वाइडबडी प्रकरणमा देउवासामू नेकपा नेताका प्रश्नैप्रश्न, ‘वाइडबडीको डिल गर्ने को ?’

दियो पोस्ट  

टी‍पी शर्मा

काठमाडौं, पुष २२ । दुईवटा वाइडबडी खरिद प्रकरणमा चार अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको भन्दै नेपालको इतिहासमैं सबैभन्दा ठूलो अनियमितताको काण्डले देश तरंगित भएको छ । लेखा समितिले उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको मुख्ुय संलग्नता र पूर्व पर्यटनमन्त्रीद्धय जीवनबहादुर शाही र जितेन्द्र देवलाई नैतिकताको आधारमा कारवाहीको सिफारिस समितिले गरेपछि दलहरुमा तरंग छाएको छ ।

आफ्नै मन्त्रीलाई नै गम्भीर आरोप लागेपछि प्रधानमन्त्री केपी ओलीले उपसमिति सबैथोक होइन भन्दै अर्कै छानविन समिति गठन गरे । नेकपाका नेताहरु पनि यतिखेर रविन्द्र दोषी छैनन् । पूर्व मन्त्रीहरु दोषी रहेको भन्दै अन्तिम निर्णय नआउँदै आफ्ना नेतालाई बचाउन उद्यत देखिएका छन् । यही बेला नेकपामा नेता सूर्य थापाले कांग्रेस सभापति शेरबहादुर देउवासामू वाइडबडी घोटाला प्रकरणमा प्रश्नै प्रश्न उठाएका छन् ।

कांग्रेसले संस्थागत रुपमा वाइडबडीको विषयमा धारणा बाहिर ल्याएको छैन र तर, सभापति देउवाले उपसमितिको प्रतिवेदन नगरिसकेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । बरु उनले उपसमितिले एउटा प्रतिवेदन ल्याउँदै गर्दा सरकारले छानविन समिति गठन गरेर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै सन्देह व्यक्त गरेका छन् । केही ज्वलन्त प्रश्न भन्दै थापाले प्रश्न कांग्रेस र देउवामाथि यसरी उठाएका छन् ः

प्रमुख विपक्षी नेता शेरबहादुर देउवासामू तेर्सिएका केही ज्वलन्त प्रश्नहरू ः
१. संसदको रोष्ट्रमबाट वाइडबडी प्रकरणको छानविन गर्न यहाँले आफै माग गर्नुभयो, मन्त्री परिषदले न्यायिक छानविन आयोग गठन गरिसक्यो ।
अनि तपाईं नै भ्रष्ट्राचार ढाकछोप गर्न सरकारले आयोग बनाएको भाषण गर्न थाल्नुभयो, किन होला ?

२. तपाईले जीवनबहादुर शाहीलाई पर्यटन मन्त्रीबाट खानेपानी तथा सरसफाई मन्त्रीमा पठाएको झलझली सम्झिरहेको छु, किन थियो होला ? उहाँलाई पन्छाएर वाइडबडीको खास डिल गर्ने महोदय को थियो होला ?

३. अहिले तपाईकै पार्टीमा रहनुभएका तत्कालीन मन्त्रीहरूका पालामा वाइडबडी काण्डको खाल्डो खनिएको थियो । पछि त्यसमा को को हुस्सुहरू परे? को को पुरिन्छन् र उम्किन्छन ? हेर्दै जाऔंला, तर लहरो तान्दै जाँदा पहरो कतातिर गर्जिने छ ?बजारमा त व्यापक सनसनी छ । आफू काँक्रो खाएर बियाँ अरूको गालामा टाँस्ने प्रपञ्च गर्नतिर नलाग्ने हो कि ?

४. वाइडबडीको डिल गर्ने स्थानीय एजेन्ट को हो ? चिन्नुहुन्छ कि ? यहाँको …. राणासँग के साइनो सम्बन्ध खासमा के रहेको छ ? जनताले ने खोजिदिनुपर्ने हो कि ?

५. हवाई माफियामा को को सक्रिय र चलायमान छन ? बोइङ र एयरबसका यहाँ एजेन्ट को को छन् ? कुनकुन एयरलाइन्सका जहाज नेपालमा उडान भइरहेका छन् र तिनका जिएसए को को छन् र ती कसरी भएका थिए ? कुनकुन निजी हवाई कम्पनी र व्यक्ति वाइडबडी ल्याउनै नदिएर नेपाल एयरलाइन्सलाई जहाजबिहीन बनाउँदै धरासायी पार्न उद्दत थिए र छन् ? खासमा यसो गरेर मात्रै तिनले कल्पित मुनाफा आर्जन गरिरहन सक्छन भन्ने बुझेरै गरेका छैनन् र ?

६. सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदनमा तथ्य तोडमरोड गरेर मुख्य जवाफदेही व्यक्तिहरूलाई ढाकछोप गर्ने तथा कम जवाफदेही वा बाध्य र निर्दोष व्यक्तिलाई डामेर बदनाम गर्ने चलखेलको मुख्य शिखण्डी खोजी गर्ने हो कि ?

७. नेपाल एयरलाइन्सलाई माफियामुक्त गरेर राष्ट्रिय ध्वजाबाहकका रूपमा संसारभर संचालन गर्न साच्चै तयार हुनुहुन्छ ?

८. यहाँलाई लाग्दैन– सुगत कंसाकारमाथि कानुनबमोजिम कारबाही चलाए पुग्छ १ अनि, किन यो बर्बर र असभ्य हर्कत त ?? उपसमितिले लेखासमितिमा प्रतिवेदन प्रस्तुत नगरी गैरजिम्मेवार ढंगले हल्लाखल्ला गरेको दुष्परिणाम यो होइन ? संयोजक राजेन्द्रकुमार केसीका गल्तीको जवाफदेही अन्ततः हुने को हो ?