वीर अस्पताल प्रमुखमा नियुक्त डा. लोहोनीलाई अस्पताल प्रवेशमा रोक लगाउने कर्मचारीको चेतावनी !

दियो पोस्ट  

काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनीलाई पठाएको छ । सरकारले १२ औं तहका डा लोहनीलाई प्रमुखको जिम्मेवारी दिएको हो । तर, वीर अस्पतालका कर्मचारीले भने लोहोनीको नियुक्तीको विरोध गरेका छन् ।

मंगलबार नियुक्त भएका लोहनीको नियुक्ती प्रतिष्ठान ऐन विपरित भएको र स्वास्थ्यमन्त्री विरोध खतिवडाको हस्तक्षेप भएको उनीहरुको आरोप छ ।

उनीमाथि विगतमा मन्त्रालयमा रहँदा वीर अस्पताल विरोधी गतिविधि गरेको आरोप छ ।

स्वस्थ्यमन्त्री खतिवडाले गत पुस २५ गते निर्णय गर्दै लोहोनीलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारी नियुक्ती गरिएको हो । विगतमा स्वास्थ्य विमा बोर्ड, स्वास्थ्य सेवा विभाग, कोशी अस्पताल लगायतमा असफल नेतृत्वको आरोप लागेका लोहोनीले वीरलाई पनि रसातलमा पुर्याउने आरोप कर्मचारीको छ ।
उनी स्वास्थ्य मन्त्रालयमा रहँदा न्याम्स र वीर अस्पतालप्रति अनुदार रहेको उनीहरुको आरोप छ ।

न्याम्सलाई स्वायत्तता नदिने र सुधार गर्नेहरुमाथि पनि अवरोध गरेको उनीमाथि आरोप छ । तत्कालिन व्यवस्थापनले सर्जिकल भवन निर्माणका लागि बजेट माग गर्दा बजेट नदिएर भुत बंगाला बनाएको उनीमाथि आरोप छ ।

उनले नै दुवाकोट परियोजना अगाडि बढ्न नदिएको एक कर्मचारीले बताए । वीर अस्पतालको तलब भत्ता कटौती गर्ने, समायोजन भएका कर्मचारीसँग आर्थिक कारोबार गरेर रमाना नदिने जस्ता अस्पताल बिरोधी गतिविधि गरेको उनीमाथि आरोप छ । कर्मचारी बृत्तले प्रमुख नियुक्त भएका लोहनीलाई कार्यालय प्रवेशमा रोक लगाउने तयारी समेत गरेका छन् ।