प्रहरीले लिएन गंगाजमुना गाउँपालिका अध्यक्ष विरुद्ध छुवाछूत मुद्दाको जाहेरी, एसपीकै मिलेमतो !

diyopost.com
दियो पोस्ट  शनिबार, माघ ०१, २०७८ | १:५५:३१

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले जातिय छुवाछूत र विभेदको एक घटनाका पीडितले दिएको जाहेरी दर्ता गर्न अस्विकार गरेको छ ।

गंगाजमुना गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारी समलग्न जातिय विभेद तथा छूवाछुतको घटनामा प्रहरीले जाहेरी लिन अस्विकार गरेको हो ।

गाउँपालिकामा सञ्चालित क्यान्टिनमा काम गर्ने कुक सुवास विकले आफूलाई दलित भएकै कारण जागिरबाट निकालिएको विषयमा दियोपोस्ट डटकम लगायत सञ्चार माध्यमलाई खबर दिएका थिए । उक्त खबर दियोपोस्टले प्रकाशन गरेपछि सरोकारवाला निकायले पीडितलाई लिएर जाहेरी दर्ता गर्न पुगेका थिए । तर, प्रहरीले पीडितको जाहेरी पुग्ने वित्तिकै पीडक अध्यक्ष बलबहादुर अधिकारीलाई खबर गरेको र पीडितलाई पीडक पक्षले अनावश्यक धम्की र प्रलोभनमा पार्ने कोशिस गरेको खुलेको हो ।

पीडित सुवास विकले अध्यक्ष अधिकारी, क्यान्टिन सञ्चालक दिपेन्द्र अधिकारी, कुमार अधिकारी र शिवकुमार अधिकारी विरुद्ध जाहेरी दिएका थिए ।

अध्यक्ष बलबहादुर अधिकारीसहितको समुहले क्यान्टिन सञ्चालक दिपेन्द्र अधिकारीलाई ‘तिमीले कामीको छोरा दलित मान्छेलाई किन कुक राखेको अब तिम्रो होटलमा कोही पनि खान आउँदैन भनी’ बारम्बार मलाई कामबाट निकाल्नुपर्छ भन्ने दबाव दिएपछि विपक्षी दिपेन्द्र अधिकारीले आफूलाई कामबाट निकालेको पीडितको जाहेरीमा उल्लेख छ ।

घटना थाहा पाएपछि पुगेका पत्रकारहरुलाई समेत गाउँपालिका अध्यक्ष सहितको समुहले लखेटेको पीडितद्वारा लिखित जाहेरीमा उल्लेख छ ।

धादिङ प्रहरी प्रमुखमा केही समयअघि राकेश सिंह नियुक्त भएर आएका छन् । उनकै निर्देशनमा पीडितले दिएको जाहेरी दर्ता नभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सिंहले गाउँपालिका अध्यक्ष लगायत ठूलाबडाको नाम हटाउनुपर्ने सर्त राखेका छन् ।

 

सम्बन्धित खबर