दैलेख, पुस २९ । नौमूमे गाउँपालिकाका अध्यक्षले आफूलाई कुटपिट र मानसिक यातना दिने गरेको भन्दै उहाँकी ४२ वर्षीया पत्नी दिलमाया बुढाले दैलेख जिल्ला अदालतमा घरेलु हिंसा मुद्दा दर्ता गराएकी हुन् ।
नौमूले गाउँपालिका–३ द्वारी घर भई हाल नौमूले गाउँपालिकाका निर्वाचित अध्यक्ष ४३ वर्षीय भदे बुढा मगरले पुस ११ गते कुटपिट गरेको भन्दै दिइएको उजुरीमा माओवादी युद्धताका घरमा जेठी पत्नी हुँदाहुँदै २०५८ मंसिर ९ गते ललाईफकाई, परपञ्च गरी कान्छी श्रीमती बनाएको उजुरीमा उल्लेख छ ।
उजुरीमा विवाहलगत्तै भारतको जोशीमठ पुगेर मजदूरी गरी कमाएको रकमले बुटवलको देवीनगरमा किनेको जग्गामा जेठी पत्नी धनकली बुढा र दुई छोरालाई मात्र घर बनाई त्यहाँ बसालेको तर बेवास्ता गरेको उल्लेख छ । उजुरीमा आफूलाई गरेको कुटपिट घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा ३ अनुसार कसूर भएकाले उपदफा १३ को उपदफा १ (क) बमोजिम सजायको मागदाबी गरिएको छ । सो दफामा २५ हजार रुपियाँसम्म जरिवाना र ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ ।
आरोपित आफ्ना श्रीमान् गाउँपालिकाको अध्यक्ष पदमा बहाल रहेको बेला आफूमाथि कुटपिट भएको कारण घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा १३ उपदफा (४) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिलाई हुने १० प्रतिशत थप सजाय समेत पाऊँ भनी उजूरीमा खुलाइएको छ ।
यसबारे प्रतिक्रियामा माग्दा गाउँपालिका अध्यक्ष बुढाले ‘म सबैको हित र कल्याण गर्दै आएको व्यक्ति घर मिलाउन प्रयत्न गर्दै थिएँ, कोही उचाल्ने पछार्नेहरुको लहलहैमा उजुरी प¥यो होला’ भनी कानुनी प्रक्रियामा गएकाले बाँकी सबै अदालतमा बताउने टिप्पणी गर्नुभयो ।
नेपाल समाचारपत्र दैनिकबाट