वाइडबडी खरिदमा देउवाको संलग्नताबारे सांसदको चासो

दियो पोस्ट  

काठमाडौं,पुष ३० । वाइडबडी विमान खरिदमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको समेत संलग्नताबारे सत्यतथ्य जानकारी दिन सत्तारुढ दलका सांसदले माग गरेका छन् । विमान खरिदमा देउवाको नाम जोडिएकाले संसद्मा वास्तविकता आउनुपर्ने भन्दै सत्तारुढ सांसदहरूले प्रतिनिधिसभाको आइतबारको बैठकमा यस्तो माग गरेका हुन् ।

नेकपा सांसद यज्ञराज सुनुवारले वाइडबडी खरिदमा कांग्रेस सभापति देउवाको नाम जोडिएकोबारे सदनले जानकारी पाउनुपर्ने बताए । २४ जेठ ०७४ मा प्रधानमन्त्री भएलगत्तै केही दिनमा देउवाले वाइडबडी खरिदको रकम भुक्तानीका लागि सिफारिस गरेको र सो वेला पर्यटन मन्त्रालयसमेत देउवाकै नेतृत्वमा रहेकाले सांसदहरूले यसबारे चासो व्यक्त गरेका हुन् ।

यस्तै, नेकपाका सांसद योगेश भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका सबैमाथि छानबिन हुनुपर्ने माग गरे । ‘छानबिनबारे कुनै पूर्वाग्रह राख्न हुन्न । सरकारले छानबिन आयोग नै गठन गरेकाले सत्यतथ्य बाहिर आउनेछ,’ उनले भने ।

संसद्को सार्वजनिक लेखा समितिले २ वटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको थियो । जसमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसमेत नैतिक रूपमा जिम्मेवार रहेको र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारबाही गर्नुपर्ने निर्णय गरेको थियो । समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल वायुसेवा निगम, अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई समितिको प्रतिवेदन तथा निर्णय निर्देशनबारे पत्राचार गरिसकेको छ ।

समिति सचिव एवं सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेले समितिको निर्णय निर्देशनबारे सम्बन्धित निकायमा परिपत्र गरिसकिएको बताए । ‘हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, वायुसेवा निगम, नागरिक लगानी कोष, सञ्चयकोषमा समितिको निर्देशनबारे पत्र पठाएका छौँ,’ प्रवक्ता पाण्डेले भने । संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले भने पारित भइसकेको प्रतिवेदन समितिले अख्तियारमा बुझाउन आलटाल गरेको आरोप लगाए । तर, सचिवालयले समितिको निर्देशन सम्बन्धित निकायमा दुई दिनअघि नै पठाइसकेको जनाएको छ ।

चिकित्सा शिक्षा विधेयक संसद्मा पेस

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आइतबार प्रतिनिधिसभामा पेस भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसी र सरकारबीच भएको नौबुँदे सम्झौताअनुसार केही विषय समेट्दै र केही विषय संशोधन गर्दै तयार पारेको प्रतिवेदन समिति सभापति जयपुरी घर्तीले सदनमा पेस गरेकी हुन् । सो प्रतिवेदन समितिले २५ पुसमा पारित गरे पनि आफूसँग भएको हुबहु सहमति विधेयकमा समावेश हुनुपर्ने मागसहित डा. केसी भने इलाम पुगेर १६औँ अनशनमा छन् । प्रतिनिधिसभामा पेस समितिको चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनमाथि छलफल हुन बाँकी छ । बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फस्र्योट विधेयक ०७५ र निवृत्तभरण कोष विधेयक ०७५ पारित गरेको छ ।

‘निर्णय नसच्याए कानुनी बाटो समात्छु’

पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायण देवले वाइडबडी खरिद गर्न पहिलो किस्ता भुक्तानी गर्न सटही सुविधा प्रदान गर्न आफ्नो संलग्नता देखाइएको र नैतिक जिम्मेवारी लिनुपर्ने सार्वजनिक लेखा समितिको निर्णयप्रति विज्ञप्ति जारी गरेका छन् । तत्कालीन पर्यटनमन्त्री आफूलाई देखाउँदै नैतिक जिम्मेवारी लिनुपर्ने भनिएकोतर्फ नेता देवले २९ जेठ ०७४ मा पर्यटनमन्त्री नरहेको स्पष्ट पारेका छन् । सार्वजनिक लेखा उपसमितिले सो मितिमा आफूलाई मन्त्री रहेको र नैतिक जिम्मेवारी लिनुपर्ने किटान गरेकाले तत्काल सच्याउन उनले माग गरेका छन् ।

‘सार्वजनिक रूपमा आत्मालोचना गरी सो अंश अविलम्ब प्रतिवेदनबाट हटाउन माग गर्छु । अन्यथा, म कानुनी बाटो समाउन बाध्य हुनेछु,’ सांसद देवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ वैशाख ०७४ देखि १ चैतसम्म जितेन्द्रनारायण देव पर्यटनमन्त्री रहेको भन्दै सार्वजनिक लेखा समितिमा विवरण पठाएको र सोही आधारमा लेखा उपसमितिले प्रतिवेदन तयार गरेको थियो । तर, २३ जेठ ०७४ देखि नै आफू पदमा नरहेको देवले बताए । नयाँपत्रिका दैनिकबाट

सम्बन्धित खबर