अर्काको जग्गा बैनापट्टा गर्दै ठगीधन्दा चलाउने बाबुलाल : पक्राउ पूर्जी जारी,तर भएन कारबाही !

दियो पोस्ट  

काठमाडौं । एउटा वर्गका हरेक नेपालीहरु काठमाडौं वा देशका ठूला शहरमा घर बनाउने सपना देख्छन् । त्यही सपना पुरा गर्न मानिसहरु बैंकमा जागिर खान्छन्, व्यापार गर्छन् र जीवन भर कमाएको रकम जोडेर राख्छन् । अधिकांश मानिसको औषत सपना एउटा घर र गाडीका पछाडी छ भन्दा अन्यथा नहोला । किनकी बैंक तथा वित्तिय संस्थाले अधिकांश ऋण घर र जग्गामा लगाएको छ ।

यसरी नै आफ्नो घर बनाउने सपना देख्थे नेपाल सेनाका अवकास प्राप्त जमदार भिम बहादुर गुरुङ्ग । गोरखा घर भएका उनले नेपाली सेनामा जीवनभर काम गर्दा जोडेको केही लाख रुपैयाँ उनीसँग थियो । मिसन जाँदा जम्मा गरेको केही रुपैयाँ पनि काठमाडौंमै घर बनाउने सपनामा उनले जोडेका थिए । सेनाबाट अवकास भएपछि साथीभाई सबैसँग ऋण समेत गरेर ८० लाख रुपैयाँ जुटाएका थिए । यस्तैमा उनका एक जना साथीले घरसहितको जग्गा किन्ने अफर दिए । साथैकै सहारामा उनको भेट तनहुँ भानु गाविस घर भएका बाबुलाल परियारसँग भयो । परियारले जग्गा बेच्ने भन्दै उनीहरुबीच मोलमलाई भयो ।

परियारले दुईपक्षबीच बैनापट्टा गर्ने सहमति पत्र तयार पारे । काठमाडौंकै फूटुङ्गको जग्गा हुने भएपछि भिमबहादुर मख्ख थिए । फूटुङ्ग –६ को कित्ता नम्बर १६१ क्षेत्रफल रहेको ३ आनाको जग्गा, १ ढलानको घर खरिदकर्ताको रुपमा गुरुङ्गले बैनापट्टा कागजमा हस्ताक्षर गरे । औँठाछाप लगाए । घरको मुल्य १ करोड गरियो । बैना बापत गुरुङ्गले एकमुष्ठ ८० लाख रुपैयाँ परियारलाई दिए ।

६० दिनको भाका थियो । तर, जग्गा र घर पास हुने मिति नजिकिँदै जाँदा परियार सम्पर्क विहिन हुन थाले । उनले भाका सार्न थालेपछि गुरुङ्गले वास्तविकता बुझे उक्त पास गरिदिने बैना पट्टामा उल्लेखित कित्ता नम्बरका घर जग्गा अर्कैका थिए । उनी ठगिए । विभिन्न कोशिस गरेर परियारबाट उनले बैना बापतको रकम फिर्ता मागे । तर, परियारले रकम दिन आनाकानी गर्दै आए । अन्तत बाबुलाल उनीबाट सम्पर्क विहिन भए । परियारबाट आफू ठगिएको चाल पाएपछि गुरुङ्गले महानगरीय प्रहरी परिसरमा ठगीको जाहेरी दिए । जाहेरीको आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति पनि लिइसक्यो । तर, उनी पक्राउ पर्न सकेका छैनन् । ‘अर्काको घर मेरो हो भनेर कागज गरि उसले मलाई ठगी गरेको रहेछ । मैले ठगीको जाहेरी दिएपछि पक्राउपुर्जी जारी भएको छ । तर पक्राउ गर्न सकिएको छैन,’ उनले दियोपोस्टसँग भने ।

यसरी परियारबाट अन्य व्यक्तिसमेत पीडित भएका छन् । त्यसरी ठगिएका पात्र हुन् नवलाल श्रेष्ठ । सिन्धुपाल्चोक घर भएका नवलाललाई पनि परियारले यसरी ठगी गरेका छन् । टिहिमचिम सहकारीको दृष्टिबन्धक रोक्का रहेको सांला हाल परिवर्तित तार्केश्वर नगरपालिका वडा नम्बर १ को कित्ता नम्बर ११६ रहेको चार कोठे घरसहितको जग्गाको ९२ लाख रुपैयाँ मुल्याकन गरि २७ लाख रुपैयाँ बैना बापत अशुली गरे ।

३५ दिन भित्र जग्गा पास गरिदिन्छु भन्दै वडाध्यक्षको रोहबरमा कागजात गरेका नवलाल अहिले ठगी भएको चाल पाएपछि प्रहरी कार्यालय धाउँदा हैरान छन् । २०७९ असार १९ गते वडा कार्यालयमा बैना पट्टाको कागजातम हस्ताक्षर भएको थियो । नवलालका अनुसार अनुसार आफू ठगीएको चाल पाएपछि उनले परियारबाट चेक समेत लिए तर, चेकमा प्रयाप्त रकम नभएपछि उनले बैंकिङ्ग कसुरमा जाहेरी दिएका छन् । उनले दिएको जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । तर, उनलाई पक्राउ गर्न प्रहरीले सकेको छैन । उनलाई दिन्छु भनेर बैना पट्टा भएको जग्गा दिल प्रकाश शेरचनको नाममा पास भएको छ । पीडितहरुका अनुसार सहकारी र बाबुलाल मिलेर यसरी नै ठगीधन्दा चलाउने गरेका थिए ।

प्रहरीका अनुसार बाबुलालले यसरी नै दर्जनौँ व्यक्तिलाई ठगी गरेका छन् । यसरी ठगिएकाहरुले प्रहरी कार्यालयमा जाहेरी दिएको वर्षदिन पुग्दा पनि उनी पक्राउ त के प्रहरीले सुचना समेत पाउन सकेको छैन ।

यसरी ठगी गर्दै आएका बाबुलाल पछिल्लो समयत अष्ट्रिलियामा लुकेको पीडित परिवारको आशंका छ । काठमाडौं प्रहरीका एक अधिकारीका अनुसार उनलाई डिफ्युजन नोटिश जारी गरेर भएपनि नेपाल झिकाउने तयारी छ ।