पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले २० साउन २०८० मा विमोचन गरेको स्वतन्त्र पत्रकार बाबुराम विश्वकर्माको कूटनीतिक मामिला सम्बन्धी बहुचर्चित किताब भूराजनीतिकको भार को दोस्रो संस्करण छापिएको पनि तीन महिना पुगिसकेको छ । यो किताबले पछिल्लो समय भूराजनीति र कूटनीतिक क्षेत्रमा अत्यधिक चर्चा बटुलेको छ ।
लेखक विश्वकर्माको २६७ पृष्ठको किताबलाई नियाल्दा यसले भूराजनीतिका नयाँ आयाम उधिनेको छ, जुन यसअघि धेरैलाई थाहा थिएन । लेखक विश्वकर्मा उत्तर र दक्षिणको भूमध्यरेखामा ठिङ्ग उभिएर कूटनीतिक क्षेत्रका नयाँ आयामको सूक्ष्म विश्लेषण गर्न पुगेका छन् । त्यही मझधारबाट लेखिएको पुस्तक हो, भूराजनीतिको भार, जुन नयाँ र पुराना पाठकका लागि साँच्चै चखिलो र घतलाग्दो छ ।
धेरै नेपालीले बिर्सिएका भूराजनीतिक मुद्दालाई सूचना र विश्लेषण सहित वस्तुपरक तरिकाले सरल शैलीमा विश्लेषण गरिएको छ । भूराजनीतिका नयाँ मुद्दामा गरिएको व्याख्यात्मक टिप्पणीले विषयलाई न्याय गरेको अनुभूति जो–कोही पाठकले गर्न सक्छन् ।
विश्व राजनीतिमा देखापरेको नवीन प्रवृत्तिको छायाँले नेपाललाई पनि छाडेन । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको विषय होस् वा लिपुलेक लिम्पियाधुराको विषय, यसमा शक्तिराष्ट्रहरूको उपस्थिति, चासो, दबाव र प्रभावबाट नेपाल अछुतो छैन । यी सन्दर्भहरू गम्भीर बहसका विषय हुँदै आएका छन् ।
चीन र भारत बीच रहेको नेपालमा पछिल्लो समय राष्ट्रहरूको उपस्थिति र चासो अत्यधिक बढेको छ । विश्वको पहिलो शक्ति बन्ने दौडमा रहेको चीनको उदयले पश्चिमा देशलाई झस्काएको छ । पश्चिमा मुलुकले चीनको यो उदयलाई रोक्न अनेक कदम चालिरहेको देखिन्छ । उता, भारत भने दक्षिणएशियामा रहेको आफ्नो प्रभुत्वमा आँच आउन नदिन अनेक प्रयास गरिरहेको छ । भारत र चीन दुवै विश्वशक्ति बन्ने दौड छन् । तर भारतको रणनीति भने अमेरिका लगायत विभिन्न देशहरूसँग मिलेर आफू शक्तिशाली हुनेतिर देखिन्छ । उसले पश्चिमा राष्ट्रहरूको चीन घेर्ने रणनीतिलाई पनि कुनै न कुनै रूपमा सहयोग गरिरहेको छ ।
लेखक विश्वकर्माले भूराजनीतिको भारमा यी र यस्ता कैयौं पेचिला विषयलाई तथ्यसहित विश्लेषण गरेका छन् । भूराजनीतिको भारको पहिलो अध्यायमा कोल्टे कूटनीति र सन्तुलनको खोजी शीर्षकमा ओली–गोयल वार्ता, कालापानी लिपुलेक लिम्पियाधुरा सहितको चुच्चे नक्सा प्रकरण, भारतसँग चिसिएको नेपालको सम्बन्ध, चिनियाँ राजदूत होउ यान्छीको अति–सक्रियता लगायत विषय समेटिएको छ । पहिलो अध्यायले नेपालको विदेश सम्बन्ध नेपाली नेताहरूको स्वार्थका आधारमा कोल्टे पारिएको विश्लेषण गरिएको छ । नेपालले जस्तो सुकै अवस्थामा पनि सन्तुलित कूटनीतिको बाटो बिराउनु नहुने निचोड निकालिएको छ ।
भूराजनीतिको भारको दोस्रो अध्यायको शीर्षक छ– ‘रणनीतिक साझेदारीः संविधानको मर्ममै प्रहार’ । यो अध्यायमा चिनियाँ राष्ट्रपति सी जिनपिङको उच्चस्तरीय नेपाल भ्रमण र त्यसक्रममा दुई देशबीच कायम रणनीतिक साझेदारी सम्बन्धको लाभहानि बारे टिप्पणी गरिएको छ । ‘संसारमा सैन्य तथा सामरिक स्वार्थ लगायत समान धारणा अनि वैचारिक धरातल पनि उस्तै भएका देशहरूबीच रणनीतिक साझेदारी हुने गरेको छ । तर राजनीतिक तथा शासन प्रणाली, लोकतान्त्रिक मूल्यमान्यता, वैचारिक धरातल र शासन व्यवस्था नै अलग–अलग अभ्यास गरेका नेपाल र चीन बीच किन र केका लागि रणनीतिक साझेदारी गरिएको हो ?” लेखकले प्रश्न गरेका छन् । उनले यस बारे दुवै देशले स्पष्ट नपारेको तर्क गरेका छन् । चीनसँग नेपाली सेनाको सगरमाथा फ्रेन्डसिप नामको संयुक्त सैन्य अभ्यास गरिनु तर तत्कालीन प्रधानमन्त्री केपी ओलीले बिमस्टेक स्तरको सैन्य अभ्यासमा नेपालको सैनिक टोली नपठाएको परिघटना पनि यो अध्यायमा चर्चा गरिएको छ । ओलीको यो कदमले भारतलगायत बिमस्टेक देशसँग नेपालको सम्बन्धमा दरार आएको थियो ।
नेपालको संविधानको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीतिमा नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताको आधारमा सञ्चालन गर्ने भनिएको छ । तथापि विभिन्न समय र सन्दर्भहरूमा स्वतन्त्र परराष्ट्र नीति र असंलग्नताको मान्यताबाट नेपाल विमुख हुने गरेको छ । नेताहरूको कमजोरीका कारण देशले राष्ट्रिय स्वार्थअनुसार परराष्ट्र नीति सञ्चालन गर्न नसकेको देखिन्छ । विकसित देशहरूमा सरकार परिवर्तनले परराष्ट्र नीतिमा खासै नकारात्मक प्रभाव पारेको हुँदैन । तर, नेपालमा भने फरक परिदृश्य देख्न सकिन्छ । भूराजनीतिको भारमा यी विषयमाथि रोचक मन्थन गरिएको छ ।
अध्याय तीनमा तत्कालीन चिनियाँ राजदूत होउ यान्छीको नेपालमा अतिसक्रियताको कटु आलोचना गरिएको छ । लेखकले होउ यान्छीलाई नेता कि कूटनीतिज्ञ भनेर समेत प्रश्न गरेका छन् । यान्छीको सक्रियतामा तत्कालीन नेकपाका नेता कार्यकर्ताको लागि सी विचारधारा सम्बन्धी प्रशिक्षण आयोजना गरिएको थियो । यो सन्दर्भलाई किताबमा असामान्य घटनाको रूपमा व्याख्या गरिएको छ । यान्छीले पत्रकार अनुप काफ्ले र नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई धम्क्याएको प्रसंग पनि पढ्न पाइन्छ ।
‘नेपालमा सीका दुई दिन’ शीर्षकमा चिनियाँ राष्ट्रपति सी जिनपिङको २०१९ अक्टोबर १२–१३ मा भएको बहुचर्चित नेपाल भ्रमण बारे भूराजनीतिको भारमा विस्तृत चर्चा गरिएको छ । त्यसक्रममा जारी संयुक्त वक्तव्यको सार र सीको नाममा नेपाली सञ्चारमाध्यममा प्रकाशित आलेखको अर्थ खोजिएको छ । नेपाल न दाजु न भाइ उप–शीर्षकमा चीन नेपाल एक–अर्काबाट सिक्ने असल छिमेकी भएको तर सीले आलेखमा चीन–नेपाल एकअर्कालाई सहयोग गर्ने असल दाजुभाइ हुन् भनी उल्लेख गरेकोमा लेखकले त्यसलाई असान्दर्भिक भनेका छन् । निश्चय नै राष्ट्रहरूको सम्बन्ध समानताको आधारमा सञ्चालन हुन्छ र हुनुपर्छ न कि दाजुभाइको जस्तो ठूलो र सानो !
किताबको अर्को रोचक अध्याय चीनको बहुचर्चित बीआरआई परियोजनामा केन्द्रित छ । ‘नागरिकले थाहा नपाएको बीआरआई’ शीर्षक अन्तर्गत गुपचुप सम्झौता र नौ परियोजना, विदेशको अनुभव र पाठ, बीआरआई के हो र नेपालको आगामी यात्रा जस्ता उप–शीर्षकमा बीआरआई बारे बृहत् चर्चा गरिएको छ । यो अध्यायमा पोखरा विमानस्थल बीआरआई परियोजना नभएको तर चिनियाँ दूतावासका प्रवक्ताले भ्रमपूर्ण ट्वीट गरेको प्रसंग पनि छुटेको छैन । अमेरिकी सहायता परियोजना एमसीसीमा जस्तो बीआरआईको विषयमा राजनीतिक दल र संसद्मा छलफल नभएकोमा किताबमा कठोर टिप्पणी गरिएको छ । बीआरआईको माध्यमबाट चीनको कर्जाको भारी बोक्न बाध्य देशहरूको गम्भीर हालतलाई किताबमा तथ्य–तथ्यांक सहित स्पष्ट पारिएको छ ।
एमसीसीको सन्दर्भमा नेपालीजनको मानसिकतामाथि नकारात्मक प्रभाव पार्न चिनियाँ मिडियाले गरेको प्रयासलाई दृष्टान्त सहित किताबमा व्याख्या गरिएको छ । तर एमसीसी असफल पार्ने चीनको प्रयास सफल हुन नसकेको निचोड किताबमा प्रस्तुत गरिएको छ ।
दुई छिमेकीसँग नेपालको सीमा विवाद र गोप्य प्रतिवेदन बारे अलग अध्याय छ भने सगरमाथा सरोकार शीर्षकमा सगरमाथा बारे अलग्गै चर्चा गरिएको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त भिडियो सम्मेलन गरेर सगरमाथाको संयुक्त उचाइ घोषणा गरेको विषयलाई लेखकले प्रश्न गरेका छन् । ८ डिसेम्बर २०२० मा संसारको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर कायम भएको घोषणा गरिएको थियो । नेपाली भूमिमा रहेको सगरमाथाको उचाइ घोषणामा चीनलाई किन सहभागी गराइयो भन्ने लेखकको प्रश्नको जवाफ अझै पनि अनुत्तरित नै छ ।
सीपीसीको नेपाल नाता सम्बन्धी अध्यायमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपालका कम्युनिष्ट पार्टीहरूबीच विकसित सम्बन्धलाई केलाइएको छ । यस अध्यायमा सी विचारधाराको प्रशिक्षण, नेपाल र चीनको सम्बन्ध (चाइनिज ब्रदर), एमसीसीमा चिनियाँ असन्तुष्टि लगायत कतिपय विषय दोहोरिएका पनि छन् भने केही विषय विस्तारमा लेखिएको छ । त्यसैगरी किताबमा अन्तरसंसदीय सम्झौताको अर्थ खोज्ने प्रयास गरिएको छ । चीनको नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली चान्सुले प्रतिनिधिसभाका तत्कालीन सभामुख अग्नि सापकोटाको निमन्त्रणामा १२–१५ सेप्टेम्बर २०२२ मा नेपालको चारदिने भ्रमण गरेका थिए । त्यतिबेला दुई देशका संसद् प्रमुखले ६ बुँदे लिखित सम्झौता गरे । त्यो सम्झौतालाई लेखकले गम्भीर प्रकृतिको सम्झौता भनेका छन् । दुई देशका सदनबीच शासन सञ्चालन सम्बन्धी अभ्यास बारे जानकारी आदान–प्रदान गर्ने दुई सभामुखबीचको सहमतिलाई लेखकले गम्भीर भनेका छन् । चीनको सुरक्षा रणनीति दि ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा नेपाललाई सहभागी हुन चीनले दिएको दबाबलाई किताबमा सप्रसंग व्याख्या गरिएको छ । जीएसआईलाई सैन्य रणनीतिको हिस्सा भएको विश्लेषण गरिएको छ भने त्यसमा नेपाल सहभागी हुन नहुने तर्क गरिएको छ ।
पुस्तकको आखिरी अध्याय मिडिया र पत्रकारितासँग सम्बन्धित छ । ‘सीएमजी, मिडिया र पत्रकार’ शीर्षकको अन्तिम अध्यायमा नेपालमा चाइना मिडिया ग्रुप (सीएमजी) को सक्रियता बारे विस्तृत विवरण दिइएको छ । नेपाल कसरी सीएमजीको अंग बनेको छ भन्ने बारे उदाहरण सहित यस अध्यायमा चर्चा गरिएको छ । नेपाली मिडियाको माध्यमबाट चीनको प्रभाव विस्तार गरिएको लेखकको बुझाइ पनि यस अध्यायमा प्रकट भएको देखिन्छ । सीएमजी मार्फत नेपाली मिडियामा भएको लगानी र नेपालमा सीएमजीका मिडिया साझेदार बारे विभिन्न उप–शीर्षकमा व्याख्या गरिएको छ ।
समग्रमा भूराजनीतिको भार मार्फत लेखक विश्वकर्माले नयाँ संविधान जारी भएपछि शक्तिराष्ट्रहरू मुख्यगरी चीन, भारत र अमेरिकाका प्रमुख स्वार्थ र एजेण्डा कसरी नेपाल छिरे र नेपाल कहाँ उभियो भन्ने बारे विभिन्न कोणबाट तथ्यपरक विश्लेषण गरेका छन् । लेखकले नेपालमा देखापरेका पछिल्ला भूराजनीतिक मुद्दा, जटिलता र नेपालको भूमिकालाई आम नागरिकले बुझ्ने भाषामा भूराजनीतिको भार मा प्रस्तुत गरेका छन् । नेपाली भूमिमा भारत, चीन र अमेरिकाको स्वार्थ र चासोलाई लेखकले प्राथमिकताका साथ उठान गरेका छन् । राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिमा चासो राख्ने जो–कोहीका लागि भूराजनीतिको भार रुचिकर र संग्रहणीय छ ।
000