सामाजिक सञ्जालमार्फत प्रेम हुँदै यौनसम्बन्धसम्म पुग्ने र पछि त्यसैको भिडियो देखाएर ब्ल्याकमेल गर्ने प्रवृत्ति बढेको छ । १८ वर्षभन्दा मुनिका किशोरी बढी पीडित छन् । ६ महिनामा ७४ उजुरी परिसकेका छन् ।
सामाजिक सञ्जालमार्फत अपरिचितसँग साथी बन्ने, प्रेमसम्बन्ध गाँस्ने र यौन सम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कंदै गएको देखिएको छ ।
काठमाडौं, माघ १२ । सामाजिक सञ्जालमार्फत अपरिचितसँग साथी बन्ने, प्रेमसम्बन्ध गाँस्ने र यौन सम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कंदै गएको देखिएको छ ।
अश्लील तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरूले ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन् । यसरी दर्ता भएका कैयन उजुरी अनुसन्धानका क्रममा जबर्जस्ती करणी मुद्दामा रूपान्तरण भएका छन् ।
यिनमा धेरैजसो पीडित १८ वर्षमुनिका देखिन्छन् । यस्तो अवस्थामा प्रहरीले गत भदौ १ देखि लागू फौजदारी अपराध संहिताको व्याख्याअनुसार थप सजाय गर्ने गरेको देखिन्छ । अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुर खण्डमा अठार वर्षमाथिकी महिलामाथि जबर्जस्ती करणी भए पीडकलाई सातदेखि दस वर्षसम्म र पीडित १८ वर्षभन्दा कम भए १० देखि १२ वर्षसम्म सजायको व्यवस्था छ ।
प्रहरी परिसर काठमाडौंमा दर्ता साइबर अपराधसम्बन्धी तथ्यांक केलाउँदा यस्तो प्रवृत्ति भुसको आगोजसरी सल्किरहेको देखिन्छ । २०७२/७३ मा ३२ वटा र २०७३/७४ मा साइबर अपराधका २५ वटा उजुरी दर्ता भएका थिए । यिनको संख्या २०७४/७५ मा दोब्बरभन्दा धेरै अर्थात् ८१ पुगेको छ । यस आर्थिक वर्षको पुससम्म ७४ उजुरी परेका छन् । वर्षको अन्त्यसम्म पुग्दा यो आँकडाले अघिल्लो वर्षलाई उछिन्ने प्रहरी परिसर काठमाडौंका अधिकारीहरू सहजै अनुमान गर्छन् ।
प्रहरी परिसर काठमाडौंले मंसिर २८ गते टेकुबाट एक किशोरीलाई पक्राउ गर्यो । १७ वर्ष ५ महिना २० दिन उमेरकी नाबालिका भएकाले प्रहरीले ती किशोरीको नाम कोड भाषामा २६ परिसर (य) दिएको छ । घटना अनुसन्धान गर्दै जाँदा जे देखियो, त्यसले अधिकारीहरूलाई नै झस्काइदियो । किशोरीको बयानबाट कसरी आवेगको निर्णयले उनलाई प्रहरी कार्यालयसम्म ल्याइदियो र आफ्नै उमेरकी केटीसाथीको जिन्दगी समस्यामा पारिदियो भन्ने खुल्यो ।
काठमाडौंको एक कलेजमा प्लस टु पढ्दै गरेका एक युवकले प्रवेश क्षेत्री नामको फेसबुक एकाउन्टबाट एक किशोरीलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । किशोरीले स्वीकारी पनि हालिन् । फेसबुकमै संवाद सुरु भयो । संवादको धागो मित्रता हुँदै प्रेमसम्म पुग्यो उनीहरूले एक दिन सहमतिमै सुन्धारास्थित एक होटलमा यौनसम्बन्ध राखे । यही क्रममा केटाले गोप्य रूपमा यौनसम्बन्धका तस्बिरहरू खिचेको किशोरीलाई पत्तै थिएन । समयक्रममा उनीहरूको सम्बन्ध टुट्यो । यससँगै किशोरीका निम्ति हैरानीको शृंखला सुरु भयो । प्रवेशले एक दिन किशोरीसँगको यौनसम्बन्धको
तस्बिर र भिडियो आफ्नी केटी साथीलाई मोबाइल एप्लिकेसन इमोमा पठाइदिए । ख्यालख्यालमै ती केटीले रोजी श्रेष्ठ नामबाट फेसबुक एकाउन्ट खोलेर ती तस्बिर र भिडियो किशोरीका बाबु र उसका नजिकका साथीहरूको मेसेन्जरमा पठाइदिइन् । प्रहरीले ती केटीलाई २६ परिसर (य) नाम दिएको छ ।
यो कुराले किशोरीलाई ठूलो मानसिक तनाब दियो । साथीभाइ र परिवार सदस्यको आडभरोसापछि उनले मंसिर २० गते प्रहरी परिसर काठमाडौंमा उजुरी दिइन् । लगत्तै प्रहरीले ती केटीलाई पक्राउ गर्यो । प्रहरीले उनलाई विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ (१) अनुसार कारबाही तयारी गरेको थियो । तर उमेर १८ नपुगेको पुष्टि भएपछि बाल अश्लीलता रोक्न बनेको बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद ४ को दफा ३६ बमोजिम अनुसन्धान अगाडि बढायो ।
किशोरीको भिडियो र तस्बिर खिच्ने युवक भने फरार छन् । तनहुँ स्थायी घर भएका उनको नाम प्रदीप भएको खुल्यो । यस्ता घटनामा १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरी बढी संलग्न रहेको प्रहरी भनाइ छ । १२ पुसमा प्रहरीमा दर्ता अर्को घटना पनि फरक छैन । कक्षा ११ मा पढ्ने एक किशोरीले दर्ता गरेको उक्त उजुरीमा सामाजिक सञ्जालबाट झ्याँगिएको उनको सम्बन्ध अपराधसम्म पुगेको देखिन्छ । गत जेठमा उनलाई विमल राउत नामको फेसबुक एकाउन्टबाट ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । यहाँ पनि सिलसिला प्रेमसम्मै पुग्यो । असारमा किशोरीले आफ्नै गाउँ मकवानपुरको पालुङमा विमललाई भेटिन् ।
एक दिन विमलले उनलाई पालुङको शिखरकोट बोलाए । त्यही भेटमा नजिकै जंगलमा सहमतिमै शारीरिक सम्बन्ध भयो । उनीहरू झन् अन्तरंग हुँदै गए । भिडियो कलमा कुराकानी भइरहँदा एक दिन विमलले किशोरीलाई कपडा खोलेर गोप्य अंग देखाउन आग्रह गरे । किशोरीले त्यसै गरिन् । अब विमल त्यही भिडियोको हतियार बनाएर किशोरीलाई बारम्बार त्यस्तै हर्कत दोहोर्याउन दबाब दिन थाले ।
यौनशोषणसमेत गरिरहे । महिनौं लामो अत्यासपछि किशोरी आजित भइन् । विमलको आग्रह इन्कार गरिन् । टाढा बस्न थालिन् । यही झोकमा विमलले भिडियो र फोटो किशोरीकी दिदी र आफन्तको फेसबुकमा पठाइदिए ।
किशोरीको यो विवरणसहितको उजुरीपछि प्रहरीले पुस १३ गते कागेश्वरी मनोहरा–९ वीरेन्द्रचोक बस्ने विमललाई पक्राउ गर्यो । उनले किशोरीको अर्कैसँग प्रेमसम्बन्ध रहेको शंका लागेको र त्यसबारे सोध्दा उत्तर नदिएको झोंकमा भिडियो अरूलाई पठाएको बयान दिएका छन् ।
प्रहरी अधिकारीका अनुसार सामाजिक सञ्जालबाट सम्बन्ध गाँस्ने र सहमतिमा गरिएको यौन गतिविधिको फोटो–भिडियो बनाई सम्बन्ध टुटेपछि पनि यौनशोषण गर्न खोज्ने प्रवृत्ति देखिन्छ । पीडित किशोरीले साइबर अपराधअन्तर्गत कारबाही माग गरेकी छन् । यसमा १८ वर्षमुनिकी किशोरीसँग सहमतिमै यौनसम्बन्ध राखे पनि फौजदारी कानुनको परिभाषामा बलात्कार हुने उल्लेख छ । त्यसैले प्रहरीले बलात्कार मुद्दासमेत चलाउने प्रक्रिया अगाडि बढाएको छ ।
परिसरको मुद्दा शाखाका डीएसपी मोहनकुमार थापा पछिल्ला महिना १८ वर्षभन्दा मुनिका किशोरकिशोरीको प्रेमसम्बन्ध र यौनशोषणका घटना प्रहरीमा धेरै आउने गरेको सुनाउँछन् । ‘प्लस टु पुस्ताका किशोरकिशोरीमा यस्तो समस्या भुसको आगोझैं सल्किँदै छ,’ उनले भने । परिसरमा मंसिर ३ गते भक्तपुरको सूर्यविनायक–१ स्थित स्कुलमा दस कक्षामा पढ्ने एक किशोरीले उजुरी दर्ता गरिन् ।
स्कुलमा भएको एक फुटबल प्रतियोगितामा उनको चिनजानसुवास थापासँग भएको थियो । त्यही चिनजान मोबाइलमार्फत झाँगिँदै प्रेमसम्बन्धमा पुग्यो । किशोरी सुवासको घरसमेत जान थालिन् । कोही नभएको मौका छोपी सुवासले उनीसँग यौनसम्बन्ध राखे ।
यही सम्बन्धपछि सुवासले किशोरीलाई धम्क्याउन थाले । उजुरीमा उल्लेख छ, ‘यौनसम्बन्धबारे कसैलाई भने राम्रो हुन्न, तेरो ज्यानसमेत रहन्न भन्दै धम्की दिइरह्यो । यौनसम्बन्धको अश्लील भिडियो खिचेको छु, मैले भनेजस्तो गरिनस् भने पब्लिक गर्दिन्छु भन्दै डर देखाइरह्यो ।’
जब किशोरी सुवाससँग टाढा हुन थालिन्, झन् धेरै मानसिक यातना खेप्न थालिन् । एक दिन उनका प्रधानाध्यापकको फेसबुक म्यासेन्जरमा उक्त भिडियो आइपुग्यो । किशोरीले भिडियो सुवास र उसको साथी पुकार राउत मिलेर प्रअलाई पठाएको उल्लेख गरेकी छन् । प्रहरीले मंसिर १७ गते ललितपुरको इमाडोलबाट सुवासलाई पक्राउ गर्यो । सुवासले किशोरीसँग सहमतिमै यौनसम्बन्ध भएको दाबी गर्दै आफू शौचालय गएका बेला साथी पुकारले भिडियो आफ्नो मोबाइलमा सारी साथी र प्रधानाध्यापकलाई पठाएको बताएका छन् । यो घटनामा पनि प्रहरीले किशोरीको उमेर १८ वर्षभन्दा कम भएकाले पीडकमाथि जर्बजस्ती करणीमा समेत मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको छ ।
ललितपुर जिल्ला अदालतको बाल–इजलासमा कार्यरत मनोविद् सुनील अधिकारीको बुझाइमा सामूहिक पारिवारिक संरचनाको विखण्डन र एकल परिवार संरचनामा हुर्किरहेका किशोरकिशोरीमा यस्तो समस्या विकराल बन्दै छ । ‘बाबुआमाले समय नदिएका कारण पनि किशोरकिशोरी सामाजिक सञ्जालमा बढी झुम्मिने गरेका छन् ।
भर्चुअल संसारकोशक्ति थाहा पाएकैले उनीहरूमध्येकेही आफ्नो यौनसम्बन्ध टिकाउन परिवारले नसोचेको हर्कत गर्न पुग्छन्,’ उनले भने ।मनोविद् नगेन्द्र ठगुन्नको मत पनि फरक छैन । उनले सामाजिक सञ्जाललाई हतियार बनाउँदै हुने यौनशोषणका घटनालाई इन्टरनेटको दुरुपयोग बताए । ‘जोखिम मोल्ने र नयां कुराप्रति अति नै आशक्ति राख्ने स्वभावका किशोरकिशोरीले सामाजिक सञ्जालको दुरुपयोग गर्नु नौलो होइन,’ उनले भने । नगेन्द्रको बुझाइमा किशोर उमेरमा विकास हुने हर्मोन र त्यसले उनीहरूमा ल्याएको परिवर्तन नबुझेका अभिभावका कारण पनि यस्ता घटना बढ्न थालेका छन् ।
उनले यौन–खुल्दुलीबारे चुपचाप बस्न रुचाउने समाज, व्यस्त बाबुआमा र इमेल–इन्टरनेट प्रयोगमाथि निगरानी नहुनुलाई पनि कारण औंल्याए । भने, ‘टिनएजमा हुने हर्मोनको परिवर्तनले उनीहरूलाई जिद्दीवाल, जिज्ञासु र जोखिम मोल्ने बनाइदिएको हुन्छ । यसबारे अभिभावक सचेत नभएसम्म यस्ता घटना दोहोरिरहन सक्छन् ।’
कान्तिपुर दैनिकबाट