काठमाडौँ, पुष १९ । वि.स २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा एक बालकसहित ८ जनाको हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चोधरीलाई सिंहदरबार पुर्याई प्रतिनिधि सभा सांसद पदको सपथ खुवाइएको छ ।
कृषि समितिको हलमा भएको सपथ ग्रहण कार्यक्रममा सभामुख कृष्ण बहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाइएको हो । उनले थारु भाषामा सपथ लिएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरु लगायत नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि उपस्थित थिए । सपथ ग्रहण गराइसकेपछि चौधरीलाई पुन सदरखोर डिल्लीबजारमा लगि थुनामा राखिने छ ।
राजपाको मागअनुसार रेशम चौधरीलाई सपथ खुवाइएको हो । सरकारलाई दिएको समर्थनबाट फिर्ता हुने चेतावनी दिएपछि सरकारले रेशम चौधरीलाई सपथ खुवाएको हो । सदरखोर डिल्लीबजारमा थुनामा रहेका चौधरीलाई विहीबार नै सिंहदरबार ल्याइएको हो ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो । सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार भएका थिए । भारतका विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए ।
२०७४ फागुन १४ गते अदालतमा हाजिर भएका उनलाई पूर्पक्षका लागि थुनामा राखिएको थियो । थुनामा रहेका उनी त्यही अनसन शुरु गरेका थिए । अनसनमा अस्वस्थ्य भएपछि २०७४ फागुन २३ गते बुद्ध एयरबाट काठमाडौ ल्याइएको थियो ।
काठमाडौमा उनको उपचार वीर अस्पतालमा भइरहेको थियो । उनले त्यहाँ पनि अनसन शुरु गरेका थिए । राजपा नेपालको दवाव पछि चाँडै शपथग्रहण गराउने भन्दै प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गृहमन्त्री रामबहादुर थापाले उनलाई जुस खुवाएर अनसन तोडाएका थिए ।
चौधरीले अनसन तोडेपछि शपथग्रहणमा ढिलाई भइरहेको थियो । ढिलाईका भएको भन्दै राजपा नेपालले पटक पटक प्रधानमन्त्री ओलीलाई दवाव दिँदै आएको थियो । सोही दवावका कारण प्रधानमन्त्री ओली उनलाई सपथ खुवाउन तयार भएका हुन् ।