‘दुबई एक्सपो’को नाममा ‘मानव तस्करी’ : विचल्ली भएपछि फर्किए नेपाली, को हुन् दलाल ?

diyopost.com
दियो पोस्ट  शुक्रबार, माघ ०७, २०७८ | १:२४:३०

इन्सेटमा मानव तस्करीमा समलग्न बेनी कार्की

काठमाडौं । नेपालबाट भिजिट भिषाको नाममा दुबईमा मानव तस्करी गर्ने गिरोहको पर्दा खुल्ने क्रम जारी छ । पछिल्लो समय यस्ता तस्करहरुबारे दियोपोस्ट डटकमले विस्तृत रिपोर्ट प्रकाशन गर्न थालेपछि अन्य तस्करहरुको धन्दा समेत खुल्न थालेको छ ।

दियोपोस्टलाई प्राप्त पछिल्लो सुचना अनुसार राजधानी काठमाडौंमा कार्यालय रहेको एक म्यानपावर कम्पनिले भिजिट भिषाको नाममा अवैध रुपमा दुबईमा मानव तस्करी गर्दै आएको पाइएको छ ।

प्रति व्यक्ति ६ लाख रुपैयाँ भन्दा बढी असुलीगरि नेपाली युवाहरुलाई काठमाडौंमा कार्यालय रहेको डिडि ह्युम्यान रिसोर्स प्रा.लीले दुबईमा पुर्याएर विचल्ली बनाएको खुलेको हो । विचल्ली भएका युवा मध्ये केही युवा काम नपाएपछि नेपालमा फर्किई सकेको समेत खुलेको छ ।

नेपाली युवालाई विचल्ली बनाउने प्रमुख पात्र भने डिडि ह्युम्यान रिसोर्स प्रा.लीका अध्यक्ष बेनी कार्की हुन् । कार्कीले नै युवाहरुलाई भिजिट भिषामा दुबई पुर्याउन डिल गर्ने र रकम असुली गर्ने काम गरेका थिए । दियोपोस्टलाई उनले नै ह्वाट्स एप मार्फत रकम संकलन गरेको प्रमाण नै फेला परेको छ । उनले ती युवाहरुलाई दुबई एक्सपोको नाममा लिएर गएको र उनीहरुलाई सेक्युरिटी गार्डमा काम लगाइदिने प्रलोभन दिएका थिए ।

कार्कीले आफ्नो एकाउन्ट तथा रेमिटबाट पटक पटक आफ्नै नाममा पैसा असुल गरेको प्रमाण दियोपोस्टले फेला पारेको छ । आफूलाई नेकपा एमाले नेता महेश बस्नेतको कार्यकर्ता बताउने उनले बस्नेतकै आडमा यस्तो मानव तस्करीको धन्दा चलाउँदै आएको आरोप छ ।

विमानस्थलमा अध्यागमनको सेटिङका लागि आवश्यक पर्ने पहिरन समेत कार्कीले नै तय गर्ने गरेको दुबईस्थित विचल्लीमा परेका एक नेपालीले भने । उनले विमानस्थलमा पुगेपछि पिसिआर समेत आफूले नै भनेको व्यक्ति मार्फत अर्थात गराउने गरेको भेटिएको छ ।

नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोग लागेको बसुन्धारास्थित स्थित कान्तिपुर डेन्टल कलेज एण्ड रिसर्च सेन्टरमा पिसिसआर रिपोर्ट बनाइने गरेको समेत पाइएको छ । उक्त अस्पतालमा समेत कार्कीकै सेटिङमा नक्कली पिसिआर रिपोर्ट तयार गर्ने गरेको खुलेको हो । सोही पिसिआर रिपोर्टको आधारमा विमानस्थल अध्यागमन विभागले सहजै प्रवेश दिएको पाइएको छ ।

यस विषयमा प्रतिक्रिया लिन डिडि ह्युम्यान रिसोर्स प्रा.लीका मालिक बेनी कार्कीको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले भिजिट भिषामा कसैलाई पनि दुबई नपुर्याएको झूटो दाबी गरे ।

सम्बन्धित खबर