विदेशमा प्रतिबन्धित औषधि नेपालमा

दियो पोस्ट  

काठमाडौं,पुष ३० । उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ। तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ। भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ। औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकारी छैन र अनुसन्धान गर्न पहल पनि भएको छैन्।

खाद्य तथा औषधि व्यवस्थापन (एफडिए) अमेरिकाले भल्सार्टनयुक्त केही ट्याबलेटलाई क्यान्सरको कारक हुनसक्ने भन्दै वर्गीकरण गरेको छ। भल्सार्टनमा हुने एन–निट्रोसोडिथिलामिन रसायनले मानव स्वास्थ्यमा क्यान्सर रोग लाग्न सक्ने विज्ञ बताउँछन्। ‘भल्सार्टनका केही ट्याबलेट अहिले पनि हाम्रो बजारमा उपलब्ध छन्,’ विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने। ‘यी औषधि अन्य मुलुकमा प्रतिबन्धित छन् भन्ने कुरा हामीलाई जानकारी छैन,’ उनले भने।

डिसेम्बर ३१ बाट अमेरिकाको औरोबिन्दो फार्माले ८० टलको एम्लोडिपिन भल्सार्टन, भल्सार्टन एचसिटिजेड र भल्सार्टन ट्याबलेट बजारबाट फिर्ता गरेर भण्डारण गर्ने घोषणा गरेको थियो। डिसेम्बर तेस्रो साता टिभा फर्मासिटिकलले उच्च रक्तचापका भल्सार्टन एम्लोडिपिन भल्सार्टन कम्बिनेसन ट्याबलेट र एम्लोडिपिन एचसिटिजेड ट्याबलेटलाई बजारबाट फिर्ता गर्ने घोषणा गरेको थियो।

उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकले प्रतिबन्ध लगाएका छन् । तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ। भल्सार्टनमा हुने एन–निट्रोसोडिथिलामिन रसायनले मानव स्वास्थ्यमा क्यान्सर रोग लाग्न सक्ने विज्ञ बताउँछन्।
कतारको जनस्वास्थ्य मन्त्रालयले सात प्रकारका औषधिमा भल्सार्टनको मात्रा देखिएपछि जुलाईदेखि बिक्री गर्न प्रतिबन्ध लगाएको छ। ती औषधि चिनियाँ कम्पनी झेन्जियाङ हुवाई फर्मासिटिकलले उत्पादन गरेर अरबियन मुलुकमा बिक्री गर्दैै आइरहेको थियो। प्रतिबन्ध लगाइएका औषधिमा स्पेनिस सिनाफा ल्याब्रोटरिजले उत्पादन गर्दैै आएका सिन्फाभल र को–सिन्फाभल, जोर्डनस् फर्मा इन्टरनेसनल कम्पनीले उत्पादन गर्दै आएका डियोस्टार र डियोस्टार प्लस पनि छन्।

यसका अतिरिक्त जोर्डनियन युनाइटेड फर्मासिटिकल्स म्यानुफ्याक्चरिङ कम्पनीले उत्पादन गरिहेको एन्जिनेट र को–एन्जिनेट तथा इन्डियन टोरेन्ट फर्मासिटिकल्सले उत्पादन गर्दै आएको भल्जार ट्याब्लेटलाई पनि प्रतिबन्ध लगाइएको छ। भल्जार औषधि औषधि व्यवस्था विभागमा दर्ता भएको देखिन्छ। यो औषधि फर्माचिम प्रालिले नेपालमा वितरण गर्दै आएको छ। ‘यो औषधि अहिले पनि बजारमा उपलब्ध छ र बिक्री भइरहेको छ,’ केसीले भने।

विभागका अनुसार एम्लोडिपिन भल्सार्टनका ९९ उत्पादनमा ६३ आन्तरिकसहित अधिकांश भारतीय उत्पादन विभागमा दर्ता छन्। त्यस्तै २३ भल्सार्टन एचसिटिजेडमध्ये २१ आन्तरिक र दुइटा भारतीय उत्पादन पनि विभागमा दर्ता छन्। नेपालमा एक दर्जनभन्दा बढी कम्पनीले उच्च रक्तचापसम्बन्धी औषधि उत्पादन गर्दै आएका छन्। त्यस्ता कम्पनीमा नेपाल फर्मासिटिकल ल्याब, क्वेस्ट, लोमस, ओमनिका, सुमी, इलाइटलगायत छन्। विभागले भल्सार्टनयुक्त ट्याबलेट उत्पादकको नाम खुलाउन भने अस्वीकार गरेको छ।

‘हामीसँग औषधिमा रहेको अशुद्धता जाँच गर्ने प्रणाली छैन र उत्पादकले पनि अशुद्धता भएका औषधिबारे जानकारी गराएका छैनन्,’ केसीले भने। औषधि ऐन २०३५ ले पनि यस्ता औषधिबारे प्रस्ट पारेको छैन्। ‘हामीले ऐन संशोधन विधेयक एक वर्षअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइसकेका थियौं तर त्यसलाई अझै संसद्मा लगिएको छैन,’ केसीले भने। उनले अगाडि थपे, ‘हामीले अनुसन्धान गरी अशुद्ध औषधिलाई बजारबाट फिर्ता गर्छौं।’ उनले यस्तो गम्भीर विषयमा आन्तरिक उत्पादक र आयातकर्ता जिम्मेवार हुने बताए।

विभागले ५१ वटा स्वदेशी कम्पनीले विभिन्न किसिमका औषधि उत्पादन गरिरहेको र त्यसमा मुटुरोगसँग सम्बन्धित पनि रहेको जनाएको छ। एसोसिएसन अफ फर्मासिटिकल्स प्रोड्युउसर्स अफ नेपालले नेपालमा बिक्री हुने ६० प्रतिशत औषधि आन्तरिक उत्पादक भएको जनाएको छ। ‘हाम्रा उत्पादनहरु धेरै गुणस्तर छन्। तर भारतमा उत्पादित कैयौं भल्सार्टन औषधि अशुद्धताका कारण बजारबाट फिर्ता गरिएका छन्,’ एसोसिएसनका अध्यक्ष दीपक दाहालले भने। औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट ल्याइन्छ।

आन्तरिक उत्पादन सरकारी ल्याबबाट परीक्षण नगरिएको दाहालले स्वीकारे। ‘विभागले केही गर्दैन भने हामीले पनि के नै गर्न सक्छौँ र’, उनले प्रश्न गरे।मुटुरोग सर्जन भगवान कोइराला औषधि बनाउन ल्याइने कच्चा पदार्थको गुणस्तर विभागगले परीक्षण गर्नुपर्ने बताउँछन्। ‘अशुद्धतासम्बन्धी विषयमा विभागले जाँच गर्नुपर्छ,’ उनले भने।

उनले चिकित्सक र बिरामीलाई भल्सार्टनको विकल्पका औषधी प्रयोग गर्न सुझाए। केही भल्सार्टन उत्पादन बिक्रीमा केही देशले रोक लगाएको पनि उनले बताए। वैकल्पिक औषधिका रुपमा अन्य भल्सार्टन उत्पादन वा त्यस्तै किसिमको अर्काे औषधि लोसार्तन, ओलमेसार्थन, इर्बेसार्थन र अन्य हुनसक्ने एफडिएले जनाएको छ। नागरिक दैनिकबाट

सम्बन्धित खबर