सुन तस्करी र हत्याका बाँकी मुद्दा एकै इजलासमा

दियो पोस्ट  

विराटनगगर, माघ १४ । सुन तस्करी र सनम शाक्य हत्या मुद्दा अब एकै इजलासमा हेरिने भएको छ । छुट्टाछुट्टै हेरिँदा विवाद बढेपछि यो मुद्दाको पेसी २५ पटकसम्म सरिसकेको छ । उच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले अब एकै इजलासले निरन्तर हेर्ने र आदेश पनि एकसाथ गर्ने तयारी भएको बताए ।

उनका अनुसार कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र हरिप्रसाद बगालेको इजलासले सुन मुद्दालाई नफुटाउने गरी एउटै इजलासमा राख्न आदेश दिएको छ।

कामु मुख्य न्यायाधीश अधिकारी हेटौंडा उच्च अदालतबाट विराटनगर सरुवा भएका हुन्। न्यायपरिषद्ले काज सरुवा गरेका न्यायाधीशहरू उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको स्थानमा लेखनाथ सिंह, रामप्रसाद अधिकारी, शेखरप्रसाद पौडेल र महेश शर्मा पौडेललाई खटाइएको छ।

यो मुद्दाका आरोपितमाथिको निवेदन व्यवस्थापन र सुनुवाइका क्रममा विवादमा परेका तत्कालीन मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ६ न्यायाधीश न्यायपरिषद् सचिवालयमा तानिएका थिए। स्रोतका अनुसार मुद्दा एकमुष्ट नहेरी फरक–फरक इजलासमा बाँडिएको अनि कतिपय निवेदन व्यवस्थापनका क्रममा प्रमाण परीक्षणका आधारभूत सिद्धान्तसमेत उल्लंघन गरिएको भेटिएको छ। बेग्लाबेग्लै इजलासमा पेसी तोकिँदा न्यायाधीशअनुसार आदेश आएको र थुनामै राखेर मुद्दाको सुनुवाइ हुनुपर्ने कतिपय आरोपितलाई छाडिए पनि त्यसमा पर्याप्त आधार र कारण देखिँदैन।

फरक–फरक इजलासमा राखेपछि त्यति बेलै न्यायाधीश र कानुन व्यवसायीबीच मतभेद बढेको थियो। कानुन व्यवसायीले केही समय अघोषित रूपमा ‘इजलास बहिष्कार’ समेत गरेका थिए। उनीहरूले बार एसोसिएसनमार्फत २२ बुँदे सुझावसहित मुख्य न्यायाधीशको ध्यानाकर्षण गराएका थिए। असन्तुष्टि बढेपछि मुद्दा कसरी अघि बढाउने भन्ने विषयमा सरकारी वकिलले पेसी सारेर बेग्लै छलफलसमेत गरेका थिए।

जिल्ला अदालत मोरङले पुर्पक्ष थुनामा पठाएका अभियुक्तको हकमा सुरुको आदेश बदर गरिपाऊँ भन्दै उच्च अदालतमा निवेदन दर्ता भएपछि सरकारी वकिलले बढीमा दुई पटक मात्र पेसी सार्न सक्ने प्रावधान रहेको स्रोतले जनाएको छ। तर २५ पटकसम्म पेसी सारेर सुनुवाइ गरिँदा आरोपितमाथिको निवेदन व्यवस्थापन र मुद्दाको सुनुवाइका क्रममा कमजोरी देखिएको एक वरिष्ठ कानुन व्यवसायीले बताए।

यो पनि पढौं :सुनकाण्ड प्रकरण : उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए
३३ किलो सुन तस्करी र हत्या प्रकरण: प्रहरी कार्यालयदेखि अदालतसम्मको दृश्य
जिल्ला अदालतको आदेशपछि थुनामा रहेकाहरूले दिएको पुनरावेदनमध्ये १२ वटाको आदेश आउन बाँकी छ। सुन तस्करीमा जिल्लाको आदेशपछि थुनामा रहेका चूडामणि उप्रेती (गोरे), भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, लक्षुबहादुर गुरुङ, सैयाद अकबर, इस्तियाज उद्दिन, बेनु श्रेष्ठ, छिरिङ वाग्ले घले, रेवतकुमार आचार्य, विनोद अधिकारी, मोतीराम श्रेष्ठ र कान्तिपुर होलिडेज र श्री एवल नेपाल ट्राभल्स एन्ड टुर प्रालिको मुद्दामा आदेश आउन बाँकी छ।

अभियुक्तहरू मोतीराम श्रेष्ठ, विनोद अधिकारी र रेवतकुमार आचार्यविरुद्ध सरकार पक्षले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दायर गरेको थियो। उनीहरूलाई जिल्लाले धरौटीमा छाड्ने आदेश दिएको थियो। कान्तिपुर दैनिकबाट

सम्बन्धित खबर