याेगेश्वर राेमखामी
“यो त मात्र एउटा ट्रेलर हो, फिल्म बाँकी छ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा भन्दै थिए ।
मन्त्रीकै सक्रियतामा राजनीतिक संरक्षणमा एउटा घोटालाको पर्दाफास भएको छ । याे घाेटालामा जोडिएका अनुहारहरु उजागर भएका छन् । कारवाहीको यो ट्रेलर क्लाईमेक्समा पुग्दै यी देशद्रोही भ्रष्टाचारीहरुलाई कानून बमोजीम कडा भन्दा कडा कारवाही गरिएको पुरा फिल्म हेर्न पाईन्छ कि पाईन्न, हेर्न बाकी छ ।
न्याय हराएको र दण्डहीनताको पराकाष्टामा पुगेको देशमा अझै ढुक्क भईहाल्ने अवस्था छैन । यसको अर्को पाटोलाई विश्लेषण गर्ने हो भने राजनीतिक संरक्षणमा आम नागरिकमाथि गरिने शोषण, भ्रष्टाचार र देश दलालहरुको पन्जामा फसेको एउटा उदाहरण वा ट्रेलर मात्रै हो यो दृश्य । देशभरी भई रहेको पुरा फिल्म अगाडी आउने हो भने मानवियता लगाउनेछ । यी केहि भ्रष्टहरुको कारण पुरै नेपाली जाति संसारभरि लज्जित हुनुपर्ने अवस्था छ । पुरा फिल्म अगाडी ल्याउनको लागी प्रत्येक मन्त्रालय र विभागहरुमा यसैगरी काम कारवाही गरिनु पर्दछ । देश कोरोनाले आक्रांत पारेको बेला, लकडाउन लागेको बेला, विदेशमा समेत महामारीले गर्दा बेरोजगारभई अलपत्र पारेको हाम्रा दाजुभाई – दिदीबहिनीहरुलाई सुरक्षित सही हालातमा स्वदेश फर्काउने जिम्मा देशको सरकारको थियो । कसैले आफ्ना बाउ – आमा, कसैले दाजूभाई र दिदीबहिनी गुमाएको अवस्था थियो । अधिकांश जनता दुखी र बेहाल थिए । बेरोजगार, बिरामी चारैतिर बढेको अवस्था थियो । त्यस्ताेबेला समेत असहाय नेपालीलाई स्वदेश फर्काउँदा तीगुणासम्म जहाज भाडा असुलेर तत्कालिन मन्त्रीहरुले लुट धन्दा नै मच्चाए । सेवाकाे दायित्वलाई एउटा पैसा कमाउने अवसरको रुपमा भजाउनकालागि सरकारमा बसेका मन्त्री र उसका मतियारहरु दलालहरुसंग साँठगाठ गर्दै थिए ।
यिनीहरुले ती दु:खी र भयभीत भाई बहिनीहरुलाई समेत निर्ममतापुर्वक हलाल गर्नमा किचित मात्र पनि संकोच गरेनन् । खाडी मुलुकहरु जस्तो अत्यन्त कष्टप्रद र प्रतिकुल अवस्थामा अत्यन्त दुख गरि कमाएको पैसा पठाई हाम्रो जस्ता मुलुकको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याउने हाम्रै नेपाली नागरिकहरुप्रति अत्यन्त अातयतयी व्यावहार तत्कालिन राज्यले देखाएकाे हाे । तिनीहरुलाई चार चार गुणा बढी पैसा तिर्न लगाई यी राजनीतिक कसाईहरुले चार्टर विमानको व्यवस्था गरी पिडितहरुको मजबूरीको भरपूर शोषण गरेको कुरा वर्तमान मन्त्रीले खुलमखुला बताउनु भएकाे छ । सवैले थाहा पाए । तत्कालीन समयमा एमालेका युवा भनिने योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । योगेशको यस्तो घृणित अनुहारको अधिकांशले कल्पनापनि गरेका थिएनन होला । तत्कालीन प्रधानमन्त्रीको कार्यकालमा यस्ता अनेकौ आपत्तिजनक क्रियाकलापहरु नभएका होईन, माफिया हरुको नाङ्गो करतूत सुन्न र पढ्न पाईन्थ्यो । यो घटना त मात्र उदांगो भएको एउटा अंश हो। यस्ता त कति छन् कति । देशमा महत्वपूर्ण पदहरुमा अहिले अत्यन्त भ्रष्ट चरित्र भएका व्यक्तिहरु पुगेका छन् । तिनीहरु दलाल, तस्कर र माफियाहरुबाट घेरिएका छन् र तिनीहरुको सल्लाह बमोजिम निर्वाधरुपमा घोटालामाथि घोटाला निरन्तर चलिरहेकाे छ । यिनीहरुको व्यक्तिगत चरित्र र क्रियाकलापकै कारण गणतन्त्र बदनाम भएको हो । वास्तवमा कुनै गणतन्त्र अाफैमा बद्नाम व्यवस्था कहाँ हाे र ?
२०४६ सालपछि बहुदलीय व्यवस्थाको आगमनदेखि आज तीन दशकको अवधिसम्म दलालीतन्त्रको खुबै विकाश भयो । राजनीतिक संरक्षण र पहुँचको भरमा विभिन्न अवसर र ठेक्का पाउदै हिजाे हीरो साईकल चड्ने आज ल्याण्डक्रुजर, पजेरोमा देखिन्छन् । शर्टकट अपनाउदै र कुनैपनि नैतिक मुल्य मान्यतालाई वेवास्ता गरि विकास गरेको यी वर्गले हाम्रो समाजको मुल्य मान्यतामा जुनखालको अवमुल्यन र क्षति पुर्याएको छ त्यो अकल्पनीय र अतुलनीय छ । आजभन्दा तीन दशक पुर्वको हाम्रो सोझा सरल समाज र आजको अराजक अवस्थाको कुनै तुलना हुनसक्दैन । देशको स्थायी सरकार भनिने नोकरशाहीतन्त्रमा अवसरवादी र विभिन्न राजनीतिक पार्टीका झोलेहरुको वर्चस्व छ। यिनीहरुको प्राथमिक काम देशको सेवा गर्नुभन्दा आफ्नो आकाहरुलाई खुशी पार्नु र तिनीहरुको अगाडी पछाडी देखिनु र आफ्नो फायदा लिनु बाहेक अरु केहि होईन । यो अवस्था सबै क्षेत्रहरुमा देखिन्छ । पैसा खर्च गर्ने हैसियत छ भने पद पाईन्छ । शक्तिकेन्द्रमा पुग्नको लागि कुनै दलाल चाहिन्छ । नेपालमा सवारी गाडीको कारोबार गर्ने बतास समूहको सीईओलाई नेपाल वायु सेवा निगमको महानिर्देशक बनाउनु र सेटिंग मिलाई आफ्नो कुरा मान्ने व्यक्तिलाई नेपाल पर्यटन बोर्डमा ल्याएर उप्रान्त देश लकडाउनमा रहेको अवसर पारी बतास समुहकै मिलोमतोमा दरबार भित्र गैरकानुनीरुपमा अवैध संरचना खडा गरेको घटना अहिले छताछुल्ल भएको छ ।
नेपाल वायु सेवा निगमलाई कम्पनी बनाउने षड्यन्त्र र यस निगमको न्यूरोड र सिनामंगल अवस्थित जग्गा समेत कौडीको भाउमा बेच्ने प्रयासहरु भएको रहेछ । निजी हिमालयन एयरलाईन्सलाई चाहीँ १७७ वटा चार्टर फ्लाईटको अनुमती दिएको तर त्यो भन्दाबढी क्षमताको राष्ट्रिय ध्वजावाहकलाई १४० वटा चार्टर फ्लाईटको फ्लाइटकाे अनुमति दिएको कुरा उजागर भएको छ । देशको आस्थाको धरोहरलाई यस्तो क्षति पुर्याउनेहरुलाई सुलीमा चढाउनु पर्नेहो कि होईन ।
प्रजातन्त्रलाई बदनाम गराउने यी पात्रहरुले २०४६ सालपछि घोटालाहरुको अनवरत सिलसिला कायम राख्यो । लाउडा, धमिजा, नदीनाला बेच्ने, देशको स्वाभिमानको वेवास्ता गर्ने, सांसद खरिद बिक्रिदेखि वर्तमानको ओम्नी, वतास आदि । मित्र राष्ट्रहरुले बनाई दिएको देशलाई आत्मनिर्भर बनाउने कारखानाहरुलाई ध्वस्त पार्ने काम पनि यी महान नेताहरुले संपन्न गराउनुमा कुनै कसर बाकी राखेनन् । धान खाने मुसो – चोट पाउने भ्यागुतो भने झैँ यिनीहरुको अराजक गतिविधिहरुको कारण आज प्रजातन्त्र र गणतन्त्रलाई जनताले सत्तोसराप गर्दै छन् ।
यी तीन दशकमा जनताले बेहिसाब दुख पाए । तर यी राजनीतिक कसाईहरु भने रगत चुसेको किर्ना जस्तै खुब मोटाए । आफ्नालाई अमेरिका योरोप पठाए, आफैपनि ताहाँका भिसा हासिल गरेका छन् । देशमा गृहयुद्ध शुरु गराएर सक्दो हातहतियारको व्यापारबाट मुनाफा आर्जन गर्ने र अन्त्यमा असरफ गानी जस्तै भाग्ने जमात हुन् यिनीहरु । यिनीहरु अहिलेपनि दलालहरुको परिधिबाट बाहिर आउन सकेका छैनन, निकम्मा र अवसरवादीहरुलाई महत्वपूर्ण प्रतिष्ठान र विभागहरु जिम्मा लगाउन छाडेका छैनन I वास्तवमा यिनीहरु दुश्चक्रमा पसी सकेका छन, जसबाट निस्किन गाह्रो छ ।
यस्तो बेलामा पनि केही असल व्यक्तिहरु देखिएका छन र व्यवस्थाप्रति अलिकतिभएपनि भरोसा जोगाउनमा मद्दत्त पुर्याएका छन् । कुलमान घिसिंग नआएकोभए हामी अद्यापि कृतिम अँध्यारो भोगीरहेका हुन्थ्यौ त्यस्तै वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले एउटा ठुलो घोटालाको पर्दाफास गर्दै कडा कारवाही गर्ने र यस्तो देश द्रोही क्रियाकलापको खिलाफ सशक्त रुपमा प्रस्तुत हुने जमर्को गरेका छन । जनताले आश मारी सकेको र यी दलालीतन्त्रको अगाडी असहाय हुनुपरेको अवस्थामा यी नायकहरुले यस प्राचीनतम् देश नेपाललाई बचाउने प्रयास गरेका छन, उनीहरुको यस प्रयासमा सवैको साथ हुनुपर्छ ।
आज देश सामु सबैभन्दा ठूलो र चुनौतीपूर्ण समस्या भनेको सुशासनको अभाव,अन्याय, बेरोजगारी, गरीबी, मानवाधिकारको विषय आदि कुराहरु हुन् तर कुनैपनि राजनीतिक पार्टीको व्यवहारिक कार्यनीतिमा यसको निराकरणकोलागि प्राथमिकतामा राखेर चालिएको प्रयास देखिएन । बरु यिनीहरु आ आफ्नो दलगत वर्चस्व, हालीमुहाली र अन्य विषयमा केन्द्रित भएको मात्र देखिन्छ । नेपाल गणतन्त्र कि राजतन्त्र, हिन्दु राष्ट्र कि धर्म निरपेक्ष, कांग्रेस वा कम्युनिष्ट यी सेरोफेरोमा साेझा जनतालाई नचाउनुसम्म नचाई रहेका छन् । यिनीहरुलाई यस देशको विकाशकोलागी आवश्यक शिक्षा, सुशासन, न्यायिक व्यवस्था, रोजगार र तमाम सामाजिक चुनौतीहरुवारे केहि सरोकार छैन । आम नेपाली नागरिकहरु जानकार र जागरुक नहुनु र बारंबार मुर्ख बन्नु बाहेक केही हुन् सकेको छैन । सबैले बुझ्न जरुरी छ कि कानून वा संविधान एउटा कागजको खोस्टा बाहेक केहि होईन यदि यसको संरक्षणकर्तानै यसको चिरहरण गर्ने पात्र भए भने ।
सन् २०२०, आशट्रेलियामा जंगलमा आगलागी भई शुरु भएको दुर्घटनामा करीब करीब दक्षिण कोरिया जत्रो भूभागमा हजार्रौ घर खरानी भएको थियो, मानिस मरेका थिए र जंगल, जंगली जनावर पशु पक्षी गरी अर्बोको नोक्सानी आसट्रेलियाले व्योहोर्नु परेको थियो । लगभग दुई महिना सम्मको भएकाे आगलागीले पुर्याएको क्षति अपूरणीय थियो र देश शोकमग्न भएको अवस्थामा तमाम आलोचनाको बावजुद पनि तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई भिजिट नेपाल २०२० को कार्यक्रममा हिस्सा लिनकालागि सिड्नी पुगेका थिए ।
त्यो बेला यस्तो कार्यक्रम गर्ने वा यसमा भागलिने बेला थिएन, तर विरोध वा आलोचनाको कुनैपनि असर परेन यिनिलाई । त्यसबेला सामाजीक संजालहरुमा यसवारे व्यापक आलोचना भएका थिए । अरु कुनै सभ्य मुलुकको मन्त्रीले यस्तो बेला यसप्रकारको क्रियाकलाप गर्ने थिएनन होला, यो कुनै साधारण कुरो थिएन, तर हाम्रो समाजमा छिटै भुल्ने र वेवास्ता गर्ने रिवाज रहदै आएको छ ।
अन्त्यमा, गणतन्त्र वा व्यवस्थालाई गाली गर्नु भन्दा यस्ता अपराधिक र भ्रष्ट क्रियाकलापको विरोधमा यी अपराधीहरुलाई जेलमा नहालेसम्म आन्दोलन गर्ने परिपाटी बसाल्नु उपयुक्त हुन्छ कि । अन्यथा एउटा व्यापारीले देशको सम्पदामाथि डकैती गर्ने र कारवाहीको प्रक्रिया शुरु हुँदा मन्त्रीको जागीर खाई दिनेसम्मको दुस्साहस गरेको फेरी देखिने छ । पैसाले सबै कुरा किन्न सकिन्छ भन्ने मान्यताको विकास भएको उदाहरण हो यो । शायद पैसाले न्याय पनि किन्न सकिन्छ भन्ने सोंच होला ।