर्न सकेमा राम्रो प्रतिफल आउँछ । व्यवस्थापनका अनेक उपायहरु छन् ती उपायहरु अपनाउनुपर्छ।