दूतावास खोल्न कतै हतार, कतै सुरसार नै छैन

दियो पोस्ट  

काठमाडौं, माघ ८ ।करिब एक दशकको पहलपछि स्पेनमा नेपाली दूतावास खोलिँदा त्यहाँका नेपाली निकै उत्साहित भए, एकआपसमा खुसीयाली साटासाट गरे । तर कुटनीतिक वृत्तमा त्यसको विरोध निकै चर्कै भयो ।

कुटनीतिक मामिलाका जानकारहरुको एउटै तर्क थियो–‘पर्याप्त गृहकार्यविना हुचवाका भरमा राजनीतिक भागवन्डा मिलाउन त्यहाँ दूतावास खोलियो, सरकारको अपरिपक्व निर्णयले राज्यलाई अनावश्यक आर्थिक भार थपियो ।’
२ वर्षअघि २०७३ फागुन दोस्रो साता पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको तत्कालिन सरकारले स्पेनमा दूतावास खोल्ने निर्णय गरेको थियो ।

जब अन्य मुलुकमा दूतावास र कुटनीतिक नियोग स्थापनाको खाँचो आँैल्याइन्छ तब कुटनीतिक वृत्तमा फेरी स्पेनको उदाहरण दोहो¥याउने गरिन्छ । स्पेन मात्रै होइन त्यहाँभन्दा झनै बढी नेपालीहरुको उपस्थिती रहेको इटाली, पोर्चुगल, इराक, टर्कीजस्ता मुलुकबाट पनि वर्षौ अघिदेखि दूतावासको माग हुँदै आएको छ । तर यी मुलुकबारेको प्रकृया खासै अघि नबढेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको अन्तर्राष्ट्रिय सम्पर्क र उपस्थिती बजेटसँग मात्रै तुलना गर्न नहुने परराष्ट्रका अधिकारीहरुको तर्क छ । ‘स्पेनमा दूतावास खोल्दा हुन्छ भने इटाली, पोर्चुगल, इराक र टर्कीमा किन नहुने, यी देशबाट पनि वर्षौअघि देखि दूतावासको माग आइरहेको छ, तर खैं सरकार यसबारेमा खासै गम्भिर देखिदैन’–परराष्ट्रका एक अधिकारीले भने ।

ती अधिकारीले प्रष्ट्याउँदै भने–‘टर्कीले नेपालसँग सिधा हवाई उडान भरिरहेको अवस्थामा नेपालले टर्कीमा दूतावास खोल्न ढिलो भइसकेको छ, यूरोप र समग्र मध्य एसियाली मुलुकसँगको सम्पर्क जोड्न त्यहाँ दूतावासको खाँचो छ ।’

नेपालसँग सिधा हवाई उडान गर्ने एक मात्र यूरोपेली मुलुक टर्की अन्तर्राष्ट्रिय व्यापारिक कारोबारमा विश्वको १६ औं राष्ट्रमा सूचिकृत भइसकेको छ । सिधा उडान जोडिएसँगै सो मुलुकसँग नेपालले पछिल्ला वर्षमा बार्षिक करिव ८ अर्बको बैदेशिक व्यापार गर्दै आएको छ । टर्कीसँगको कुटनीतिक सम्पर्क नेपालले अहिले पाकिस्तानस्थित नेपाली दूतावासमार्फत नियाल्दै आएको छ ।

यसैगरी समग्र ल्याटिन अमेरिकी मुलुकभरी ब्राजिलमा मात्रै नेपाली दूतावास खुलेको छ भने अफ्रिकी महादेशमा दक्षिण अफ्रिका र इजिप्टमा मात्रै नेपालको औपचारिक उपस्थिती छ । नेपालीहरुको उपस्थिती, द्धिपक्षिय व्यापार, राजनीतिक, सामरिक, साँस्कृतिक, परम्परागत र जनस्तरको सम्बन्धलाई जोड्न दूतावास र नियोग स्थापना हुँदै आएका छन् । यससँगै दूतावास स्थापना हुने मुलुकको अन्तर्राष्ट्रिय र क्षेत्रीय पहुँचलाई आफ्नो मुलुकले लिन सक्ने संभावित लाभलाई पनि ध्यान दिइन्छ ।

नयाँ दूतावास र नियोग स्थापनाबारे परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको सो मन्त्रालयका सह–सचिव एवं प्रवक्ता भरतराज पौडेलले बताउनुभयो ।

पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा गठित कार्यदलले यसबारे अध्ययन गरिरहेकाले सो कार्यदलले दिने प्रतिवेदनका आधारमा सरकारले प्रकृया अघि बढाउने उहाँको भनाई छ । ‘नयाँ दूतावास र नियोगको आवश्यकतासँगै पुनरवलोकनका लागि कार्यदल गठन भएको हो पौडेलले भन्नुभयो–‘कार्यदलले दिने सुझावका आधारमा सरकारले आगामी पहल अघि बढाउने छ ।’

नेपालले अहिलेसम्म विभिन्न ३० मुलुकमा आवासीय दूतावास स्थापना गरेको छ भने अमेरिकाको न्यूयोर्क, स्वीजरल्यान्डको जेनेभा र अस्ट्रियाको भियनामा स्थायी प्रतिनिधी खटाउँदै आएको छ ।

यसैगरी भारतको कलकत्ता, हङकङ, चीनको ल्यासा र ग्वाजाऊसहित साउदी अरेवियाको जेद्धामा महावाणिज्य दूतावास स्थापना भएका छन् । चीनको छेन्दु–काठमाडौंबीच सिँधा हवाई उडान भएसँगै त्यहाँ पनि महावाणिज्य दूतावासको माग हुन थालेको पौडेलले बताउनुभयो ।

अहिले नयाँ दूतावासबारे गृहकार्य हुँदै गर्दा आत्मनिर्भर भएका र हुन नसकेका दूतावास र नियोगको सुक्ष्म विश्लेषण गर्दै आर्थिक व्ययभार कटौतीका उपाय समेत खोजिनुपर्ने एक पूर्व राजदूतले बताए ।
अनावश्यक आर्थिक बोझ थप्ने गरी जथाभावी दूतावास खोल्न नहुने बताउँदै उनले भने–‘नयाँ ठाउँमा दूतावास खोल्दा नेपालले प्राप्त गर्न सक्ने संभावित लाभ पनि सुक्ष्म रुपमा केलाउनुपर्ने हुन्छ ।’

अफ्रिकी मुलुक केन्या र इथियोपियामा राष्ट्रसंघ मातहतका महत्वर्पूण निकाय स्थापना भएकाले ती मुलुकसँगको नेपालको कुटनीतिक सम्पर्क बाक्लो बनाउनुपर्ने परराष्ट्रका अधिकारी बताउँछन् । केन्यामा राष्ट्र संघिय वातावरण कार्यक्रमको मुख्यालय छ भने इथियोपियामा अफ्रिकन यूनियनको मुख्यालय, राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद् जस्ता महत्वपूर्ण निकाय छन् ।
तत्कालिन सोभियत यूनियनबाट विभाजित मध्य–एसियाली मुलुकमा अहिलेसम्म नेपालको औपचारिक उपस्थिति नरहेकाले ती मुलुकसँगको सम्पर्क बढाउन ढिलो भइसकेको परराष्ट्रका पूर्व सह–प्रवक्ता रामबाबु ढकालको बुझाई छ ।

‘सोभियन यूनियनबाट विभाजित कुनै पनि मुलुकमा अहिलेसम्म नेपालको दूतावास छैन न त बाणिज्य दूतावास नै छ, त्यसैले ती मुलुकसँगको आर्थिक कुटनीति जोड्न जरुरी छ’–उहाँले भन्नुभयो ।

नेपालले हालसम्म १ सय ६३ मुलुकसँग दौत्य सम्बन्ध स्थापना गरिसकेको छ । सन् २०१७ को जुन महिनादेखि २०१८ अक्टोवर दोस्रो सातासम्मको करिव एक वर्षको छोटो अवधिमा नेपालले सबैभन्दा धेरै २० मुलुकसँग दौत्य सम्बन्ध स्थापना गरेको परराष्ट्रको तथ्यांक छ ।
नेपाल समाचारपत्र दैनिकबाट

सम्बन्धित खबर