त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । श्रेष्ठले सार्वजनिक सेवामा प्रवेश गरेपछि १४ करोड रुपैयाँ भन्दा धेरै अकुत सम्पत्ती आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
श्रेष्ठले जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाई रामकृष्ण श्रेष्ठ र भाईबुहारी रामकृष्ण प्रधानाङ्गको नाममा अकुत सम्पत्ती राखेको अख्तियारले जनाएको छ । सम्पत्ती जफत गर्ने प्रयोजनमा संलग्न उनीहरुलाई पनि प्रदिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताएका छन् ।
श्रेष्ठले सेवामा आवद्ध भएको मिति २०५३ साल चैत्र ५ गतेदेखि अनुसन्धान अवधिसम्म पारिश्रमिक स्वरुप १८ लाख १६ हजार ९ सय ४८ रुपैँया आम्दानी गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । उनि र उनको एकासगोलको परिवारको कुल आम्दानी ९ करोड ६३ लाख ८ हजार ८ सय २७ देखिएको थियो ।
त्यस्तै उनको आम्दानी तथा लगानीमा १९ करोड ७४ लाख ५५ हजार देखिएको थियो ।
उनले सार्वजनिक सेवामा प्रवेश गरेदेखि सेवामा भइरहँदासम्म गरेको आम्दानी भन्दा १० करोड ११ लाख ४६ हजार ९ सय ८८ रुपैँया लगानी बढी देखिएको र उक्त रकमको स्रोत नखुलेकोले अख्तियारले मुद्धा दायर गरेको हो ।
उनलाइ चौध करोड एकसठ्ठी लाख चौबीस हजार चार सय अठहत्तर रुपैया अठासी पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा१५, दफा १६(ग) , तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको तपसिलमा उल्लिखित चल अचल सम्पत्तिहरू साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।