अर्थमन्त्रीको दबावमा पुर्वाधार विकास बैँकका अध्यक्ष बर्खास्त

Diyo post  

काठमाडौं, माघ ७ । अर्थमन्त्री डा. युवराज खतिवडाको दबावमा पुर्वाधार विकास बैँकका अध्यक्ष डा. विमल कोइराला बर्खास्त भएका छन् । उनलाई बर्खास्त गरि अनुज अग्रवाललाई बैँकको अध्यक्षमा नियुक्त गरिएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकार हुँदा अध्यक्षमा नियुक्त भएका कोइरालाले बर्खास्तीपछि आफुले गरेको मेहनतलाई सरकारले मुल्यांकन नगरेको बताए। यसबारेमा समय आएपछि बोल्ने समेत उनले बताएका छन् ।

बैंक स्थापना गर्ने काममा अहोरात्र खट्दा पनि आफूलाई हटाइने कोइरालाले बताए। ‘करिब साढे तीन वर्षसम्म बैंक स्थापना गर्न मेहनत गरें। तर त्यो मेहनतको कुनै अर्थ भएन,’ पूर्व मुख्यसचिवसमेत रहेका कोइरालाले नागरिकसँग आइतबार भने, ‘यसबारे उपयुक्त समयमा बोल्नेछु।’ कांग्रेस नेतृत्वको सरकारले कोइरालालाई अध्यक्षमा नियुक्ति गरेको थियो।

सरकारको १० प्रतिशत सेयर र निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंकलाई सरकारले आफू अनुकूल व्यक्तिलाई नियुक्त गरेको छ। सरकारको पछिल्लो कदमले निजी क्षेत्र हतोत्साहित भएका छन्। निजी क्षेत्रका एक व्यवसायीले सरकारले आफूहरूको अपमान गरेको बताए। ‘१० प्रतिशत सेयर हुनेले ९० प्रतिशतको अपमान गरेको छ,’ ती व्यवसायीले भने, ‘पुच्छरले सम्पूर्ण शरिर हल्लाउने काम भएको छ।’

२० अर्ब रुपैयाँ चुक्ता पुँजीसहित उक्त बैंक स्थापना हुन लागेको छ। ४५ प्रतिशत रकम जम्मा गरेपछि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको थियो। केही महिनाअघि मात्र सरकारले उक्त बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवालीलाई नियुक्त गरेको थियो। सरकारले चालू आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसहितको संलग्नतामा नयाँ पूर्वाधार विकास बैंकको अवधारणा अघि सारेको छ। बजेटमा उल्लेख भएको पूर्वाधार विकास बैंकको अवधारणामा रहेर नेपाल राष्ट्र बैंकले २० अर्ब चुक्ता पुँजी पु¥याएर पुर्वाधार विकास बैंक खोल्न पाइने नीतिगत व्यवस्था गरेको छ। नागरिक दैनिकबाट

सम्बन्धित खबर