काठमाडौं, । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा स्थायी समिति सदस्य देव गुरुङले पेश गरेको विधान पारित भएको छ ।
शनिबार कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि उनले जवाफ दिनुभएपछि पार्टी विधान पारित भएको हो ।
बन्दसत्रमा उठेका सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान पारित गर्न नेता गुरुङले आग्रह गर्नुभएपछि महाधिवेशनबाट पार्टीको विधान मस्यौदा सर्वसम्मतिले पारित गरेको हो ।
विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछन् । १५ प्रतिशत भने मनोनित हुने व्यवस्था गरिएको छ । केन्द्रीय समिति २९९ सदस्यीय बन्नेछ ।