काठमाडौं, माघ १६ । काठमाडौं महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान शुरू गरेको छ। मेयर उज्यालो कार्यक्रमअन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा २ हजार ८ सय बत्ती जडान भएका छन्।
अँध्यारो हुन थालेपछि आफंै बल्ने र उज्यालो हुनासाथ निभ्ने गरी सेन्सर जडित बत्ती जडान गरेको कामपाले जनाएको छ। ती बत्तीको होल्डरमा सेन्सर जडान गरिएको छ। कामपाले ५०, ३० र २४ वाटको बत्ती जडान गरेको जनाएको छ। कामपाका प्रवक्ता ईश्वरमान डंगोलले करिब शहरभरि १० हजार बत्तीको माग भए पनि हालसम्म २ हजार ८ सय स्वचालित सडकबत्ती जडान गरिएको जानकारी दिनुभयो।
‘हालसम्म शहरी पूर्वाधार विकास विभागले १ हजार १ सय ३ र विभिन्न वडाले १ हजार ६ सय ४७ गरी २ हजार ८ सय बत्ती जडान गरिएको छ। अब मागअनुसार सबै वडाका बिजुलीको पोलमा थप बत्ती जडान गर्ने कार्यक्रम राखेका छौं।’ –प्रवक्ता डंगोलले भन्नुभयो। कामपाले ती सडक बत्तीको रकम हालसम्म कसले तिर्ने भन्ने विषयमा निर्णय गरेको छैन।
प्रवक्ता डंगोलले हाम्रो स्वामित्वमा रहेको जग्गामा बिजुलीको पोल गाडेपछि जग्गा प्रयोग गरेबापत प्राधिकणले रकम दिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो– ‘यही अवस्थामा पोलमा बालिएका बत्तीको बिल कामपाले भुक्तानी गर्दैन।’ उहाँले हालसम्मको वक्यौता र जडान गरिएकोे बत्तीको रकम कसले भुक्तानी गर्ने रु भन्ने विषयमा दुई निकायबीच छलफल भइरहेको जानकारी दिनुभयो। कामपाले बिजुलीको बिल भुक्तानी गर्ने विषयमा प्राधिकरणसंग छलफल गर्ने जनाएको छ। शहरी पूर्वाधार विकास विभाग प्रमुख नारायण भट्टराईले मेयर उज्यालो कार्यक्रमअनुसार महानगरको स्वामित्वमा रहेका सबै सडक उज्यालो गर्न सडकबत्ती जडान गर्न लागिएको जानकारी दिनुभयो।
सबै वडाबाट माग बढिरहेको छ, केही दिन अध्ययन गरेपछि थप बत्ती जडान गर्ने योजना बनाउने बताउँदै उहाँले चालू आर्थिक वर्षभित्र महानगरका अधिकांश सडकमा बत्ती जडान भइसक्ने दाबी गर्नुभयो।
महानगरले सबै वडाको तथ्याङ्क संकलन गर्ने र टेन्डर आ≈वान गरी थप बत्ती जडान गर्ने कामलाई तीव्रता दिएको छ। कामपाले मागअनुसार १० हजार स्थानमा स्वचालित सडक बत्ती जडान गर्ने दावी गरेको छ।
उता धुलोका कारण करिब–करिब कामविहीन बन्न पुगेका राजधानीका सबै सोलार बत्ती मर्मत र सफा गर्न थालिएको प्रवक्ता डंगोलले जानकारी दिनुभयो। सोलारबत्तीको कारण कामपाले झन्झट बेहोरिरहेको छ।
प्रवक्ता डंगोलले भन्नुभयो– ‘समस्या देखिएपछि अब महानगरको सडकमा सोलारबत्ती जडान गर्दैनांै, सडकबत्तीलाई प्राथमिकता दिनेछौं।’
कामपाले सार्वजनिक गरेको योजनाअनुसार उच्च प्राथमिकतामा परेको मेयर उज्यालो कार्यक्रमअन्तर्गत स्वचालित सडक बत्ती जडान कार्यलाई तीव्रता दिइएको जनाएको छ।
विशेष गरी धार्मिक महŒव बोकेका, पुरातात्विक, व्यापारिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखी सडक बत्ती जडान कार्यलाई तीव्रता दिएको जनाएको छ।
स्थानीयवासीले सडक बत्ती नभएका कारण दुर्घटना र चोरीका घटना बढ्न थालेको गुनासो गर्न थालेपछि कामपाले सडक बत्ती जडानलाई तीव्रता दिएको हो।
नेपालसमाचारपत्र दैनिकबाट