काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाल प्रहरीबाट खटिने अधिकृतहरु विवादमा परिरहने गर्दछन् । सूर्यनाथ उपाध्याय अख्तियार प्रमुख हुँदा नेपाल प्रहरीबाट अख्तियारमा खटिएका तत्कालीन एसएसपी राजेन्द्रसिंह भण्डारीले आफ्नै संगठनका धेरैका बिरुद्ध उजुरी दर्ता गरी फसाउने काम गरेको आरोप खेपेका थिए । अख्तियारमा बसेर उनले उजुरी हाल्दै धेरैको जागिर खाएकोमा उनको अद्यापि आलोचना हुँदै आएको छ ।
सूर्यनाथको कार्यकाल सकिएको १० बर्षसम्म अख्तियारमा पदाधिकारी नियुक्ति हुन सकेन । २०७० मा विवादास्पद पूर्व प्रशासक लोकमानसिंह कार्कीलाई प्रमुख आयुक्त बनाएपछि उनले अख्तियारमा प्रहरीलाई नै विश्वास गरी ठूलो संख्यामा दरबन्दी सृजना गरे । लोकमानको पालामा इन्स्पेक्टरका रुपमा अख्तियार सरुवा भएका दानबहादुर थापाको रजगज यति बढ्यो कि उनले प्रहरीका एआइजीलाई समेत निर्देशन दिन्थे । लोकमानसिंह कार्कीको कोर ग्रुपमा रहेर उनले पनि धेरै प्रहरीकाबिरुद्ध उजुरी हल्न लगाउने र फसाउने काम गरेको आरोप बेहोरे । लोकमानको आडमा उनी एक ब्याच उछिनेर डीएसपी बढुवा भए । लोकमानको पालामा उनको हैकमले सीमा नै नाघेको थियो । उनले जे–जे भन्यो, लोकमानले त्यही त्यही गर्थे । प्रहरीका खरिददेखि ठेक्कापट्टा र सरुवा र बढुवा समेत थापाकै इशारामा हुन थालेको थियो । एसपी, एसएसपी र डीआइजीसम्म राम्रो ठाउँ पाउन र बढुवा हुनका लागि थापालाई गुहार्न थालेका थिए ।
लोकमानको किचेनदेखि बेडसम्म पहुँच भएका डीएसपी थापाले संगठनका एआईजी तहका अधिकारीलाई तर्साउने गरेका थिए । तर, लोकमानको बहिर्गमनसँगै थापालाई कारबाही नै गर्नुपर्ने दबाब तत्कालिन आइजीपी उपेन्द्रकान्त अर्याललाई परेको थियो । आइजीपी अर्याल नै थापाबाट पीडित भएका थिए । कसैलाई धम्क्याउन होस् वा फकाउन, उनी सहजै परिचालित हुने गरेका थिए । लोकमानपछि अख्तियारमा प्रहरीको दरबन्दी नै घटाइयो । र, अख्तियारबाट प्रहरी डोमिनेट हुने क्रम अन्त्य भयो । अख्तियारमा सरुवा हुने र लोकमानको नजिक भएर आकर्षक ठाउँमा सरुवा हुने लर्को घट्यो ।
तर, अहिले पनि अख्तियारमा कार्यरत एसपी प्रवीण पोखरेलले भण्डारी र थापाकै शैलीमा काम गर्न थालेपछि धेरै प्रहरी अधिकारीहरु चिन्तित बनेका छन् । हालका प्रमुख आयुक्त नवीन घिमिरेको स्वभाव कार्कीको जस्तो नभए पनि उनलाई समेत विवादमा पार्ने काम पोखरेलले गर्दै आएका छन् । एसपी पोखरेलले प्रहरीभित्र आप्mना बिरोधी र प्रतिस्पर्धीलाई ठेगान लाउनका लागि उजुरी हाल्न लगाउने र छानबिन गराउने गरेको उनीमाथि आरोप छ । प्रहरीविरुद्ध परेका उजुरी एउटा गिरोहले तुरुन्तै मिडियामा पत्र सहित सार्वजनिक गर्न थालेपछि अख्तियार भित्रको गोपनियतासमेत बाहिर आएको छ ।
उजुरी परेको र अनुसन्धान भइरहेको कुरा सार्वजनिक गर्नु आचरण विपरीत क्रियाकलाप हो । आयोगले अनुसन्धान गरिरहेको बिषय गोप्य हुनुपर्नेमा एसपी पोखरेलले नै मिडियामा लिक गर्ने गरेको आरोप छ । उनी अख्तियारको स्टीङ अप्रेसनका प्रमुख समेत हुन् । प्रहरीलाई घुस डिल गरेको भन्दै अपराध अनुसन्धान महाशाखाका असई उमेश केसीलाई पक्राउ गराउने कामसमेत उनीबाटै भएको छ । यो त एक उदाहरण मात्रै हो । प्रहरीभित्र अख्तियारले मच्चाएको यस्ता प्रकरण धेरै छन् । जबकी अख्तियारले मुद्दा चलाउने भनेको घुससहित पक्राउ परेकालाई मात्रै हो ।
यस्ता बार्गेनिङ गर्ने प्रहरीलाई पक्राउ गरी आफ्नै संगठनमा जिम्मा लगाउनु पर्नेमा सस्तो लोकप्रियता र हाकिमको विश्वास जित्नकै लागि उनले मुद्दा चलाएर संगठनकै बद्नाम गरिरहेका छन् । एकातिर घुससहित पक्राउ परेका प्रहरीहरुले नै धमाधम सफाई पाइरहेको अवस्थामा डिल गर्नेलाई नै पक्राउ गरेर मुद्दा चलाउन थालेपछि अख्तियारको समेत आलोचना हुन थालेको छ ।
आयोगमा बसी आफ्नै संगठनका अधिकृत बिरुद्ध उजुरी हालेर त्यसको बारेमा मिडियामा दिने काम पोखरेलले गर्दै आएको एक पीडित प्रहरी बताउँछन् । अख्तियारका डीआइजी कमल जीटी हुन्, त्यसअघि ठाकुर ज्ञवाली थिए, दुवै डीआइजीको बारेमा कुनै गुनासो नआउने तर एसपी पोखरेलको बारेमा धेरै असन्तुष्टी प्रहरीभित्र छ । उनलाई राजेन्द्रसिंह भण्डारी र दानबहादुर थापाजस्तै संगठनभित्रै धमिराको जस्तो काम गरेको आरोप लाग्दैआएको छ । त्यसो त पोखरेलको बाहिरका खराव व्यक्तिहरुसँग समेत साँठगाँठ रहँदै आएको छ ।
बुद्धचित्त मालाको अबैध कारोबार गर्ने काभ्रेली प्रभात समूहसँग पनि उनको उठबस रहेको छ । चिनियाँ अबैध गिरोह र प्रभात समूहबीच लाजिम्पाट सरस्वती स्थान नजिकै रहेको एक घरमा जमघट हुने गरेको सूचना प्रहरीसम्म आइपुगेको छ ।
प्रभात समूहले विप्लव माओवादीलाई समेत सेटिङ गरी बुद्धचित्त मालाको अबैध कारोबार गर्दै आएको छ । जसको जनाकारी एसपी पोखरेललाई पनि छ । प्रभात समूहलाई कारबाही गर्न खोज्दा काभ्रेका तत्कालिन एसपी जयराज सापकोटालाई पनि एसपी पोखरेलले ७ महिनामै सरुवा गराउन अख्तियारमार्फत दबाब दिएका थिए । विहिबारको युनाइटेड पोष्ट साप्ताहिकले खबर छापेको छ ।