कंसाकारपछि क–कसलाई दल्दैछ वैद्य माओवादीले कालोमोसो ?

Diyo post  

काठमाडौं, २३ पुस । विगतमा अराजक गतिविधि गर्ने दलको पहिचान बनाएको विप्लव माओवादीलाई यसपटक निम्छरो ठानिएको वैद्य माओवादीले माथ खुवाएको छ । सबैलाई आश्चर्यमा पार्दै यो पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले वाइडबडी खरिद प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा गएर कालोमोसो दलिदिएका छन् । कालोमोसो प्रकरणले सामाजिक सञ्जाल तातिरहेका बेला यो संगठनको सिकार को–को बन्दै छन् भन्ने जिज्ञासा उब्जिएको छ ।

सोमबारको साँघु साप्ताहिकमा खबर छ– स्रोतका अनुसार, वैद्यनिकट युवा संगठनको कालोसूचीमा कंसाकार मात्र नभएर दर्जनौं भ्रष्टाचारीहरु चढेका छन् । वाइडबडी जहाज प्रकरणसँगै जोडिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी तथा पूर्वमन्त्री जीवनबहादुर शाही पनि हटलिस्टको अगंपंक्तिमा छन् । सुरक्षाका कारण उनीहरु यो संगठनको निशानामा पर्नबाट जोगिँदै आए पनि कुनै पनि बेला उनीहरुमाथि समेत कालोमोसो दलिने खतरा छ ।

फोरमको कोटाबाट विगतमा मन्त्री बनेका र हाल कांग्रेसी बनिसकेका जीतेन्द्र देवलाई पनि वैद्यको युवा संगठनले भेट्नेबित्तिकै कालोमोसो दल्न टोली परिचालन गरेको छ । वाइडबडी खरिद प्रकरणमा जोडिएका हालका गृह सचिव प्रेमकुमार राईसँग पनि युवा लिग आक्रोसित छ ।

सिंहदरबारभित्र आएर राईमाथि कालोमोसो दल्ने ल्याकत यो संगठनसँग नभए पनि बाटो ढुकेर बसेका युवा लिगका कार्यकर्ताले जुनसुकै बेला उनलाई निशानामा पार्न सक्ने खतरा छ । वैद्यको युवा लिगका संयोजक अमिर रञ्जितले साँघुसँगको कुराकानीमा वाइडबडी प्रकरणसँग जोडिएका सबै आफ्नो संगठनको कारबाही सूचीमा चढेको बताए । कालोमोसो दल्ने सूचीमा चढे पनि उपयुक्त अवसर नजुरेकाले उनीहरु छुटेको उनको भनाइ छ ।

सम्बन्धित खबर