काठमाडौं, २३ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई थाहै नदिई उनको मन्त्रालय अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुको अध्यक्ष नियुक्ती गरेको छ । उद्योग मन्त्रालयले प्रस्ताव नै नलगी २०७५ पुस ६ गते को मन्त्रिपरिषद बैठकले नन्दकिशोर बस्नेतलाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरी नियुक्ति दिनु भनेर निर्णय गरेको हो ।
विगतमा संस्थान निर्देशन बोर्डले खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्ती गर्दै आएको त्यसलाई कोमामा पुर्याइयो । बोर्डबाट सबै अधिकार झिकेपछि अहिले पनि सामान्य सुचना निकालेर प्रतिस्पर्धा गराई सरकारी संस्थानहरुमा नियुक्ती प्रक्रिया पुरा गरिन्छ । तर औद्योगिक क्षेत्र व्यवस्थापन लि.को अध्यक्ष नियुक्तीमा यी कुनै प्रक्रिया त पुरा गरिएन नै। तालकु उद्योग मन्त्रालयलाई समेत थाहा नदिई अपारदर्शी रुपमा गरिएको छ ।
सोमबारको साँघु साप्ताहिकमा खबर छ–मन्त्रिपरिषद बैठकबाट योग्यता सम्बन्धि कार्यविधि नै संशोधन गरी उनलाई ठाडो नियुक्ती गर्न निर्णय गरेको एक साथापति मात्रै मन्त्री मातृका यादवले बस्तेनलाई अध्यक्ष बनाउने निर्णय भएको थाहा पाएका थिए ।
त्यो पनि बस्नेतले नै नियुक्तीको निर्णयको कपी लिएर मन्त्रालयमा बोधार्थ बुझाउन गएपछि मात्र्र उनले थाहा पाएका हुन् ।
बस्नेत मन्त्रिपरिषदले कार्यविधि संशोधन गरी नियुक्ति दिने पत्र बोकेर अहिले दैनिक मन्त्रालयमा जाने गरेका छन् । मन्त्री यादवले आफ्नो मन्त्रालयमा भएको नियुक्तीका बारेमा थाहा नै नभएकाले कार्यविधि पनि संशोधान नगर्ने र नियुक्ति पनि नदिने अडान राख्दै आएका छन् ।
मन्त्री यादवले मेरो मन्त्रालय अन्तर्गतको निकायमा मलाई नसोधी कसरी नियुक्ती गरियो ? मलाई थाहा छैन । भन्दे आक्रोस प्रकट गरिरहेका छन् ।
सचिव यामकुमारी खतिवडाकोमा पुगेका बस्नेतलाई उनले पनि मन्त्रीसँगै कुरा मिलाउनुस् भनेर तर्किएकी छिन् । उद्योग मन्त्रीलाई बाईपास गरी सोझै प्रधानमन्त्री ओलीका सल्लाहाकार विष्णु रिमाललाई खुसी बनाएर उनी चोरबाटोबाट नियुक्तिपत्र लिने दाउमा छन् ।
मन्त्री यादवलाई चुनौती दिएर नियुक्ति निर्णय गराएका बस्नेत सशस्त्र प्रहरी बलमा सिपाहीबाट जागिरमा प्रवेश गरेका व्यक्ति हुन् । द्वन्द्वकालमा माओवादी प्रभावित क्षेत्रमा हेलिकोप्टरमा सामान ओसार्दा उनी टाईमकिपरको रुपमा काम गर्थे । सुडान मिसनमा उनी तत्कालिन कमाण्डर तथा हालका सशस्त्र प्रहरीका डिआईजी खड्क बहादुर राई रनर र ड्राईभरका रुपमा काम गर्थे ।
पछि सशस्त्रका हाकिमहरुको चाकरी गरी मानार्थ ईन्सपेक्टरसम्म भएर अवकाश पाएका उनी महेश बस्नेतको पालामा औद्योगिक क्षेत्रमा नियुक्ति भएका थिए । उनको कार्यकाल पुस ६ मै सकिँदैथियो । पुस ६ मै मन्त्रालयलाई पत्तै नदिई शक्ति देखाएर उनले पुनः मन्त्रिपरिषदबाट ३ वर्षको लागि नियुक्तिको निर्णय गराउन सफल भएका छन् ।
बस्नेतको भ्रष्टाचारको रामकहानी
अध्यक्ष बस्नेतले ५ वर्षे कार्यकालमा करोडौं भ्रष्टाचार गरेका छन् । उनले हेटौँडा कपडा उद्योगको २ सय ५० रोपनी जग्गा विक्री गरिसकेका छन् ।
जुन जग्गा बिक्री गर्दा उनले प्रतिरोपनी १ लाखका दरले घुस लिएको आरोप छ । पूर्व उद्योगमन्त्री नविन्दराज जोशीले हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने योजना ल्याइरहँदा उनले जग्गा बिक्री गरिसकेका थिए ।
त्यसैगरी उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत प्रतिव्यक्ति ३ लाख रुपैयाँ सम्म घुस लिएर ५१ जना कर्मचारी भर्ना गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार नयाँ बनाउन लागिएको औद्योगिक क्षेत्रको डिपिआरको नाममा समेत उत्तिकै अनियमितता गरेका छन् ।
रुपन्देहीको मोतिपुर, नेपालगन्जको नौवस्ता, कन्चनपुरको दैजी, चितवनको शक्तिखोरमा थप औद्योगिक क्षेत्रको डिपीआर बनाउने क्रममा उनले करोडौं रुपैयाँ चलखेल गरेका छन् ।
बस्नेतले जग्गा दिँदा पनि घुसको आधारमा दिने गरेको आरोप छ । सरकारको नीति उत्पादनमुलक उद्योगलाई बढावा दिने छ । तर बस्नेतले उत्पादनमुलक उद्योगलाई जग्ग उपलब्ध नगराई पेट्रोलपम्प, कम्प्लेक्स खोलेर भाडामा लगाउनेलाई दिएका छन् ।
श्रीमान अध्यक्ष, श्रीमती ट्रेड युनियन नेता
औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडमा आवद्ध कर्मचारीहरुको ट्रेड युनियन छ, कर्मचारी संघ नेपाल । संघको अध्यक्षमा लिमिटेडकै अध्यक्ष नन्दकिशोर बस्नेतकी श्रीमती छिन्, एकमाया थापा । श्रीमान कार्यालय प्रमुख, श्रीमती ट्रेड युनियन अध्यक्ष भएपछि उनका अनियमितता र मनपरीको बिरोध कसले गर्ने ? औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले प्रधानमन्त्री र उनका सल्लाहकारको शक्तिका आडमा मातृका यादव मन्त्री भएपछि एकपटक पनि उनलाई भेटेका छैनन् । ९ महिनासम्म एकपटक पनि नगएका उनी मन्त्रिपरिषबाट ठाडो निर्णय गराएर नियुक्तिपत्र लिनका लागि मात्र एक हप्ताअघि मन्त्री यादवकोमा पुगेका थिए ।