…. त्यो रात जब मैले होटलको कोठामा मिल्ने साथीको निधारमा सिसाले प्रहार गरेँ !

diyopost.com
दियो पोस्ट  शनिबार, माघ ०१, २०७८ | १९:३१:५०

फूलमती

“परिक्षा भन्ने शब्द सुन्ने बित्तिकै डर लाग्थ्यो तर जिन्दगीमा आएका हजारौं परिक्षाको सामना गर्दागर्दै अभ्यस्त बन्न पुगेछु । एक्लो अभिभावक बन्नु सबैभन्दा ठूलो परिक्षा थियो मेरो लागि ।”

 

३७ वर्षअघि सल्यानमा जन्मिएँ । सानै छँदा बुवा बित्नु भयो । मलाई बुवा कस्तो हुनुहुन्थ्यो भन्ने याद छैन । बुवा बितेको केहि समयपछि आमाले दोस्रो विवाह गर्नुभएको रहेछ । म त्यतिबेला शायद ३÷४ वर्षको थिएँ । पुरुष बिना महिला एक्लै बाँच्न सक्दिन भन्ने हाम्रो समाजको मान्यता छ । त्यसैले पनि होला कलिलो उमेरमा नै लोग्ने गुमाएकी मेरी आमाले अर्को विवाह गर्नुभएको थियो । विदुवा महिला जिन्दगीभर एक्लै बस्नुपर्छ, दोस्रो विवाह गर्नु हुँदैन भन्ने मान्यतालाई त आमाले तोड्नुभयो तर लोग्ने बिना बाँच्न सकिदैन भन्ने भ्रमलाई तोड्न सक्नु भएन । त्यसैले दिनहुँ रक्सीले मातेर आएर जथाभावी गाली गलौच गर्ने, कुट्ने जस्ता क्रियाकलापहरुबाट थिलथिलो भएकी मेरी आमा पनि संसारबाट विदा हुनु भयो । आमा र बुवा गुमाएकी मेरा लागि आफ्नो भन्ने दाइ मात्रै थिए । दाइ पनि भाउजुको आगमनसंगै टाढा भए । शायद म सानो हुँदा हुर्किएको वातावरणको प्रभाव र पुरुषले महिलालाई कसरी दुख दिन्छन् भन्ने प्रत्यक्ष आँखाले देखेकी हुनाले होला ममा विवाह र प्रेम प्रति कहिल्यै रुची जागेन ।

काँचो माटोलाई जस्तो आकार दिन्छौं त्यस्तै बन्छ । मेरो काँचो र कलिलो बालमस्तिष्कमा पनि मेरो हुर्काइको वातावरणले धेरै प्रभाव पारेको थियो । बिहे गरेर पुरुषको सहारा लिएर बाँच्नु हुँदैन भन्ने लाग्थ्यो त्यसैले पनि धेरै दुख र अभावका खुड्किलाहरु पार गर्दै पढेकी थिएँ । पढेपछि अरुको सहारामा बाँच्नु पर्दैन भन्ने थाहा थियो । पढाईको महत्व बुझेकी हुनाले नै निकै मेहनतसाथ स्नातक तह उत्तिर्ण गरेँ ।

सधैं परिस्थिति एउटै कहाँ हुन्छ र ? सोचे जस्तो यथार्थमा हुँदैन । पुरुषको बन्धन नचाहने म अन्ततः प्रेमको साङ्लोमा बाँधिन पुगेछु । लामो समय लाग्यो मलाई प्रेम गरेकी छु भनेर स्विकार्न । सम्बन्ध राम्रो थियो हाम्रो । मैले देखेको मेरो आमाको दोस्रो लोग्ने र मेरो प्रेमी बीच निकै फरक थियो । मलाई लाग्यो, मेरा विचारहरुसँग उसको पनि विचारहरु मिल्दो रहेछन् । उ सधैं भन्थ्यो, “ पितृसत्ताले जरा गाडेको समाजमा महिलालाई स्वतन्त्र भएर बाँच्न निकै गाह्रो छ तर तिमी निकै साहसी रहेछौ सरला एक्लै सघंर्षको मैदानमा खडा भएकी छौ । त्यसैले त म तिमीलाई प्रेम गर्छु ।“

हामी एकअर्काको विचारहरु मिल्छन् र संगै सहयात्रा गर्न सक्छौं भनेर मैले उनको विवाहको प्रस्ताव स्विकार्दै संगै बस्न थाल्यौँ । केहि समय निकै सुखद तरिकाले पारिवारिक जीवन बित्यो तर बिस्तारै मैले सोचेको भन्दा फरक निस्किए मेरो सहयात्री । जतिसुकै बुझ्ने भएपनि आखिर पुरुषले विभिन्न बहानामा औंला ठ्ड्याने रहेछ । वैवाहिक जीवनको लगभग ६÷७ महिना्पछि उनी मेरो कपाल, मेरो लुगाफाटो , मेरो हिँडाइ, मेरो साथीसर्कल माथि प्रश्न गर्न लागे । लगभग हाम्रो दैनिकी बन्न पुग्यो झगडा या त भनौं बहस । उसले मेरो स–साना कुराहरूमा टिप्पणी गर्ने थाले । ‘तिमी त स्वास्नी हौ म लोग्ने मान्छे’ भनेर स्पष्टीकरण दिने यस्ता फगत कुराहरूमा समय बित्न थाल्यो । एकातर्फ प्रेम गरेको मान्छे अर्को तर्फ पेटमा हुर्किरहेको बच्चा मेरो लागि तनावग्रस्त विषय बन्न पुग्यो । मलाई आफ्नो स्वतन्त्रता गुमाएको जस्तो भान भएको थियो । मैले उनको अनुहारमा मेरो दोस्रो बुवाको अनुहार देखिरहेकी थिएँ ।

आफ्नो जिन्दगीको मालिक स्वयं आँफू नै हो । त्यसैले निर्णय मलाई नै गर्नुपर्ने थियो । धेरै सोचेर – सम्झेर मैले निर्णय लिएँ – डिभोर्स । गर्भमा हुर्कदै गरेको बच्चाको बारेमा उनी अनभिज्ञ थिए । मैले जानकारी दिन आवश्यक पनि ठानिनँ । धेरैले एक्लै कसरी जिउने ? समाजले हेर्ने दृष्टिकोण के हुन्छ ? अब कसले बिहे गर्छ तिमीसंग ? कसरी काट्छौ यति लामो जिन्दगी ? आदि इत्यादी धेरै प्रश्नहरु गर्दै डिभोर्सको निर्णय फिर्ता लिने आग्रह गर्दै थिए । म संग के गर्ने, कहाँ जाने, कसरी जीवनयापन गर्ने भन्ने प्रश्नका उत्तरहरु त थिएनन् तर यति थाहा थियोे, म शोषण सहेर बस्न सक्दिनँ । त्यसैले हाम्रो सम्बन्धलाई ‘ब्रेक’ गरिदिएँ ।

संघर्ष बिना केहि प्राप्त हुँदैन रहेछ । आफ्नो अधिकार, आफ्नो अस्तित्वको लागि लामो लडाइँ लड्नुपर्छ । हजारौं पटक समाजले लिने र जिन्दगीमा आउने परिक्षाहरुको लागि तयार हुनुपर्छ । हुर्किदै गरेको बच्चाबारे कसैलाई थाहा नदिएको कारण ममाथि धेरै प्रश्नहरु तेर्सिए । बिस्तारै पेट ठूलो हुँदै गएपछि सबैले थाहा पाए र प्रश्न गर्न थाले । मलाई प्रश्न गर्नेहरूको उत्तर दिइरहनुपर्छ भन्ने आवश्यक लाग्दैन्थ्यो त्यसैले पनि सकेसम्म म टाढा रहन्थेँ । समाज संग लड्न त्यतिबेला निकै असहज हुन्छ जब आफ्नो पक्षमा आफ्नै परिवार हुँदैन । कस्तो अलछिन्या छोरी जन्माएछिन् आमाले, हाम्रो इज्जत नै सकेर माइतमै बस्न लाज नलाग्ने, हाम्रो कुलको नाकै काटी ? जस्ता प्रश्नहरु सधैं जसो दाइभाउजु सुनाउनुहुन्थ्यो । खै आमाबुबा भएको भए कस्ता प्रश्नहरु पो गर्थे । समाजले पनि गतिछाडा , बेश्या, दुनियाँ केटासंग बोल्न हिड्न नपाएर पोइ छाडेकी, कसको हो कसको बच्चा बोकेर हिडिछे, यस्ता धेरै कुराहरू सुनाउथे । लाग्थ्यो, यस्तो जिन्दगी जिउनुको अर्थ के छ र ? फेरि आफैंले समझाउथँे आत्महत्या समाधानको बाटो होईन ।
जब घरपरिवार र समाजको नजरमा गलत देखिन थालिन्छ त्यतिबेला केही गलत नियत भएका पुरुषहरु भोको बाघ जस्तै झमटिन आइ पुग्छन् । मलाई भन्दा धेरै चिन्ता मेरा वरपरिका पुरुषहरुलाई थियो, म एक्लो जीवन कसरी जीउने भन्ने विषयमा । एकजना संगै अध्ययन गरेका मिल्ने साथी थिए । कार्यक्रमको सन्दर्भमा पोखरा गएको बेला लामो समय पछि हाम्रो भेटघाट भएको थियो । उनी मेरो विवाह र डिर्भोसको विषयमा अनभिज्ञ थिए । तर जब उनले मेरो बारेमा सबैकुरा थाहा पाए उनको दृष्टिकोण नै बदलियो । उनको बोल्ने शैली, उनको स्पर्षले केही गलत गर्ने दुसहास गर्दैछन् भन्ने मलाई भान भैरहेको थियो । आफ्नो मिल्ने साथी कतै म नै गलत हो कि भनेर भन्ने आँट पनि आएन । तर साँझको समयसंगै खाना खाने भनेर जब उनले होटलको एउटा रुममा लगेर नराम्रो व्यवहार गर्न खोजे त्यतिबेला मैले जे सोचेकी थिएँ त्यो ठीक थियो जस्तो लाग्यो । एकातर्फ सहयात्रीले दिएको पीडा अर्कोतर्फ मिल्ने साथीको व्यवहारले मलाई पोलिरहयो र त्यही रिसमा मैले रुममा नै रहेको सिसाले उनलाई प्रहार गरेकी थिएँ । उनको निधारमा चोट लागेको थियो र त्यो चोटको दाग अझै पनि छ । उनले भनेका शब्दहरु ताजै छन् मानसपटलमा । उनले भनेका थिए,“ तिम्रो घरबार त बिग्रियो, आइमाइ मान्छे अब अर्कोले बिहे गर्दैन । तिमी मेरो आवश्यकता पुरा गरिदेउ, म तिम्रो खर्च पानीको व्यवस्था जिन्दगी भर गर्नेछु ।” मलाई उनको घिन लाग्दो कुरा सुनेर आज पनि रगत उम्लेर आँउछ ।
दुखै दुखका दिनहरु चलिरहेको थियो । ९ महिनाको प्रतीक्षा पछि छोरीको आगमनसंगै जिन्दगीमा केहि सुख र खुशीको अनुभतिको आभाष भयो । छोरीको अनुहार हेरेर जिन्दगीमा नयाँ उर्जा थपिएको महशुस भएको थियो । म हुर्केको समाज र मेरो परिवारको त्यो वातावरणमा छोरीलाई हुर्काउन ठिक थिएन । त्यसैले गाउँको एकजना दिदिको सहाराले सल्यान देखि काठमाडौं आइपुगेँ । छोरीको जीवन मेरो जस्तो अभावमा नबितोस र उसले मैले जस्ता कठिन परिक्षाहरु दिन नपरोस् भन्ने सोचाइले उनलाई राम्रो वातावरणमा हुर्काउने प्रयास गरेँ । काठमाडौमा सधैं भरि गाउँको दिदिको बोझ बनेर बस्न सकिन अनि छुट्टै डेरा लिएर बसेँ । कामहरू जे जे भेटिन्छन् गर्थे । घरबेटीका लुगा धोइदिने, भाँडा माझ्ने , डान्सबारमा वेटरको भएर काम गरेँ । काम सानोठूलो भन्ने कहिल्यै लागेन । कामसंगै आफ्नो बाह्य अध्ययनलाई पनि उत्तिकै महत्व दिन्थँे ।
समयसंगै बिस्तारै जीवनशैली फेरिदै गयो । छोरी ठूलो भइसकेकी छिन्, बुझ्ने छिन् । पहिला जस्तो काम गर्दै, खोज्दै हिड्नुपर्ने अवस्था छैन त्यसैले छोरीसंग धेरै समय बिताउने गर्छु । पुस्तक लेख्ने, लेख लेख्ने अध्यापन गराउने विभिन्न कार्यक्रमहरुमा इनभल्व हुने गरेर जीवन अगाडि बढाइरहेकी छु । अहिले त खुशी लाग्छ म एक्लो अभिभावक भएकोमा । कहिलेकाही छोरीसंग प्रश्नहरु गर्छु, “छोरी के तिमी खुशी छौ म बाट ? के तिमीले सोचे जस्तो जीवन दिनसकेकी छु ? ।” उनी खुशी साथ भन्छिन् ,“ म तपाईंको जस्तो जीवन जिउन चाहन्छु कसैको बन्धन बिना एक्लै र स्वतन्त्र । कहिल्यै मलाई बुवा नभएकोमा दुख लागेको छैन । तपाई मेरो प्रेरणाको स्रोत हो । अन्यायको विरुद्ध लडेर मलाई पनि लड्न सिकाउनु भएको छ ।” छोरी धेरै बुझ्ने भएकी छिन् यो समाजमा महिलाको स्थान, महिलाको अस्तित्व महिलाको दुखहरु, सघर्षबारे उनले राम्रोसँग बुझेकी छिन् । मैले जस्तै उनले पनि धेरै प्रश्नहरुको सामना गर्नुपर्छ । तिम्रो बुवा कहाँ हुनुहुन्छ ? किन मामुले छाडेको ? माइतबाट उनको मामाहरुले बोलाउदा र विभिन्न प्रश्नहरु गर्दा पनि उनी निकै बलियो र गर्वका साथ जवाफ दिने गर्छिन् ।

मलाई एक्लो अभिभावक बन्न सकेकोमा निकै खुशी लाग्छ । मलाई लाग्छ विवाह संस्थासंग कोहि महिलाहरू पनि खुशी छैनन् । समाजमा धेरै बुझने र भाषणमा महिला स्वतन्त्रताका ठूला–ठूला गफ दिनेहरु धेरै पुरुषहरु छन् तर उनीहरुकै घरमा महिलाहरु स्वतन्त्र भएर हिँड्न पाउने अवस्था छैन ।

विवाहको बन्धनमा बाँधिनु महिलाहरुको बाध्यता हो । समाजले महिला माथि लादेको एउटा जञ्जिर हो विवाह । जबसम्म महिला स्वतन्त्र भएर आफ्नो जीवनको निर्णय आफैं लिन पाउदैनन् तबसम्म हजारौं पटक महिलाहरुले अनावश्यक परिक्षाको लागि तयार हुनुपर्ने हुन्छ । पटकपटक यौन दुव्र्यवहारको शिकार हुनुपर्ने, समाजबाट पीडित महिलाहरु नै कलंकित हुनुपर्ने यस्तो समाजलाई भत्काउनु आवश्यक छ । जुन समाज महिलामैत्री नै छैन त्यो समाजको के काम जस्तो लाग्छ ।

“म माथि यौन दुव्र्यवहार भयो” स्तम्भका लागि सरला गिरी (नाम परिवर्तन)संग फूलमतीको कुराकानीमा आधारित ।

सम्बन्धित खबर