यी हुन् अनुसन्धान नटुंगिएका दर्जन बढी बलात्कार र हत्या घटना

दियो पोस्ट  

काठमाडौं, पुस १७ । गम्भीर प्रकृतिका अपराधमा संलग्न अपराधीलाई तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने भएपनि कतिपय घटनामा भने प्रहरी अनुसन्धानमै जेलिएको छ । घटना भएको वर्षौं भइसक्दा पनि घटनाबारे जानकारी लिन खोज्दा जवाफ आउँछ ‘अनुसन्धान जारी’ छ ।

दाङको घोराहीस्थित गोर्खा बोर्डिङ स्कुलका दुई शिक्षकको हत्या भएको १३ वर्ष बितिसक्यो। प्रहरी अनुसन्धान थालेको पनि १३ वर्ष नै भयो। तर अझै अपराधी पत्ता लाग्न सकेको छैन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको जनाएको छ।

स्कुलका लेखापाल दामोदर धामी र छात्रावास सुपरीवेक्षक तथा शिक्षक कृष्ण जीएमको २०६२ कात्तिक ४ गते राति सुतेका बेला छात्रावासमै हत्या भएको थियो। उनीहरूलाई खुकुरी प्रहारगरी हत्या गरिएको थियो। तत्काल केही विद्यार्थी र छात्रावासमा काम गर्ने महिलालाई पक्राउ गरियो तर केही तथ्य भेटिएन। र, हत्या रहस्यमय बन्दै गयो।

यस्तै फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको गत भदौ ४ गते थापाथलीस्थित आफ्नै निवासमा चक्कु प्रहार गरी हत्या गरियो। ८० वर्षीय झाको हत्यालगत्तैमहानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थाल्यो। घटनाको पाँच महिना वितिसक्दा पनि प्रहरी झा हत्याको कारणबारे निष्कर्षमा पुग्न सकेको छैन ।

महाशाखाले झाको घरमा काम गर्ने माली, भान्से र सुरक्षागार्डलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरूबाट घटनाबारे ठोस सूचना पाउन सकेको छैन । घटनाको अनुसन्धान जारीरहेको प्रहरी बताउँछ।
पछिल्लो समय देशैभरी हत्या, बलात्कार लगायतका आपराधिक घटना बढेको प्रहरीले १ महिनाअघि सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। तथ्यांकलाई हेर्ने हो भने हत्या र बलात्कारका घटना महिनैपिच्छे बढ्दो छ। यस्ता गम्भीर प्रकृतिका अपराधमा संलग्न अपराधीलाई तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने भएपनि कतिपय घटनामा भने प्रहरी अनुसन्धानमै जेलिएको छ। घटना भएको वर्षौं भइसक्दा पनि प्रहरीले घटनाबारे जानकारी लिन खोज्दा ‘अनुसन्धान जारी’ भन्ने गरेको छ।

यी हुन् अनुसन्धानमै सिमित अपराधका केही घटना:

निर्मला पन्त प्रकरण
सोमबार निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय ५८ औं दिन भयो। प्रहरीले अपराधी पत्ता लगाउन अझै सकेको छैन। पन्तको बलात्कारपछि हत्या घटनाकोअनुसन्धानमा खटिएका एसपी र इन्स्पेक्टरको बर्खास्ती तथा १८ जनामाथि विभागीय कारबाही सिफारिस गरेपनि एउटा प्रश्न जीवितै छ- आखिर को हुन् घटनाका मुख्य अभियुक्त?

निर्मला पन्त प्रकरणको एउटा पाटो अनुसन्धानमा गरिएको लापरवाहीका दोषीहरु कारवाहीमा परे पनि र अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने पाटामा प्रहरीले सफलता हासिल गर्न सकेको छैन।
थप…

भोजपुरको तीन बालबालिका हत्या प्रकरण: अझै टुङ्गिएन अनुसन्धान

भोजपुर जिल्लाको पूर्वी अरुण गाउँपालिका ३ का तीन बालबालिकाको सामूहिक हत्या भएको एक वर्षभन्दा बढी बितेपनि अनुसन्धान अझै टुगिंएको छैन। स्थानीय रविन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जिव सापकोटा र चेतनाथ फुयालका छोरी र छोरा १३ वर्षीय सुष्मा र ८ बर्षीय प्रदीपको स्थानीय तह निर्वाचनताका शंकास्पद हत्या भएको थियो।

घटना भएका दिनदेखि जिल्ला प्रहरी कार्यालय भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो बिराटनगरको निरन्तर अनुसन्धान सफल नभएपछि केन्द्रीय अनुसन्धान ब्युरोबाटसमेत टोली खटिएको थियो। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। २०७४ असार १० गते साँझ अचानक हराएका ती बालबालिका असार १२ गते स्थानीय तोरन कार्कीको माछा पोखरीमा मृत फेला परेका थिए।
थप…

कपिलवस्तुकी शिवरानी बलात्कारपछि हत्या : सात वर्षमा पनि न्याय पाइएन

कपिलवस्तु वाणगंगा नगरपालिका-६, बैदौलीकी पहिया थारूकी १४ वर्षीया छोरीको हत्या भएको सात वर्षभन्दा बढी भयो। तर प्रहरीले अहिलेसम्म अपराधीलाई पक्राउ गर्न सकेकोछैन। पहियाकी १४ वर्षीया छोरी शिवरानी गाउँ नजिकै आयोजित साँस्कृतिक कार्यक्रम हेर्न गएकी थिइन्। तर, रातिसम्म उनी फर्किनन्। परिवारले बिहानसम्म बाटो हेरे।

दोस्रो दिन छोरीको शव फेला पर्‍यो। परिवारमाथि बज्रपात खस्यो। उनको ०६८ असोज १३ गते राति हत्या भएको खुल्यो। अर्को दिन बिहान वाणगंगा सिंचाइ आयोजनाको नहरमा शव फेला परेको थियो। शिवरानी स्थानीय महेन्द्र उमावि कोपवामा ७ कक्षामा पढ्थिन्। प्रहरी यस घटनामा पनि जवाफ दिन्छ- ‘अनुसन्धान जारी छ।’
थप…

खुर्सिद हत्या प्रकरण
सुनसरीको हरिनगर गाउँपालिका-२ भुटाहा बजारमा अज्ञात बन्दुकधारीबाट मौलाना खुर्सिद अन्सारीको हत्या भयो। मौलाना अन्सारीलाई अज्ञात समूहले असोज ४ गते बिहान ११बजे भूटाहाको व्यस्त बजारमा गोली प्रहार गरी हत्या गरेका थिए। नम्बर प्लेट नखुलेको दुई वटा मोटरसाइकलमा आएका हतियारधारीले उनको कञ्चट र बायाँ कोखा गोली प्रहार गरेकाथिए।

मौलाना अन्सारीको हत्या किन र कस्ले गर्‍यो भन्ने अनुमानसम्म प्रहरीले गर्न सकेको छैन। खुर्सिद स्थानीयस्तरमा समाजसेवी, विद्यालय सञ्चालक, मुस्लिम सामाजिक संस्था दावत एइस्लामका केन्द्रीय उपाध्यक्ष र नेकपाका जिल्ला सल्लाहकारका रुपमा चिनिएका थिए।
थप…

खुर्सिद हत्याकै शैलीमा हुसेनको हत्या

यही मंसिर ५ गते बुधबार बिहान अज्ञात समूहले सुनसरीको दुहबीमा स्थानीय जय बाबा इँटा उद्योगका ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या गरे। दुहबीनगरपालिका–९ घर भएका हुसेन बिहान हिँड्न निस्केका बेला उनलाई पछाडिबाट मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए। घाइते हुसेनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

घटनापछि सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले घटना भए लगत्तै प्रहरीले अनुसन्धान थालेको र घटनाको कारण खुल्न नसकेको बताएका थिए। कसले, किन गोली हानेकोबारे केही खुल्न नसकेको र घटनाको प्रहरीले गम्भीरता पूर्वक अनुसन्धान गरिरहेको उनले सुनाए।
थप…

पूर्व प्रदेशसभा उमेद्वारको हत्या
कपिलवस्तुको शुद्धोधन गाँउपालिका–४ मोतीभारीका ३० वर्षीय दिपेन्द्रकुमार चौधरी (राजा बाबु) को गत मंसिर ७ गते शुक्रबार गोली प्रहार गरि हत्या गरियो। घर नजिकै राति ९ बजेउनलाई बाटोमा गोली प्रहार गरिएको थियो। उनको टाउकोमा ४ राउण्ड र कोखमा एक राउण्ड गोली प्रहार गरिएको थियो। घटना भएको एक महिना बितिसके पनि अपराधी अझै पत्तालागेको छैन।
थप…

युवक हत्या पनि रहस्यमय बन्दै

कात्तिक दोस्रो साता हिले बजारमा भएको युवक हत्याको घटनामा संलग्न अझै पत्ता लाग्न नसक्दा घटना रहस्यमय बनेको छ । दसैंतिहारको अवसरमा लाग्ने मेला सञ्चालन गर्नगएका ३८ वर्षीय रामबहादुर चौधरीको मेलास्थलमा सुतिरहेको अवस्थामा कात्तिक १६ राति हत्या भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा हालसम्म ८० जनालाई सोधपुछ गरिसकेको छ। तैपनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन।
थप…

सुन तस्करी : पत्तै लाग्दैनन् गिरोहका नाइके

चीनबाट नेपाल हुँदै तेस्रो मुलुकमा पुर्‍याइने सुनको खास मालिक को हुन्? कसले सुन तस्करी गरिरहेका छन् भन्नेबारे पनि प्रहरी अनुसन्धान फिका बन्ने गरेको छ। चाहे त्यो १ किलो सुन काण्ड होस् या ५ किलो। चाहे त्यो ३३ किलो होस् कि ३८ किलो नै किन नहोस्। सुन तस्करीका मालिक को हुन्? को को यसमा संलग्न छन्? भन्नेबारे प्रहरीले अनुसन्धानमै लामो समय बिताउने गरेको छ।

प्रहरीका अनुसार केरुङको सीमापारि चिनियाँ व्यापारी सुन बोकेर भरियाको खोजीमा बस्छन् । ‘वी च्याट’मार्फत सम्पर्कमा आउनेलाई उनीहरू सुन दिएर पठाउँछन् । काठमाडौं पुगेपछिमात्रै उनीहरू भरियालाई उक्त सुन कहाँ पुर्‍याउने हो भन्ने खुलाउँछन् । भरियाले बोकेको सुन कसको हो र कसलाई पुर्‍याउन लागिएको हो भन्ने खुल्दैन । एक प्रहरीका अनुसार वीच्याटमार्फत सम्पर्क हुने र धेरै लेयरमा काम हुने भएकाले असली मालिक पत्ता लगाउन कठिन छ।
थप…

जलेर परिवारका ४ को मृत्यु : घटना अझै रहस्यमय

झापा शिवसताक्षी नगरपालिका-७, लालझोडामा गत मंसिर ९ गते आइतबार राति आगलागीमा परी परिवारका चार जनाको मृत्यु भएको घटना ‘रहस्यमय’ बनेको छ ।आगो लाग्नुको कारण खुल्न नसक्दा घटना शंकास्पद बनेको आफन्तको दाबी छ ।

घटना भएको एक महिना वित्दा समेत प्रहरी अनुसन्धानमै अड्किएको छ। आइतबार राति १० बजेपछि आगलागी हुँदा ३४ वर्षीय लक्ष्मण खनाल, उनकी पत्नी २९ वर्षीया राधिका, छोरी४ वर्षीया चन्द्रा र ५ महिनाका छोरा टीकारामको जलेर मृत्यु भएको थियो ।
थप…

बैंक प्रबन्धकको रहस्यमय मृत्यु
नेपाल बैंक लिमिटेड बर्दिया शाखाका प्रबन्धक प्रमोद बर्मा साउन २३ गते बाँकेको अगैयास्थित जंगलमा रुखमा झुण्डिएको अवस्थामा भेटिए। बर्माको आत्महत्या नभई हत्याभएको दाबी गर्दै श्रीमती पार्वती बस्नेतले निष्पक्ष अनुसन्धान गरी दोषिमाथि कारबाहीको माग गरिन्।

शवको प्रकृति हेर्दा र शरिरभरी निलडाम रहेकाले प्रमोदको हत्या नै भएको उनले दाबी गरिन्। यसैबीच प्रहरीले पीडितको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि बैंकका कर्मचारी बिन्दु ज्ञवाली र उनकी साथी आश्मा खड्कालाई नियन्त्रणमा लिएको जनायो।

तर उनीहरुसँग दसीप्रमाण नहुँदा यो घटना अझै रहस्यमय नै बनेको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ।
थप…

स्कुलमै विद्यार्थीको मृत्यु ‘रहस्यमय’
सामाखुसीको रानीबारीस्थित नेपाल प्रहरी स्कुलमा कक्षा ८ मा अध्ययरत कुन्दन थापाको स्कुलकै परिसरमा गत चैत १६ मा रहस्यमय रूपमा मृत्यु भयो। मृत्यु भएको १०महिना बितिसक्दा समेत के कारणले घटना भयो थाहा हुन नसकेको पीडितका आफन्तले बताएका छन्।

नवलपरासी घर भई टोखा नगरपालिका–१३ बस्ने कुन्दनको स्कुल परिसरभित्र सार्वजनिक बिदाको दिन चैत १६ मा मृत्यु भएको थियो। घटनाको छानविन गर्न चैत १७ मा नेपालप्रहरीले महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। प्रहरीले छानबिन रिपोर्ट हालसम्म सार्वजनिक गरेको छैन।
थप…

रहस्यमय बन्दै रीता हत्याकाण्ड
खोटाङ लिच्कीराम्चे-८ की १७ वर्षीया रीता तामाङ हत्या रहस्यमय बन्दै गएको छ। दुईवर्षअघि उनी बिते पनि प्रहरीले दोषी पत्ता लगाउन अहिलेसम्म नसक्दा रहस्यमयभएको हो।

२०७३ साल माघ २६ गते सिम्पानीस्थित कुशेऔंसी जंगलमा मृत भेटिएकी रीताको हत्यारा प्रहरीले पत्ता लगाउन नसकेपछि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन गरी थप अनुसन्धानका लागि पूर्वाञ्चल प्रहरी विशेष टोलीलाई अनुरोध गरेपछिनि उसले काम बढाए पनि दोषी पत्ता लागेको छैन।

खोटाङ प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरे पनि दोषी साबित हुन सकेन। खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले दोषी पत्ता लगाउन नसकेको स्वीकार्दै पूर्वाञ्चल प्रहरी विशेष टोलीले अनुसन्धान गरिरहेको बताएका थिए। रीता सिम्पानीस्थित शिव खड्काको होटलमा काम गर्थिन्।
थप…

नेकपाकी सांसद निरु पाललाई बन्दुक देखाएर लुटिएको काण्ड

प्रहरीले गम्भीरताका साथ गरेको भनिए पनि निष्कर्षमा पुग्न नसकेको अर्को अनुसन्धान हो– नेकपाकी सांसद निरु पाललाई बन्दुक देखाएर लुटिएको भनिएको घटना । साउन १५ गतेराति ८ बजे बानेश्वरस्थित निवासबाट दूध किन्न निस्केका बेला पाललाई अज्ञात बन्दुकधारीले पेस्तोल देखाएर धम्काएको र मोबाइल लुटेको घटना सार्वजनिक भएको थियो । त्यसबेलाप्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे संसदीय सुनवाइ समितिमा छलफल चलिरहेको थियो ।

छलफल चलिरहेकै बेला समितिकी सदस्यलाई बन्दुक देखाइएको भन्दै प्रहरी प्रधान कार्यालयले समितिका सबै सदस्यको सुरक्षामा प्रहरी खटायो । घटनाको भोलिपल्टै तत्कालीन प्रहरीपरिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोख्रेल पालको घर पुगेका थिए ।

प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धानमा ८० जना सादा पोसाकका प्रहरी खटिएको थियो । प्रहरीले भोलिपल्टै बानेश्वर क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेकोथियो । एक साताभित्रै परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा घटनाबारे विस्तृत छानबिन गर्न समिति गठन गरियो ।

समितिका प्रमुख एसपी जोशीले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए । तर अनुसन्धान कहाँ पुग्यो र के प्रगति भयो भन्नेबारे उनले बताउन चाहेनन् । उनले कान्तिपुरसँग भनेका थिए, ‘अनुसन्धान जारी छ । निष्कर्षमा पुगेको छैन ।’
थप…

दाङका यी रहस्यमय घटना

२०६१ वैशाख ९ गते राति दाङको नारायणपुर-१ डोक्रेनाका आमा र छोराछोरीसहित तीनको हत्या भयो। छिमेकीको घरबाट टीभी हेरेर राति ९ बजे घर फर्किएका तीनैजना बिहान मृत भेटिएका थिए। आमा वसन्ता खनालका साथै नौ वर्षीया छोरी पुष्पा र अढाइ वर्षे छोरा नवीनको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो। श्रीमान् यादव आठ महिनादेखि भारतको गोवामा थिए। घरका सम्पूर्ण परिवारको हत्या हुँदा पनि उनी घर फर्केनन्। उनीमाथि शंका गरिए पनि अहिलेसम्म दोषी फेला परेको छैन।

२०६१ असार १९ गते राति मानपुर ६ रावतगाउँका दुई बालबालिकालाई जिउँदै घरमा जलाइएको थियो। केशव खत्रीले घरमा आगो लगाएर पत्नी लीलावती, आठ वर्षीया छोरी सुशीला र

पाँच वर्षे छोरा यादवलाई थुनिदिएको आशंका गरिएको थियो। लीलावती भागेर बचिन् भने बच्चाहरू जले। उक्त घटनाका दोषी पनि हालसम्म पक्राउ पर्न सकेका छैनन्।

घोराही ११ भरतपुरका शिक्षक श्रीहर्ष सुवेदीलाई ०६० कात्तिक २५ गते घोराही १ कपासीबगियामा २३ गोली हानेर हत्या गरियो। दीपेन्द्र मावि मानपुरमा कार्यरत सुवेदीलाई हत्या गरी

अपराधीहरू उनकै मोटरसाइकलमा भागेका थिए। पत्नी सरितालाई अझै पनि अपराधी भेटिन्छन् कि भन्ने आशा लागिरहेको छ। उनी पटक–पटक प्रशासनमा धाइन् तर अहिलेसम्मगम्भीर अनुसन्धान भएको छैन।

२०५८ असार २५ मा महेन्द्र बहुमुखी क्याम्पस भरतपुरका उपप्राध्यापक नारायण सल्यानीलाई अंगविच्छेद गरी फालियो। द्वन्द्वकाल भए पनि घटनाको कसैले पनि जिम्मेवारी लिएन।

अहिलेसम्म पनि घटना रहस्यमय छ। पत्नी गंगा शर्माले दोषी पत्ता लाग्नेमा लामो समयसम्म आश गरिन् तर अनुसन्धानमा कतै केही प्रक्रिया चालिएको उनले थाहा पाइनन्।

रहस्यमय घटनाको पछिल्लो शृंखलाका रूपमा तुलसीपुर एफएम सञ्चालक समिति अध्यक्ष देवीप्रसाद धिताल ‘हेमराज’ को हत्या बन्यो। निकै चर्चा पाएको यो घटनाले उच्च प्रहरीअधिकृतको समेत ध्यान खिच्यो तर तथ्य फेला पर्न सकेन। जिल्ला प्रहरीका तत्कालीन डीएसपी लक्ष्मण गिरीको नेतृत्वमा अनुसन्धान टोली गठन भयो। टोलीले हत्याबारे जानकारीदिनेलाई ५० हजार पुरस्कारको घोषणा पनि गर्‍यो तर उपलब्धि केही भएन। अपराधबारे तथ्य फेला नपरेर पुरस्कारको घोषणा गरिएको यो जिल्लाकै पहिलो घटना थियो।

धितालको २०६७ साउन ६ गते राप्ती राजमार्ग अन्तर्गत उरहरीको हेमनगरमा गोली हानी हत्या भएको थियो। मानिसको चहलपहल भइरहेको र नियमित गाडी चल्ने सडकमा हत्याभएको घटनामा अहिलेसम्म दोषी पत्ता नलाग्नु शंकास्पद भएको पत्नी मञ्जुले बताइन्। ‘दोषी पत्ता लगाउन कसैले पनि गम्भीरता देखाएको छैन। दिउँसै सडकमा भएको घटनामाहत्यारा पत्ता नलाग्नु रहस्यमय हो,’ उनले भनिन्, ‘दोषी पत्ता लगाइदिन धेरै अनुरोध गर्‍यौं तर अहिलेसम्म केही उपलब्धि भएन।’ कान्तिपुर दैनिकबाट

TATA ADD

सिफारिस