शक्तिशाली डीएसपीहरुको बढुवा दौड

Diyo post  

काठमाडौं, माघ १४ । सरकारले प्रहरी नियमावलीको छैटौं संशोधन गरी अधिकृत तहका लागि चार वर्ष पुगेपछि मात्र पदोन्नती हुने प्रावधान हटाएर तीन वर्ष कायम गरेपछि प्रहरीमा डीएसपीदेखि डीआईजीसम्म रिक्त पदको बढुवा प्रकृया अगाडि बढ्ने भएको छ ।

बढुवाको लागि सबैभन्दा चर्को प्रतिस्पर्धा डीएसपीबाट एसपी हुनेमा देखिएको छ । पछिल्लो लटमा बढुवा भएका डीएसपीहरु पनि एसपी बढुवा हुने खेलमा राजजीतिक पहुँच प्रयोग गर्न थालेको स्रोत बताउँछ ।

एसपीको दरवन्दी जम्मा १२ वटा खाली छन् । एसएसपी बढुवा भइसकेपछि एसपी बढुवा भएमा थप १४ वटा थप भइ २६ वटा दरबन्दीका लागि पछिल्लो लटमा बढुवा भएका डीएसपीहरु पनि भिडन्तमा लागेका छन् ।

२०६९ मा डीएसपी बढुवा भएका २८ भन्दा बढी डीएसपी छन् । २०६९ मा डीएसपी बढुवा हुनेहरुमा भुवनेश्वर तिवारी, अनुपशमशेर राणा, ऋषिराम कँडेल, रमेश थापा, अजय केसी, कृष्णप्रसाद कोइराला, हेम थापा, वीरबहादुर बुढा, दानबहादुर मल्ल, कृष्णप्रसाद पँगेनी, शान्तिराज कोइराला, होविन्द्र बोगटी, प्रभु ढकाल, जर्नादन जीसी, नवराज अधिकारी लगायतका २९ जनाभन्दा बढीको सिनियर ब्याच छ ।

कुवेरसिंह राना आइजीपी र लिलामणि पौडेल मुख्यसचिव हुँदा क्षमता नभएता पनि भुवनेश्वर तिवारी र ऋषिराम कँडेल १ र २ नम्बरमा पर्न सफल भएका थिए । गुल्मी घर भएकै आधारमा उनीहरुलाई तानिएको चर्चा पनि त्यतिबेला भएको थियो ।

राना आइजीपी भएकै समयमा छुटेका भनेर २०७० साउनमा बढुवा भएका सन्तोषसिंह राठौरहरु पनि एसपी बढुवाको दौडमा लागेका छन् ।अगाडिकालाई मिचेर बढुवा हुनका लागि उनी निकै कसरत गरिरहेका छन् । एसपी बढुवामा पर्नेमात्र होइन, अगाडि आउने दाउमा उनी छन् । राठौर पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालका पीएसओ हुन् । उनले दाहालमार्फत एसपी बढुवाको लागि गृहमन्त्री रामबहादुर थापालाई दबाब दिइरहेको चर्चा छ । आजको साँघु साप्ताहिकबाट ।

सम्बन्धित खबर