नेपाल प्रहरीका ‘सफल’ आइजिपी सर्वेन्द्र खनाल : दुई वर्षमा उत्कृष्ट उपलब्धी श्रङ्खला !

दियो पोस्ट  

काठमाडौं, २१ पुस । निक्कै रस्साकस्सीबीच कार्य सम्पादन मुल्यांकनमा पहिलो नम्बरमा रहेका तत्कालिन डिआइजी सर्वेन्द्र खनाल २०७५ वैशाख १ गते नेपाल प्रहरीको नेतृत्वमा आए । खनाल प्रहरी महानिरीक्षक भइसकेपछि नेपाल प्रहरीमा चौतर्फी सुधार प्रयास भएको परिणामहरुबाट देखिन्छ । प्रहरीको सांगठनिक ढाँचा र कार्यक्षमतामा समेत उनको कार्यकालमा निकै प्रगति भएको तथ्यहरुले देखाउँछ । उनले प्रहरी भित्र रहेको आन्तरिक कमिकमजोरीहरुलाई सुधार गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्न उल्लेखनिय भूमिका निर्वाह गरे ।

उनले आफ्नो कार्यकालमा ७ हजार ८ सय ३२ दरबन्दी थप गरि नेपाल प्रहरीलाई थप शक्तिशाली बनाए । खनालकै कार्यकालमा नेपालका ७ सय ५३ वटा स्थानीय तहमा प्रहरीको संरचना स्थापना भएका हुन् । सोही अनुरुप एक प्रहरी चौकी–एक मोटरसाईकल नीति मार्फत ३ सय ४० मोटरसाइकल वितरण गरिएको छ । प्रदेश तर्फ एक हजार ४ सय ४६ प्रहरी अधिकारीलाई समायोजन गरिएको छ ।

महानिरीक्षकको जिम्मेवारी सम्हालेदेखि नै खनाल सुशासन र शान्ति स्थापनामा प्रतिवद्ध भएर लागेका थिए । उनी प्रहरीमा आन्तरिक सुद्धिकरणको अभियानमा निकै आक्रामक रुपमा प्रस्तुुत भए । प्रहरीको बर्दी लगाएर अनैतिक क्रियाकलाप गर्ने ३ हजार ४ सय ५९ प्रहरी अधिकारीहरुलाई उनले कारवाहीको दायरामा ल्याउन सफल भए । गलत काम गर्नेलाई कारबाही मात्रै गरेनन् संगठन भित्र जिम्मेवार, निष्ठावान र कर्तव्यनिष्ठ प्रहरी अधिकारीहरुलाई परस्कृत समेत गरे । खनालको कार्यकालमा ८ हजार ९ सय ११ प्रहरी अधिकारी पुरस्कृत भए ।

संगठन विस्तार

नेपाल प्रहरी भित्रको कर्मचारीको क्षमता अभिवबृद्धी गर्नका लागि महानिरीक्षक खनालले ८५ हजार ४० जनालाई प्रशिक्षण समेत दिए । त्यस्तै २६ हजार ५ सय ५४ कर्मचारीहरुलाई घुम्ति अनुशिक्षण प्रदान गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

मानव बेचबिखनलाई निरुत्साहित गर्नका लागि मानब बेचबिखन अनुसन्धान ब्यूरो र केन्द्रिय साइबर ब्यूरोको स्थापना गरि संचालन भएका छन् । त्यस्तै फरेन्सिक ल्याब, अस्पताल र विद्यालयहरुको समेत सेवा बिस्तार भएका छन् ।

आतंकवाद नियन्त्रण तथा सम्पत्ती शुद्धिकरण माथि निगरानी राख्दै नियन्त्रणका लागि प्रहरी प्रधान कार्यलयमा आतंकवाद प्रतिरोध संयन्त्र सचिवालयको स्थापना गरिएको छ । अपराध तथ्यांक तथा अभिलेखहरुलाई समयानुकुल बनाउनका लागि डाटा सेन्टरको स्थापना गरिएको छ ।

आपराधिक गतिविधि नियन्त्रण

सर्वेन्द्र खनाल नेपाल प्रहरीको नेतृत्वमा आएदेखि आपराधिक गतिविधिमा पनि तुलनात्मक रुपमा नियन्त्रण भएको तथ्यांकले देखाएको छ । उनको कार्यकालमा ७१ हजार ६४ मुद्धा दर्ता भएका छन् । त्यसमध्ये ४१ हजार ३ सय २८ जनालाई पक्राउ गरि कारवाही प्रकृया अगाडी बढाइएको छ । त्यस्तै ४ हजार ६ सय २३ फरार अभियुक्तहरुलाई पक्राउ गरि अदालतबाट आदेश भएको बिगो असुल गरि कारवाही प्रकृया अगाडी बढाइएको छ । बिगोबाट कुल ७३ करोड ७ लाख ३ सय ५६ रुपैयाँ असुल गरिएको प्रहरी तथ्यांकले जनाएको छ । चालु आर्थिक बर्षको तथ्यांकअनुसार जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका घटनामा प्रहरीले ९७ प्रतिशत अपराधको सफल अनुसन्धान गरेको छ ।

खनालको आगमन भएसँगै मानब बेचबिखनमा संलग्न ३ सय ८ नेपाली र १५ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । यसबीचमा बाल यौन दुराचारमा संलग्न ७ जना विदेशी नागरिकलाई पक्राउ गरि आवश्यक कारवाही प्रकृया अगाडी बढाइएको थियो ।

प्रहरीले मानव बेचविखनको जालो तोड्दै निकै ठूलो संख्यामा मानिसहरुलाई बेचिन बाट बँचाएको छ । यसक्रममा १ सय ७९ लाई काकडभिट्टाबाट, कुबेतबाट एकजना, रुपन्देही नाकाबाट १३ जना, लिवियाबाट १३, भारत मिजुरामबाट २३ जना व्यक्तिहरुलाई उद्धार गरिएको छ । आर्थिक बर्ष ०७३/०७४ को तुलनामा आर्थिक वर्ष ०७४/०७५ मा २७.१३ प्रतिशत बढी अभियुक्त पक्राउ परेका छन् । मृगौलाको अवैध तबरबाट मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका संचालकहरुलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ ।

एटीएम ह्याक गरि १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँसँगै ९ हजार १ सय ८ डलर लिएर फरार हुन खोजेका ५ जना चिनियाँ नागरिक र एक जना फ्रान्सेली नागरिक पक्राउ गरी कारवाही गरिएकोे छ । गत असोज महिनामा कृषि बिकास बैँकको सिस्टम ह्याक गरि ५ अर्ब रुपैयाँ चोरी गर्ने क्रममा अफ्रिकी मुलका व्यक्ति पिटर र उनका सहयोगीहरुलाई पक्राउ गरि कारवाही प्रकृया अगाडी बढाइएको छ ।

हालै मात्र उक्त घटनामा फरार रहेका दिपक नेपाललाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । प्रहरीले गत साता मात्रै नेपालमा अवैध रुपमा बसेर चीनमा वित्तिय ठगी तथा चोरी गर्ने १ सय २२ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको थियो ।


राजश्व संकलन

प्रहरीले २०७५ साल वैशाख महिना देखि मंसिरको अन्त्यसम्म १ सय ५४ दशमलव १२३ किलोग्राम अवैध सुन बरामद गरेको छ । सुन ओसारपसारमा संलग्न १ सय ७१ जनालाई नियन्त्रणमा समेत लिएको छ । सुनबाट ६७ करोड ४७ लाख ७४ हजार ४ सय ४९८ रुपैँया बराबरको राजश्व संकलन भएको छ । त्यस्तै भन्सार छलीमार्फत १ अर्ब २९ करोड ७४ लाख ३१ हजार ६ सय रावश्व संकलन भएको तथ्यांकले देखाएको छ ।


ट्राफिक कारबाहीबाट मात्र १ अर्ब २९ करोड ७४ लाख ३१ हजार ६ सय रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै फरार अभियुक्तहरुबाट विगो र अन्य राजश्व गरि ३ अर्ब ४१ करोड ८१ लाख ३७ हजार ८ सय २१ संकलन भएको छ । यसरी हेर्दा यो बर्ष नेपाल प्रहरीले ६ अर्ब ८१ करोड ८९ लाख ६८ हजार ४ सय ५३ रुपैयाँ राजश्व संकलन गरेको छ ।

लागु औषध बरामद


लागु औषध प्रयोग र ओसारपसारलाई निरुत्साहित गर्नका लागि प्रहरी नेतृत्वले सांगठनीक रुपमा सक्रियता देखाएका छन् । लागु औषधको सम्बन्धमा सानो सुचनालाई समेत महत्वका साथ प्रहरी परिचालन भएका छन् । नाकाहरुमा कडाइका साथ प्रहरी अधिकारीहरुको तैनाथ गरिएको छ । यस वर्ष १३ हजार ८ सय ४५ किलो लागु औषध बरामद गरिएको तथ्यांकले देखाउँछ । त्यस्तै ३ हजार ६५ किलो चरेस बरामद भएको छ ।

तथ्यांक अनुसार १६.६३ केजि हिरोइन र ८३.६० किलो अफिम यस वर्ष बरामद भएका छन् । प्रहरीको तथ्यांकअनुसार यस बर्ष बरामद गरिएको लागु औषधको परिमाण विगत १५ वर्षयताकै धेरै रहेको छ । लागु औषधसंगै यसको ओसारपसार गर्ने ८ हजार ७ सय ८० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हातहतियार बरामद

प्रहरीले वैशाख १ देखि कात्र्तिकसम्म ३ सय ५८ हात हतियार बरामद गरेको छ । जसमध्ये ७२ वटा पेस्तोल, ६ वटा रिभल्वर, ७० थान कटुवा पेस्तोल, ३९ थान बन्दुक र १ सय ८८ थान भरुवा बन्दुक रहेका छन् । प्रहरीले हतियारमा लाग्ने १ हजार ८४ थान गोली सहित ४ सय २३ जनालाई पक्राउ समेत गरेको छ ।

इन्टरपोलको सहयोगमा फरार अपराधी नेपाल फिर्ता

विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेर विदेशमा लुकिछिपी बस्दै आएका ६ जना अभियुक्तहरुलाई इन्टरपोलमार्फत नेपाल प्रहरीले स्वदेश फिर्ता गरि कारवाही प्रकृया अगाडी बढाएको छ । हालै जबरजस्तीकरणी मुद्धाका फरार अभियुक्त लिलाराज गौतमलाई अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको थियो ।

इन्टरपोलबाट प्रकाशित भएको जर्नलमा समेत नेपालको भूमिकाको प्रशंसा गर्दै लेख प्रकाशित भएको छ ।

विप्लव समुहको गतिविधि नियन्त्रण

सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित पार्टीलाई कारबाही गर्न सरकारले नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिएको थियो । सरकारको निर्देशनलाई सिरोपर गर्दै प्रहरीले विप्लव समुहका १ हजार १ सय ८३ जनालाई पक्राउ गरेको छ । पक्राउ १ हजार १ सय १९ जना विरुद्ध मुद्धा दर्ता भएका छन् । ती मध्ये हाल १ सय ३९ जना कारागारमा रहेका छन् ।

हालसम्म करिब ९ सय जनाले नेता कार्यकर्ताले पार्टी परित्याग गरिसकेको प्रहरी तथ्यांकले देखाएको छ । त्यस्तै प्रहरीले ८३ जनालाई अनुसन्धानमा राखेको छ ।

विप्लव समुहको कार्यकर्ताबाट प्रहरीले अत्याधुनिक हात हतियारसमेत बरामद गरेको छ । जसमध्ये एक थान एलएमजी, एक थान एम १६ , एक थान एसएलआर, ७ थान एसएमजी ३०३ ली इन्फिल्ड, एक थान पेस्तोल २९ थान भरुवा बन्दुक ४५ थान अन्य हात हतियार र १ हजार १६ राउण्ड गोली समेत बरामद गरेको छ । प्रहरीको सक्रियताकै कारण विप्लव समुहको गतिविधि तुलनात्मक रुपमा नियन्त्रणमा आएको तथ्यांकले देखाउँछ ।


समुदाय–प्रहरी साझेदारी कार्यक्रम

नेपाल प्रहरीले २०७५ कात्र्तिक ११ गते समुदाय–प्रहरी साझेदारी कार्यक्रम लागु गरेको हो । यो अभियानले प्रहरीलाई हरेक नागरिकको घरघरसम्म पुग्न सशक्त बनाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा महानिरीक्षक खनालले नै अघि सारेका हुन् ।

यस कार्यक्रममार्फत २४ हजार ४ सय ८४ साझेदारी समितिहरु गठन भएका छन् । यसबाट ९८ लाख १० हजार ५ सय ६७ नागरिक समक्ष सचेतना कार्यक्रम पुगेको प्रहरी तथ्यांकमा उल्लेख छ । यसै कार्यक्रमअन्तर्गत नै २ हजार ९ सय ८६ सीसीटिभी क्यामेरा जडान भएका छन् ।

ठूला घटनामा प्रहरीको सफल अनुसन्धान

नेपालमा सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान व्यप्त छ । तर, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वमा आएपछि भने यो उखान नै गलत सावित हुन पुगेको छ । खनालले अपराधको अभियोग लागेका जति सुकै ठूला र शक्तिशाली भनिएका व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरमा ल्याउन सफल भएका छन् ।


– व्यवस्थापिका संसदमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई निजकै निवासमा जबरजस्ती करणी उद्योग गरेको आरोपमा २०७६ आश्विन १९ गते निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गरि आवश्यक अनुसन्धान पुरा गरि मिति २०७६ कात्तिक १५ गते राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको थियो । जिल्ला अदालत काठमाडौंको आदेशको आधारमा पूर्व सभामुख महरा यतिबेला डिल्लीबजार स्थित केन्द्रीय कार्यालयमा कारागार जीवन बिताइरहेका छन् ।


– संविधान सभाको पहिलो निर्वाचन २०६४ साल चैत्र २८ गते हुँदै थियो । निर्वाचनको एक दिनअघि चुनावी महोल आफ्नो पक्षमा पार्नका लागि नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद अफ्ताव आलामले बम विष्फोटनको योजना बनाए । बम बनाउने क्रममा विष्फोट भइ दर्जनौँ व्यक्तिको मृत्यु भयो । बिष्फोटमा घाइते भएकाहरुलाई इट्टा भट्टामा जीउँदै जलाएर हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले कारबाही सिफारिस गरेपनि आलम पटक पटक मन्त्री र सांसद भइरहे । पीडित पक्षले पटक पटक आलमलाई कारबाही गर्न माग गरेपनि यसअघिका प्रहरी नेतृत्वले बेवास्ता गर्दै आएको थियो । तर, खनाल नेतृत्वमा आएपछि भने उनले घटनाको अनुसन्धान अघि बढाए । फलस्वरुप ‘मिनिहिटलर’ रुपमा चर्चामा रहेका आलमलाई प्रहरीले २०७६ आश्विन २६ गते पक्राउ गर्न सफल भयो । उनलाई पक्राउ गर्न खनालले प्रहरी प्रधान कार्यालयबाट विशेष टोली समेत परिचालन गरेका थिए ।


– चडवाडको समय मिलाएर देशभर जुवा तास खेल्ने ४ सय ६५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त जुवाडेहरुबाट कुल तीन करोड ३० लाख समेत बरामद गरेको थियो । राजधानीको महाराजगंजबाट २५ जना भीआइपी जुवाडे पक्राउ गरि उनिहरुको साथबाट २ करोड ६७ लाख नगद बरामद गरेको थियो ।


– २०७६ आश्विन २८ गते सांसद प्रमोद साह जनकपुर बिमानस्थल स्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको तथा बुद्ध एयरका कर्मचारमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परे ।


– ललितपुर पुल्चोक स्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको अभियोगमा उक्त अस्पतालका सिइओ बिपेन्द्र प्रधान सहित ५ जनालाई पक्राउ परे ।


– ५ जना चिनियाँ, १ फ्रान्सेली संलग्न भई एटिएमबाट अवैध रुपले पैसा चोरी लग्ने क्रममा र विदेशी नागरिक पिटर भन्ने कालेको नेतृत्वमा विभिन्न नेपाली नागरिकहरुको समेत संलग्नता नेपाली बैँक तथा वित्तिय संस्थाहरुबाट ह्याक गरि ५ अर्ब लैजान लागेका अभियुक्तहरुलाई पक्राउ गरेको थियो । त्यतिबेला प्रहरीले नेपाली बैकिङ क्षेत्रलाई ठूलो दुर्घटना हुन जोगाएको थियो ।


– नेपालमा लुुकिछिपी बसी चीनमा वित्तिय ठगी गरेको आरोपमा १२२ जना चीनियाँ नागरिकहरु पक्राउ ।
– जबरजस्ती करणी र कर्तव्य ज्यान अपराधमा फरार रही संयुक्त राज्य अमेरिकामा लुकी बसेका लिलाराज गौतमलाइ इन्टरपोल मार्फत नेपाल फिर्ता ल्याई कारागार चलान ।

मुख्य सफलताहरु

नेपाल प्रहरीले निर्माण व्यवसायी शरद कुमार गौचन हत्या प्रकरणका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातलाई गत बर्षको पुष १७ गते चितवनबाट पक्राउ गरेको थियो । त्यस्तै बुटवल युवा संघका कार्यकर्ता दुर्गा तिवारी हत्याकाण्ड र दावा लामालाई गोली प्रहार गरि फरार रहेका लोप्साङ भन्ने सोम तामाङ, रोशन बुढाथोकी र अम्बरबहादुर रानालाई काँकडभिट्टाबाट ०७५ कात्र्तिक १२ गते पक्राउ गरिएको थियो ।

२०६२ फागुन २३ गते नेपालगंजका सुनचाँदी व्यवसायी दिपक हेमकरसहित उनका परिवारका ५ जनाको घाँटी रेटी हत्या भएको थियो । हत्या भएको १३ बर्षपछि २०७५ असोज १३ गते घटनाको मुख्य अभियुक्त किशोरीलाल सोनीलाई नेपाल भारतको सिमानाका जमुनाहबाट पक्राउ गरेको थियो ।

गत वर्ष भदौ १० गते महोत्तरीको औरही नगरपालिका –१ बस्ने ८ महिनाकी नाबालिकालाई अपहरण गरि बलात्कारपछि हत्या भएको थियो । उक्त घटनाका अभियुक्त भङगाहा नगरपालिका–६ बस्ने २६ बर्षीय भरत साहलाई सोही बर्षको कात्तिक ३ गते पक्राउ गरेको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक प्रहरी– एक सवारी साधनको नीति अनुरुप विभिन्न प्रहरी चौकीहरुमा ३ सय ४० मोटरसाइकल वितरण कार्य सम्पन्न गराए । त्यस्तै प्रहरी कार्यलय भित्र पनि एक प्रहरी–एक खाटको नीति लागु भएका छन् ।

सबै प्रदेशमा वाटर क्याननको लक्ष्य अनुरुप ५ वटा नयाँ वाटर क्यानन खरिद गरिएको छ । त्यसै गरि १ सय ३१ वटा चारपाँग्रे सवारी साधन खरिद गरि वितरण समेत गरेको छ । अन्य देशबाट आउने भीभीआइपी पाहुनाहरुको सुरक्षाको लागि ३० थान कारकेड मोटरसाइकल समेत खरिद गरिएका छन् ।

यस वर्ष नेपाल प्रहरीका लागि सरकारले कुल २ हजार ५ सय ६९ रोपनी जग्गा उपलब्ध गराएको छ । महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र नेपाल पुलिस क्लवको नयाँ भवन निर्माणका लागि सरकारले राजधानीका विभिन्न स्थानमा रहेका सरकारी जग्गा नेपाल प्रहरीलाई उपलब्ध गराएको हो । सरकारले उपलब्ध गराएको जग्गामा नयाँ भवनको शिलान्यास समेत भइसकेको छ ।

त्यस्तै नेपाल प्रहरीले मानव–बेचविखन अनुसन्धान ब्यूरो तथा केन्द्रिय साइबर ब्यूरो समेत संचालन गरिसकेको छ । प्रस्तावित राष्ट्रिय प्रहरी प्रशिक्षण स्थानान्तरणका लागि पनौतीमा प्रि–ब्याक ब्यारेक, कार्यलय तथा प्रशिक्षण कक्षा भवन निर्माणको लागि ३ करोड ९८ लाखको टेण्डर समेत भइसकेको छ । नेपाल प्रहरीले यस बर्ष ७ सय ३० प्रहरी कार्यलयमा शौचालय तथा स्नान गृहको समेत निर्माण गरेको छ । प्रहरीको विभिन्न निकायका लागि ४० वटा भवन निर्माण भइसकेका छन् भने ९९ वटा निर्माणाधिन अवस्थामा रहेका छन् ।

भीभीआइपी सुरक्षा अब्बल

सर्वेन्द्र खनाल नेपाल प्रहरीको नेतृत्वमा आएदेखि नेपालमा विभिन्न किसिमका अन्तराष्ट्रिय कार्यक्रम तथा सम्मेलनमा भएका थिए । ती सम्मेलनहरुमा छिमेकी मुलुकका सरकार प्रमुखहरुको उपस्थित रहेको थियो । २०७५ मंसिर महिनाको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन, चैत्रको लगानी सम्मेलन, विमस्टेक मुलुकहरुको सम्मेलन जस्ता ठूला ठूला कार्यक्रमहरुमा सुरक्षा व्यवस्था चुस्तद्रूस्त बनाइएको थियो । यस्ता कार्यक्रममा कुनैपनि सुरक्षा चुनौतीका क्रियाकलापहरु हुन पाएनन् ।

त्यसैगरि गत कात्र्तिक महिनामा चिनका राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण पनि सफलतापुर्वक सम्पन्न भएको थियो । राष्ट्रपति सिको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था निकै कडा बनाएको थियो । प्रहरी सक्रियताकै कारण सि भ्रमणको बेला कुनै पनि अवान्छित गतिविधि हुन पाएनन् ।

गत मंसिर महिनाको १४ गते ३७ जिल्लाका २ सय ४७ स्थानमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनको समयमा छिटफुट घटनाहरु भएतापनि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । उपनिर्वाचनको सुरक्षाका लागि १२ हजार प्रहरी खटिएका थिए ।

साग खेलमा ७ देशका खेलाडी सहभागी रहेका थिए । २६ खेलमा ३२ सय जना खेलाडीले भाग लिएका थिए । उक्त खेलमा मित्र राष्ट्रबाट खेलाडी र पदाधिकारीसहित कुल २६ सय २१ ज्ना उपस्थित रहेका थिए । काठमाडौँ, जनकपुर र पोखरामा आयोजना भएको खेलमा कुनैपनि किसिमको सुरक्षा चुनौतीपुर्ण क्रियाकलापहरु नभई सफलतापुर्वक सम्पन्न भयो ।

गृहमन्त्रीबाट सर्वोत्कृष्ट पुरस्कार


प्रहरी प्रमुख खनालको कार्यसम्पादन तथा मुल्यांकन गर्ने तालकुदार मन्त्रालय हो गृह मन्त्रालय । गृह मन्त्रालय अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा २०७४/०७५ सम्मको बेरुजुलाई ८८.५० प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको भन्दै खनाल गृहमन्त्री राम बहादुर थापा बादलबाट पुरस्कृत भए ।

गत बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कारसहित प्रंशासापत्र प्रदान गरे ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको आ.व. २०७४/०७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फर्छ्‍यौट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकारको निर्णय अनुसार बेरुजु फर्छ्‍यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।

वर्तमान प्रहरी प्रमुखको कार्यकालबारे के भन्छन् पूर्व आइजिपी कुवेरसिंह राना ?

नेपाल प्रहरीको २६ औँ प्रहरी प्रमुख छन्–सर्वेन्द्र खनाल । खनालको कार्यकालबाट लिएर पूर्व प्रहरी प्रमुख कुवेर सिंह राना सन्तुष्ट छन् । ‘यो मेरो स्वतन्त्र विश्लेषण होइन । तर समग्रमा कार्यकाल निकै राम्रो भयो भन्छु । उनीहरु व्यावसायीक अफिसर हुन् ।

मेरो मातहतमा पनि काम गरेको हुनाले मैले गर्ने मुल्यांकन राम्रो छ,’ उनले भने,‘वातावरण कस्तो बन्यो भन्ने कुराले प्रहरी नेतृत्वको कार्यकाल निर्भर गर्दछ । म मुल्यांकन गर्ने व्यक्ति होइन तर व्यक्तिगत बुझाइमा निकै राम्रा काम भएका छन् ।’