सशस्त्रका सिपाही र हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा

दियो पोस्ट  

काठमाडौं, पुस २१ । रासनबापत नगद नै दिन थालेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय बिदामा पठाएर रासनभत्ता हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छानबिनमा खुलेको छ ।

रासन हिनामिना गरेको खुलेपछि दुई गुल्मपतिलाई कारबाही भएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । मुस्ताङको गुल्ममा कार्यरत डिएसपी हरिबहादुर गुरुङ र खोटाङको गणमा कार्यरत डिएसपी धनबहादुर बानियाँमाथि कारबाही चलाइएको उनले बताए । दुवैलाई गुल्म/गणपतिबाट हटाएर विभागीय कारबाही गरिएको हो । रासनभत्तामा अनियमितताको उजुरी बढेपछि प्रहरी प्रधान कार्यालयले विशेष टिम नै बनाएर बाहिनी, गण, गुल्म तथा बोर्डर आउटपोस्ट (बिओपी)का प्रमुखमाथि कारबाही थालेको हो ।

सशस्त्रको उजुरी छानबिन शाखामा अन्य गण तथा गुल्मबाट समेत रासनमा अनियमिततासम्बन्धी उजुरी बढेका छन् । प्रधान कार्यालयले कारबाही नै गर्न थालेपछि उजुरी बढेका हुन् । ‘हामीले यसका लागि मनिटरिङ सेल नै गठन गरेका छौँ,’ डिआइजी श्रेष्ठले भने, ‘रासन अनियमितताविरुद्ध कडाइका साथ कारबाही सुरु भएको छ ।’

देशभरका कार्यालयमा छड्के सुरु
रासनमा हुने अनियमितता रोक्न हरेक बाहिनी, गण तथा गुल्मले बिदामा रहेका र ड्युटीमा रहेका प्रहरी कर्मचारीको विवरण दैनिक रूपमा प्रहरी प्रधान कार्यालयमा टिपाउनुपर्ने भएको छ । त्यसका साथै आकस्मिक निरीक्षणहरू बढाइएको डिआइजी श्रेष्ठले बताए । ‘एसएसपी वा सोभन्दा माथिका प्रहरी अधिकारीले आफू पुगेको क्षेत्रमा आकस्मिक रूपमा छड्के गर्न पाउँछन्,’ उनले भने, ‘यसले रासनलगायत विषयमा रहेको विकृति कम हुने हाम्रो अपेक्षा छ ।’ प्रहरी प्रधान कार्यालयले पनि गोप्य टिमहरू देशभरका कार्यालयमा पठाएर आकस्मिक अनुगमन थालेको छ । अनुगमनका क्रममा अनावश्यक रूपमा धेरै बिदा दिने इन्चार्जमाथि कारबाही थालेको छ ।

कसरी हुन्छ अनियमितता ?
सशस्त्र प्रहरी ‘रिजर्भ फोर्स’ भएकाले दैनिक ड्युटीमा खटिनुपर्दैन । यही कारण कार्यालय प्रमुखले धेरै प्रहरीलाई एकैपटक बिदा दिने गर्छन् । कतिपय कार्यालयमा सिपाही÷हवल्दारलाई एक महिनासम्म समेत बिदा दिने गरिन्छ । कतिपय गणले एकैपटक सयभन्दा धेरैलाई बिदा दिन्छन् । तर, लामो समयसम्म बिदा बसेकाहरूको बिदा २–३ दिन मात्रै देखाएर अरू दिनको हाजिर गर्न लगाउँछन् । सो समयको रासनभत्ता भने लेखापाल र कार्यालय प्रमुख मिलेर अनियमितता गर्छन् । कतिपय प्रहरीले लामो बिदा बस्न पाएपछि सो अवधिको रासनभत्ता नपाए पनि चासो दिँदैनन् । एक प्रहरीले दिनमा औसतमा करिब एक सय ७५ रुपैयाँ रासनभत्ता पाउँछन् ।

०७१ देखि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई रासनको पैसा नगदमै दिन थालिएको छ । तलबसँगै बैंक खातामा रासनभत्ता दिइन्छ । तर, सशस्त्र प्रहरी ब्यारेक सिस्टममै बस्ने भएकाले भत्ता उठाएर मेस चलाउँछ । मेसको रकम सुरुमै एकमुष्ट तिर्नुपर्छ । मेस सञ्चालनको क्रममा तोकेअनुसार खाना नदिने तथा बिदाका नाममा अनियमितता हुने गरेका उजुरी मुख्यालयमा पर्ने गरेका छन् । नयाँपत्रिका दैनिकबाट

सम्बन्धित खबर