कुसंस्कार विरुद्ध प्रहरी जवान छोरीको ‘क्रान्ति’ : बाबु देहान्तपछि १३ दिने काज किरियामा सीताको दैनिकी !

diyopost.com
दियो पोस्ट  मंगलबार, माघ ११, २०७८ | २१:३२:५५

धादिङ ११ माघ । हिन्दु धर्मालम्बीहरुको मृत्यु संस्कार अनुसार बाबु वा आमाको मृत्युपछि छोराले नै काज किरिया गर्नुपर्ने परम्परा छ । तर, यो परम्परा विस्तारै तोडिँदैछ । समाज रुपान्तरणका लागि हिजोआज छोरीहरुले नै बाबु आमाको काज किरिया गरेर हिन्दु धर्मको कुसंस्कारमाथि प्रहार गर्न थालेका छन् । धादिङको ज्वालामूखी गाउँपालिका ७ की सीता पाठक त्यस्तै एउटा विद्रोह गरेकी छिन् ।

 

५ दिदी बहिनीमा कान्छी छोरीको रुपमा जन्म लिएकी पाठकले आफ्नो बाबुको स्वर्गारोहणपश्चात दागबत्ती समेत दिएर अहिले हिन्दु परम्परा अनुसारको १३ दिने काज किरियामा बसेकी छन् ।

बुबा तेज बहादुर पाठकको यही माघ ८ गते निधन भएपछि दाजभाइ नभए पनि छोरीले बाबु आमाको काज किरिया गर्न सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गर्न आफूले बाबुको काज किरिया गरेको पाठक बताउँछिन् । पेसाले नेपाल प्रहरीमा रहेकी पाठक आफू जस्तै अरु छोरीहरुलाई पनि उदाहरणीय बनेर छोरा र छोरी दुबै सन्तान बराबरी हुन् भन्ने मान्यताको विकास गर्न अनुरोध समेत गर्छिन् ।

हिन्दु धर्मसंस्कारमा छोराले पितृ उद्धार गर्नुपर्ने मान्यता र अझ बिबाहित छोरीको गोत्र परिवर्तन हुने भएकाले उनीहरुले गरेको काज किरियाले पितृ उद्धार नहुने भन्ने मान्यताले गर्दा छोरी मात्र सन्तान भएका बहूसंख्यक अभिभावकहरुमा अन्यौलता सिर्जना भएको अभिभावकहरु बताउँछन् ।

यस्तै समाज परिवर्तनका लागि धर्ममा भएका केही पुरातन सोच र संस्कारलाई समाज अनुकुल परिमार्जन गर्दै जानुपर्ने समेत त्यस्ता अभिभावकहरुको आवाज रहेको छ ।

सम्बन्धित खबर